+
+
Shares
टिप्पणी : :

‘कलर रेभोलुसन’ सम्झाउने जेनजी विद्रोह, जसमाथि राज्यले रक्तपात मच्चायो

‘कलर रेभोलुसन’ सम्झाउने जेन जीको यो विद्रोहमाथि राज्यले अमानवीय भएर जुन रक्तपात मच्चाएको छ, यसको सम्झना भने पछिसम्मै हुने छ । एउटा माफी वा केही क्षतिपूर्ति घोषणाको भरमा आगामी नेपाल सम्हाल्ने पुस्ताले राज्यलाई क्षमा दिन कठिन छ ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८२ भदौ २३ गते २३:१०

कलर रेभोलुसन अर्थात्, लोकतन्त्रको लागि शान्तिपूर्ण तवरले गरिने विद्रोह । आज सोमबार काठमाडौं र मुख्य शहरका सडकमा नयाँ पुस्ताले यस्तै झल्को दिने प्रदर्शन गर्‍यो ।

अक्सर कुनै पनि शान्तिपूर्ण विद्रोहको सुरुवात प्रहरीलाई फूल दिएर हुन सक्छ । दुई चार झडपहरू, निषेधाज्ञाको उल्लंघन अनि आपत्तिजनक लाग्ने चर्का नारा सडकमा स्वाभाविक हुन सक्छन् । कांग्रेस, एमाले र माओवादीले विगतमा कुनै पनि प्रदर्शन जगजीत सिंहका गजल र भक्तराज आचार्यका प्रभुनाम भजन गाएर थालेका पक्कै थिएनन् ।

फेसबुक, इन्स्टा, रेडिट, डिस्कर्ड चलाउने, पब्जी, फ्रिफायरतिर लगाव राख्ने भनिएको जेनेरेसन जेड अर्थात् सन् १९९७ देखि २०१० सम्म जन्मेको पुस्ता, जसलाई हामी जेनजी पनि भन्ने गर्छौं, उनीहरू यो प्रदर्शनको केन्द्रमा छन् ।

उनीहरूले नेपाली अंग्रेजी मिसाउँदै लगाएका नारामा पक्कै भावुकतापूर्ण आक्रोश थियो । सिंहदरबारतिर फर्केर दुईचार गाली दिनु पनि त्यति अनौठो होइन । तर त्यसलाई सामना गर्ने नाममा सत्ताले आज जे हर्कत देखायो, त्यो सम्पूर्ण रूपमा निन्दनीय छ ।

आफू २०५१ सालको सरकारमा गृहमन्त्री छँदा आफ्नो कार्यकालभरि कालगतिले बाहेक एकजना पनि नेपाली नमरेको दाबी गर्दै आएका प्रधानमन्त्री ओलीको छविमा आजको घटनाले नराम्रोसँग दाग लगाएको छ ।

चैत १५ मा राजावादीहरूले गरेको उग्रवादी प्रदर्शन नियन्त्रणका क्रममा गृहप्रशासनले भूल गरेको थियो । त्यस भूलबाट उसले कुनै शिक्षा लिएको रहेनछ भन्ने आज फेरि स्पष्ट भयो । यो लेख्दासम्म १४ जना प्रदर्शनकारीको ज्यान गइसक्यो ।

सयौं घाइते र अंगभंग छन् । क्षतिको विवरण जुटाउन सम्भव छैन । अस्पताल हुन् कि युद्धक्षेत्र जस्तो अवस्था छ । सिभिल अस्पतालको लबीमा देखिएको दृश्य सम्झन पनि सकस पर्ने खालको छ ।

आजका घटनाले ज्ञानेन्द्रको राजशाहीलाई सम्झाउँदैनन्, बिर्साउँछन् ।

सन् ९० दशकको सुरुवाततिर सोभियत ब्लक अन्तर्गतका युरोपेली देशतिर भएका यस्ता प्रदर्शनबारे हामीले इतिहास पढेका हौं । मध्यपूर्वमा सन् २०१० को दशकमा भएका विभिन्न आन्दोलनमा पनि यस्तै विद्रोहको झल्को मिलेको थियो ।

व्यवस्था बदल्न आह्वान गरिएका ती आन्दोलनहरूमा सरकारविरोधी समूह र नागरिक समाज केन्द्रमा थियो । अहिले नेपालमा सामाजिक सन्जाल निर्णायक बनेको छ । युरोपमा आन्दोलनमा अभ्यस्त पंक्तिले कलर रेभोलुसन गरेको थियो । यहाँ चाहिं अहिलेसम्म कहिल्यै आन्दोलनमा नहिंडेको पंक्ति सडकमा छ ।

नेपालमा २००७ साल यताका आन्दोलनहरू सम्झौं । यसअघिका सबैजसो जुलुसहरूमा आर्थिक स्रोत, शक्ति, कार्यकर्ता व्यवस्थापन, प्रशिक्षणको एउटा टेम्प्लेट नै सेट हुने गरेको थियो । जेनजीको यो आन्दोलनमा स्न्यापच्याट, डिस्कर्ड, रेडिट आदि सन्जालको भर्चुअल आह्वानबाहेक दोस्रो कुनै स्रोतसाधन परिचालित देखिँदैन ।

