
News Summary
Generated by OK AI. Editorially reviewed.- कलंकी चोकमा प्रदर्शनकारीले तोडफोड गरेपछि सुरक्षाकर्मीले गोली प्रहार गरेका छन् जसले स्थिति तनावग्रस्त बनेको छ।
- प्रहरीले शान्तिपूर्ण आन्दोलनरत जेनजी र समर्थकमाथि अश्रुग्यास र गोली प्रहार गरेको छ।
- प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् र करिब ५ हजारले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।
२४ भदौ, काठमाडौं । राजधानीको कलंकी चोक तनावग्रस्त बनेको छ । प्रदर्शनकारी तोडफोडमा उत्रिएको भन्दै सुरक्षाकर्मीले गोली प्रहार गरेपछि कलंकीको स्थिति तनावग्रस्त बनेको हो ।
शान्तिपूर्ण आन्दोलन गरिरहेका जेनजी र तिनको समर्थकमाथि प्रहरीले एक्कासि अश्रुग्यास प्रहार र लगत्तै गोली प्रहार गरेपछि कलंकी चोकको अवस्था तनावग्रस्त बनेको हो । त्यसैको विरोधमा प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।
कलंकीमा भेला भएका करिब ५ हजार हाराहारी प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरिरहेका थिए । सोही क्रममा एक्कासि प्रहरीले अश्रुग्यास प्रहार गरेर भिड तितरबितर पारेको प्रदर्शनमा सहभागी नागार्जुन नगरपालिका–९ का स्थानीय उमेश भट्टराईले जानकारी दिए । काठमाडौं महानगरपालिका–१४ कलंकी र नागार्जुन नगरपालिकाको सीमा जोडिएको छ ।
‘हामी शान्तिपूर्ण तरिकाले नाराबाजी गरेर बसिरहेका थियौं,’ उनले भने, ‘तर, प्रहरीले अश्रुग्यास प्रहार गरेर बल प्रयोग गरिदियो । प्रहरीले हानेको अश्रुग्यास एक जना प्रदर्शनकारीको आँखामै लाग्यो । उनलाई अहिले कलंकी चोकमै रहेको सहिद अस्पतालमा उपचार गर्न पठाएका छौं । उनको परिचय खुलेको छैन ।’
प्रहरी दमनविरुद्ध फेरि प्रदर्शनकारीहरू एकजुट भएर चोकमा जम्मा हुन थालेका थिए । त्यसपछि सुरक्षाकर्मी विरुद्ध जाइलागेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो । एक जनालाई गोली लागेको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको भट्टराईले बताए ।
जेनजी आन्दोलनको दोस्रो दिन आज मंगलबार बिहानैदेखि कलंकी चोकमा हजारौं संख्यामा प्रदर्शनकारी जम्मा भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । प्रदर्शनमा ठूलो संख्यामा स्थानीयवासिन्दा सहभागी छन् ।
यसैबीच नागार्जुन नगरपालिका–९ र १० मुख्य सडकमा रहेको सहिद प्रद्युम्न खड्का शालिक चोकमा जेनजीसँगै स्थानीयवासिन्दाले टायर बालेर सरकारी दमनको विरोध गरिरहेका छन् ।
प्रतिक्रिया 4