
२४ भदौ, काठमाडौं । जेन-जीले गरेको प्रर्दशनका क्रममा घाइते भएका केही व्यक्तिहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
वरिष्ठ न्युरोसर्जन डा. राजीव झाले बुधबार बिहानको राउन्ड सकेपछि कुरा गर्दै घाइतेहरूको अवस्थाको बारेमा जानकारी दिएका छन् । ‘हिजो मात्र करिब १०-१२ जनाको अप्रेसन गरियो ।
७ जनाको शरीरमा लागेको रबरको गोली निकालेर घाउ सफा भइसकेको छ,’ डा. झाले भने, ‘उनीहरू अहिले औषधि र एन्टिबायोटिक उपचारमा छन् ।’
घाइतेको पेट र कलेजो आसपासमा गोली लागेको भए पनि शल्यक्रियापछि अवस्था सामान्य हुँदै गएको बताए । अस्पतालका अनुसार ११ जना जटिल खालका बिरामी छन् । जसमध्ये ५ जना आईसीयूमा छन् ।
तर, गम्भीर घाइतेमध्ये एकजनाको ढाडमा गोली लागेको र त्यसका कारण प्यारालाइसिस (शरीरको तल्लो भाग नचल्ने अवस्था) भइसकेको छ । हाल ती बिरामीको सर्जरी गर्ने तयारी भइरहेको छ ।
ट्रमा पुगेका ८ जनामध्ये ४ जनामा मुटुमा र अन्यको टाउको, घाँटीमा गोली र चोटपटक लागेको गियो । ट्रमा सेन्टरले खतरामुक्त अवस्थासम्म पुगेका घाइतेलाई सामान्य वार्डतर्फ सारिरहेको छ ।
डा. झाका अनुसार ट्रमा सेन्टरमा हाल लगभग पूर्ण क्षमतामा बिरामी भएकाले नयाँ बिरामीका लागि व्यवस्थापन चुनौतीपूर्ण भइरहेको छ । ‘हामी २४ घण्टै सतर्क छौं । कुनै पनि बेला नयाँ बिरामी आउन सक्छन् भनेर वीरमा पनि तयारी गरेका छौं,’ डा. झाले भने ।
प्रतिक्रिया 4