पलिटिक्स इज् डर्टी गेम भन्दै नेताहरूलाई धारे हात लगाउनेमध्येकै कतिपयले अब राजनीतिक सरोकारमा प्रत्यक्ष रुचि र सहभागिता देखाउन थालेका छन् । नयाँ पुस्ताले देश चिन्दैन, राजनीति बुझ्दैन भन्ने धारणा आज भत्किएको छ ।

याद गर्नैपर्ने के छ भने, यसअघिका सबैजसो परिवर्तनका आन्दोलनमा सक्रिय भएर यति बेला सत्ता–संस्थापन अनि प्रतिपक्षसमेतमा बसेकाहरू विरुद्ध एउटा नयाँ वर्ग सडकमा उदाएको छ । हिंसा र अतिवाद यसको छनोटमा थिएन । दुर्गा प्रसाई लगायत केही अतिवादी, दक्षिणपन्थी र अराजक समूहले एजेन्डा अपहरण गर्ने कोसिस गरे पनि युवाले सफल हुन दिएनन् ।

नयाँ पुस्ता कतै व्यवस्था बदल्ने बाटोमा पो लक्षित हुने हुन् कि भनी सन्देह समेत गरेका छन् । यद्यपि उनीहरूले गणतान्त्रिक व्यवस्थाकै सम्बर्द्धनका लागि आफूहरू क्रियाशील भएको घोषणा गरेका छन् । यसबारे तल चर्चा गरिने छ ।

संसद भवनमा प्रदर्शनकारी छिरेसँगै कर्फ्यु लागेको छ । बानेश्वर क्षेत्र तनावग्रस्त छ । नेपालका अरू केही सहरमा पनि निषेधाज्ञा लागिसकेको छ । यसपछि के हुने हो भन्ने स्पष्ट छैन ।

‘लिडरलेस मुभमेन्ट’ अर्थात् एक किसिमले नेतृत्वविहीन आन्दोलन जस्तो अनुभूति भए पनि यसभित्र सुषुप्त नेतृत्व भने देखिन्छ ।

इनफ् इज इनफ्, नो नट अगेन जस्ता समूह, अनि विगतमा उज्वल थापाको नेतृत्वमा अघि बढेको विवेकशील नेपाली दलसँग निकट भएका सामाजिक अभियानकारी युवाहरूले यसलाई अनौपचारिक रूपमा संगठित गरिरहेका छन् । रास्वपा र बालेन निकट युवाहरूको चाखसँगै संलग्नता देखिन्छ । अनि त्रिभुवन विश्वविद्यालयमा पढ्ने थुप्रै विद्यार्थी कीर्तिपुरबाट बानेश्वर आएका छन् ।

आन्दोलन नै आन्दोलन भइरहने देश नेपालमा उदाएको नयाँ पुस्ताले, जसले आफ्नो जीवनकालमा ठूलो परिवर्तनकारी आन्दोलन देखेन, बरु फेसबुक, ट्वीटर, इन्स्टाग्राम, रेडिट आदिमा आफ्ना अनुभूति र आक्रोश पोख्यो, त्यो पुस्ता यति बेला खुद सडकमा छ । सोसल मिडिया काटिँदा आफ्नो जीवनशैली नै अपहरित भएको यो पुस्ताको बुझाई छ ।

माथि भनिएझैं प्रहरीलाई फूल दिएर, अनि सरकारले प्रतिबन्ध लगाएका सामाजिक सन्जालमा त्यसको भिडियो पोस्ट गरेर थालिएको प्रदर्शन अन्ततः उत्तेजक बन्यो । नेपालको शक्तिकेन्द्रको नाभी मानिने सिंहदरबारको अगाडिबाट थालिएको प्रदर्शन संसद भवन परिसरमै प्रवेश गर्‍यो । स्थिति नियन्त्रणबाहिर गएको निष्कर्ष निकाल्दै प्रशासनले कर्फ्यु आदेश नै जारी गरेको छ ।

यो पंक्तिकारले बानेश्वर, बुद्धनगर र बबरमहल आसपासका क्षेत्रमा अवलोकन गर्दा देख्यो– स्कूल, कलेजको पोशाक लगाएका, हातमा सिर्जनशील प्लेकार्ड लिएका, राष्ट्रिय झन्डा र पानी बोकेका युवायुवती, अनि किशोर किशोरीहरू सडकमा थिए । संस्थापनविरोधी नयाँ दलहरूमा संलग्न युवा पनि दृश्यमान थिए ।

सामाजिक सन्जाल बन्द गर्ने पछिल्लो सरकारी निर्णय युवा आक्रोशको केन्द्रमा रह्यो । भ्रष्टाचार, बेथिति र कुशासन उनीहरूको तारोमा छ, जसलाई निश्चित वैचारिक लेप दिइएको छैन ।

