
२३ भदौ, पोखरा । काठमाडौंमा सोमबार जेनजी आन्दोलनमा दमन भएर २१ जनाले ज्यान गुमाएपछि मंगलबार पोखरामा पनि बिहानैदेखि प्रदर्शन भयो ।
ठूलो संख्यामा जेनजी पुस्ताका युवा तथा उनीहरूलाई समर्थन गर्दै विभिन्न पार्टीका नेता कार्यकर्ता र स्वतस्फूर्त सहभागी भएसँग आन्दोलनले उग्र रूप लिएको थियो ।
उनीहरूले अधिकांश सरकारी कार्यालयमा तोडफोड र आगजनी, मेयर, नेता तथा व्यवसायीको घर तथा व्यावासयिक प्रतिष्ठानमा आगो लगाएका छन् । तनाबग्रस्त बनेको पोखरामा जेनजीका नाममा भएको आन्दोलन अझै पनि उस्तै उग्र रूपमा भइरहेको छ ।
पोखराका सबैजसो सरकारी कार्यालय जलेर ध्वस्त भएका छन् । न कार्यालय सग्लो छ, न कुनै कागजात र दस्तावेज बाँकी छन् । बाँकी छ त दनदनी दन्किरहेको आगो र आकाशमा मडारिइरहेको कालो धुँवाको मुस्लो ।
पोखराको पृथ्वीचोकमा युवाहरू डोजरमा सवार भएर हिँडेको दृश्य पनि देखिन्थ्यो । डोजर र टिपरमा चढेर उनीहरू राष्ट्रिय झण्डा फहराउँदै प्रधानमन्त्रीदेखि शीर्ष नेताहरूविरूद्ध नाराबाजी गरिरहेका थिए ।
सडकमा कतिपय युवाहरू खुकुरी नचाउँदै दौडिरहेको पनि देखियो । कोही हातमा रड, पाइपलगायत हतियार बोकेर प्रदर्शन गरिरहेका छन् ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि विभिन्न अपराधमा दोषी ठहर भएका तथा विभिन्न मुद्धामा पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दी मंगलबार साँझ बाहिर निक्लेर भागेका छन् । कैदिबन्दी भाग्नेक्रममा प्रहरीमाथि कुटपिट भएको छ ।
जेनजीको आन्दोलनमा सोमबार सरकारले दमन गरेर २१ जनाको ज्यान गएपछि मंगलबार पोखरामा भएको प्रदर्शनको दृश्य हो, यो ।
जेनजीको आन्दोलनले पोखरामा मंगलबार तबाही मच्चाएको छ । संघीय, प्रदेश र स्थानीय गरी तिनै तहका सरकारी कार्यालयमा आगो लगाएका छन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका अन्तर्गतका कार्यालय तोडफोडमात्रै भएनन्, जेनजी युवाहरूले झोसिएको आगोले दस्तावेजसहित सबै सामग्री जलाएर नष्ट भएका छन् ।
न्यूरोडस्थित पोखरा महानगरपालिकाको कार्यालयबाट सल्किएको आगो सबैजसो सरकारी कार्यालय जल्दासम्म अझै निभेको छैन । पोखरा महानगर, मातहतका केही वडा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अधिकांश मन्त्रालय, प्रदेश सभा भवन, प्रदेश प्रमुखको कार्यालय, योजना आयोग, अदालत, जिल्ला प्रशासन, मालपोत, नापी कार्यालय सबै तोडफोड भएका छन् ।
सवारी साधनमा आगजनी भएको छ । । कार्यालयका अभिलेख तथा दस्तावेजका कागजात, कम्युटर, फर्निचर, सफ्टवेयरलगायत सबै सम्पत्ति जलेर नष्ट भएका छन् । आन्तरिक राजस्व कार्यालय, सडक डिभिजन कार्यालयसहित पोखराका अधिकांश सरकारी कार्यालय तोडफोड गर्दै भएको आगजनीले ध्वस्त भएको छ भने फाइलहरू, फर्निचर र त्यहाँका सामान जलेका छन् ।
जेनजी आन्दोलनले पोखरामा तिनै तहका सरकार मातहतका कार्यालय, न्यायपालिका र व्यवस्थापिकासमेत ध्वस्त पारेको हो । । हेभि इक्युपमेन्ट कार्यालयका डोजर, लोडर, टिपर जलाइएको छ भने केही मेसिनरी सामान युवाहरू आफैंले चलाउँदै सडकमा प्रदर्शन गरेका हुन् ।
जेनजीको आन्दोलनले पोखरा दिनभर तनाबग्रस्त बन्यो भने प्रदर्शन उग्र बन्दा सुरक्षाकर्मी नै पछाडि हट्नुपरेको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले बिहानै पोखराका प्रमुख सहरी क्षेत्रमा कर्फ्यू आदेश जारी गरे पनि प्रदर्शनकारीले अवज्ञा गरेर प्रदर्शन जारी राखे ।
अन्तत: कर्फ्यू आदेश जारी गर्ने प्रशासन नै जलेर ध्वस्त भएको छ । विभिन्न सरकारी कार्यालयसँगै त्यहाँका सवारी साधन, मेसिनरी सामग्री जल्दै गर्दा बम पड्किएकै भान हुनेगरी ड्याम्म ड्याम्म आवाज गुञ्जिरहेको छ भने पोखराको आकाश कालो धुँवाले ढाकेको छ । सरकारी कार्यालय र महत्वपूर्ण दस्तावेज नै जलेपछि र देशैभर भएको आन्दोलनले सरकार नै ढलेपछि नागरिकमा अन्योलताको स्थिति छ ।
बिहान शान्त रूपमा पोखरा सभागृहमा भेला भएर शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका जेनजी युवाहरू प्रदर्शनमा संख्या बढ्दै गएपछि प्रहरीसँग झडपको स्थिति देखिन थाल्यो ।
प्रहरीले सुरूमा अश्रुग्याँस र गोली प्रहार गरेर नियन्त्रणको प्रयास गरे पनि असफल बन्न पुग्यो ।
जेनजीको आक्रमण जारी रहँदा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालसहितका कर्मचारी कार्यालयमै थिए । उनीहरू आन्दोलनकारीको प्रहार छल्दै बाहिर निस्किएका थिए ।
प्रदर्शनकारीले पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा तोडफोड गरे, बाहिर ल्याएर सामानमा आगो लगाए ।
मेयर आचार्यको समेत लगानी भएको भनिएको र उनकै भाइ शिव आचार्य सञ्चालक रहेको पोखरा इभेन्ट सेन्टर पनि प्रदर्शनकारीले तोडफोड गर्दै आगो लगाइदिएका छन् । योसँगै गण्डकीका सामाजिक विकासमन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको घर, परिवारका व्यापारिक प्रतिष्ठान तोडफोड गर्दै आगजनी भएको छ ।
उनको नयाँबजारमा रहेको घर, व्यावसायिक प्रतिष्ठान, उनको भाइ तथा अटो मोबाइल एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष तथा लायन्सका गभर्नर ध्रुुव थापाको घर र गाडीको सोरूमसमेत तोडफोड गर्दै जेनजी युवाहरूले आगो लगाइदिए ।
मन्त्री थापाको नयाँबजारको घरसँगै करिब डेढ महिना अगाडिमात्र परराष्ट्रमन्त्री आरजू राणा देउवाले उद्घाटन गरेको लेकसाइडस्थित बगैंचा रिसोर्ट, अंशुभरा ग्रुपको भवन पनि तोडफोड र आगजनी गरेका छन् । आन्दोलनकारीले गण्डकीका पूर्वसांसद तथा एमाले नेता राजीव पहारीको घरमा पनि तोडफोड र आगजनी गरेका छन् ।
प्रदर्शनकारीले उनीहरूको घर, निवास, व्यापारिक प्रतिष्ठान जलाएपछि पार्दी क्षेत्रमा रहेका सबैजसो कार्यालयमा आगजनी गरेका थिए । सहिदचोक र पार्दी क्षेत्रमै अधिकांश सरकारी कार्यालयहरू रहेका छन् । हातहतियारसहित ती कार्यालय भवनमा छिरेका प्रदर्शनकारीले सामान तोडफोड गर्दै सवारी साधनदेखि आगजनी गरेका छन् ।
प्रहरी पछाडि हटेपछि कुनै डर पनि नभएको भन्दै धमाधम कार्यालयहरू, त्यहाँका दस्तावेज र मेसिनरी तथा विभिन्न सामग्रीमा आगो लगाएका छन् । प्रदर्शनकारीले पोखरामा रहेको एनसेलको कार्यालयसमेत तोडफोड गरेका छन् भने भाटभटेनी सुपरमार्केट पनि तोडफोड गरेका छन् ।
मन्त्रालय, मन्त्रीका घर र विभिन्न कार्यालयहरूमा तोडफोड गर्दै आगजनी हुन थालेपछि सबैको भागाभाग चलेको थियो । मन्त्रीहरू सुरक्षित ठाउँमा गएर बसेका थिए भने कार्यालयमा उपस्थित भएका कर्मचारीहरूको भागाभग भएको थियो ।
जेनजीको आन्दोलन चर्किँदै गएपछि र सोमबार सरकारले दमन गरेको भन्दै माओवादी केन्द्रको चुनाव चिह्न लिएर गोरखाबाट विजयी फणिन्द्र देवकोटाले राजीनामा दिएको घोषणा गरेका थिए भने राप्रपाको केन्द्रीय कार्यालयबाटै संघ र प्रदेशका मन्त्रीले राजीनामा दिएको घोषणा गरिसकेको छ ।
काठमाडौंमा नेता र उनको निवास निसानामा पर्दा पोखरामा पनि जेनजीले खोजी गरेका थिए । तर, उनीहरू सुरक्षित ठाउँमा सरिसकेको पाइएको छ ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखराका मेयर धनराज आचार्य अहिले नेपालीहरूको विश्व सम्मेलनमा युएई छन् । पोखरामा आन्दोलनकारीले सरकारी कार्यालयहरूसँगै स्काभेटर प्रयोग गरेर विभिन्न व्यापारिक प्रतिष्ठानसमेत भत्काइरहेका छन् ।
प्रतिक्रिया 4