जेनजी आन्दोलनमा संलग्न एक अभियन्ता युजन राजभण्डारीले अनलाइनखबरलाई उपलब्ध गराएको पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत बिहान नौ बजे माइतीघर मण्डलमा जम्मा भएर ११ बजेसम्म प्रर्दशन गर्ने, त्यसपछि बानेश्वरको एभरेस्ट होटलसम्म प्रदर्शन गरेर निषेधित क्षेत्रमा रोकिने कार्यसूची थियो । तर उनी, रक्षा बमसहित आयोजकमध्येका केही अगुवाले घुसपैठ भएका व्यक्तिहरूले गरेको गतिविधिका कारण स्थिति नियन्त्रणबाहिर गएको दुखेसो गरे ।

गणतन्त्रपछिका झन्डै दुई दशकमा आलोपालो सत्तासीन यी नेताहरूको विगत र वर्तमान, तिनका सन्तान र आसेपासेहरूको आकस्मिक वर्गोत्थानविरुद्ध तन्नेरी आक्रोश झल्किरहेका छन् ।

सामान्यतया संसद् भवन छिर्ने, राष्ट्रपति वा प्रधानमन्त्री कार्यालयतिर लक्षित हुने अवस्थालाई राजनीतिशास्त्रीहरूले व्यवस्था नै बदल्ने प्रयास भनी बुझ्ने गर्छन् । शान्तिपूर्ण प्रदर्शनलाई संसद् भवनतर्फ लक्षित नगरेको भए पक्कै यो खति हुने थिएन । यद्यपि त्यहाँ कुनै वितण्डा वा तोडफोड नमच्चिएको अवस्थामा सुरक्षाकर्मीले जसरी प्रतिकार गर्‍यो, त्यसले नेपाली राज्ययन्त्रको साख सिंगो विश्वका सामु उदांगिएको छ ।

जेनजी समूहरूले आफ्नो आन्दोलन राजावादीको नभएको, राजनीतिक दलविशेषसँग संलग्न नरहेको, अनि गणतान्त्रिक व्यवस्था बदल्न नगरिएको भनी वैचारिक लक्ष्मणरेखा कोरेका छन् । आफूहरूले स्वतन्त्र पारदर्शी संस्थाहरूको निर्माण हुनुपर्ने, सोसल मिडिया बन्देज हट्नुपर्ने माग राखेको उनीहरूले बताएका छन् । कोशीका मन्त्रीको गाडीले बालिकालाई जेब्राक्रसिङमा ठक्कर दिएर भागेको संवेदशील घटनामाथि प्रधानमन्त्री ओलीले एमालेको गोदावरी महाधिवेशनमा दिएको पछिल्लो अभिव्यक्तिप्रति जेनजी प्रदर्शनकारीको तीव्र आपत्ति देखिन्छ ।

प्रदर्शन उत्तेजक बन्दैजाँदा सुरक्षाकर्मीले हानेको बुलेट, हवाई फायर अनि कडा प्रतिकारका कारण सडकमा प्रदर्शनकारी ढलिरहेका दृश्य हामीले देख्यौं । सरकारविरुद्ध उत्तेजक नाराहरूको कमी छैन ।

विगतमा हामीले अन्तिम शाह राजा ज्ञानेन्द्र, तत्कालीन युवराज पारसविरुद्ध सुनेकै शैलीका कडा नाराहरू प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्डविरुद्ध लक्षित छन् । गणतन्त्रपछिका झन्डै दुई दशकमा आलोपालो सत्तासीन यी नेताहरूको विगत र वर्तमान, तिनका सन्तान र आसेपासेहरूको आकस्मिक वर्गोत्थानविरुद्ध तन्नेरी आक्रोश झल्किरहेका छन् ।

लिडरलेस आन्दोलन भनेर जतिसुकै भने पनि अब यसले आन्दोलनकारी अगुवा खोजिसक्यो । संयमित भएर सुझबुझ देखाउँदा यो प्रदर्शन विद्रोहकै बाटोमा अघि बढ्न सक्छ, जसबाट नयाँ नेपालको सत्तासंस्थापन नै पुनःपरिभाषित हुन सक्छ । कथं योजनाविहीन भएर अघि बढ्यो भने कहिलेकाहीं अराजकतावादी शक्तिहरूले दुरूपयोग गर्ने खतरा पनि त्यत्तिकै हुन्छ ।

नयाँ पुस्तासँग शक्तिशालीविरुद्ध पर्याप्त आक्रोश छ । उनीहरूले खोजेको परिवर्तनको मोडल के हो भनेर स्पष्ट पार्ने बेला पनि सँगसँगै आएको छ ।

‘कलर रेभोलुसन’ सम्झाउने जेन जीको यो विद्रोहमाथि राज्यले अमानवीय भएर जुन रक्तपात मच्चाएको छ, यसको सम्झना भने पछिसम्मै हुने छ । एउटा माफी वा केही क्षतिपूर्ति घोषणाको भरमा आगामी नेपाल सम्हाल्ने पुस्ताले राज्यलाई क्षमा दिन कठिन छ ।

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?