+
+
Shares

जेनजी प्रदर्शन : होला खाद्यान्न अभाव ?

सरकारविहीनताको अवस्थामा कालोबजारी हुने र उपभोक्ता ठगिने सम्भावना थप प्रबल छ । सर्वसाधारण उपभोक्तालाई कसरी सहज र सरल तरिकाले खाद्यान्न आपूर्ति होला ? यस खालको विषम परिस्थितिमा दैनिक उपभोग्य सामग्री र खाद्यान्न अभाव होला ?

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ भदौ २६ गते ८:१४

२६ भदौ, काठमाडौं । तीन दिनयता जारी जेनजी प्रदर्शनले उग्ररूप लिँदा कम्तीमा ३० जानको ज्यान गइसकेको छ भने दर्जनौं सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको छ ।

जेनजी प्रदर्शनको पहिलो दिनबाटै सरकारले काठमाडौं उपत्यका लगायत प्रमुख सहरमा कर्फ्यु आदेश जारी गरेपछि स्थिति थप तनावग्रस्त हुन पुग्यो । दोस्रो दिन मंगलबार सरकारी र निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट, आगजनी हुन थालेपछि सोही रातिदेखि सुरक्षा जिम्मेवारी लिँदै नेपाली सेना सडकमा आएको छ ।

सेनाले निषेधाज्ञा र कर्फ्यु अवधि बढाएर २७ भदौसम्म पुर्‍याएको छ । निषेधाज्ञा र कर्फ्युका कारण सबै पेसा व्यवसाय ठप्प छ । यस्तो बेला बजार पनि बन्द हुँदा दैनिक उपभोग्य सामान खरिद गर्न समस्या हुनेमात्र नभई अभाव पनि हुने र महँगी बढ्ने सम्भावना उच्च हुन्छ ।

सरकारविहीनताको अवस्थामा कालोबजारी हुने र उपभोक्ता ठगिने सम्भावना थप प्रबल छ । सर्वसाधारण उपभोक्तालाई कसरी सहज र सरल तरिकाले खाद्यान्न आपूर्ति होला ? यस खालको विषम परिस्थितिमा दैनिक उपभोग्य सामग्री र खाद्यान्न अभाव होला ?

‘बजारमा खाद्यान्न अभाव त हुँदैन होला, तर यातायात तथा ठूला व्यापारीका गतिविधिले समस्या निम्तिन सक्ने सम्भावना भने छ,’ नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले अनलाइनखबरसँग भने ।

महासचिव तुलाधरका अनुसार यदि बजार खुला रहे अहिले भएका सामान बिक्री भइहाल्छन् । तर, यातायात व्यवसायीले सेवा बन्द गरे भने सामान आपूर्तिमा कमी आउने र यसले केही कठिनाइ सिर्जना गर्न सक्छ ।

अहिलेसम्म खाद्यान्न लुटपाट भएको भने नदेखिएको उनले बताए । सरकारले ५–६ महिनाका लागि खाद्यान्न मौज्दात रहेको बताइरहेकाले तत्कालै ठूलो अभाव नहुने उनको विश्वास छ ।

यद्यपि, केही ठूला व्यापारीले यातायातमा समस्या आएको बहाना बनाएर कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्न सक्ने सम्भावनालाई भने उनी नकार्दैनन् ।

‘ठूला व्यापारीहरूको मौका छोप्ने एउटा प्रवृत्ति नै छ,’ उनले भने, ‘सबै व्यापार ठूला व्यापारीहरूकै हातमा रहेको र सामान ल्याउने पनि उनीहरू नै भएकाले उनीहरूले यस्तो अवस्थाको फाइदा उठाउन सक्ने सम्भावना रहन्छ ।’

अबको एक–दुई दिनमा बजारको अवस्था कस्तो हुन्छ, त्यसले नै थप कुरा निर्धारण गर्ने तुलाधरको भनाइ छ ।

मूल्यवृद्धिका सन्दर्भमा खुद्रा व्यापारीहरूले आफ्नो पसल खुला राखेर टोल–टोलमा सामान बिक्री गरिरहेका छन् । उनीहरूलाई तत्काल ग्राहकलाई सामान छैन भन्नु नपर्ने र उनीहरूले आफ्नो नियमित ग्राहकलाई सामान बेच्न बाध्य हुने भएकाले खुद्रा तहबाट मूल्यवृद्धि नहुने देखिन्छ । तर, ठूला व्यापारीबाटै सामानको आपूर्ति कम भए खुद्रा पसलमा भएको सामान सकिन सक्ने अवस्था रहन्छ ।

उद्योगीहरूसँग दाल, चामल, तेलजस्ता खाद्यान्नको पर्याप्त मौज्दात हुने भए पनि आपूर्ति शृङ्खलामा बाधा पुग्न सक्ने चिन्ता व्यक्त गरिएको छ । यातायात व्यवसायीले बन्द गरे ढुवानीमा असर परी केही प्रतिशत समस्या आउने सम्भावना रहेको तुलाधरले स्वीकारे । यस्तो अवस्थामा सबैले देशको अवस्था हेरेर सहयोग गर्नुपर्नेमा उनको जोड छ ।

मानिसले हुलमुलमा आफ्नो सुविधाका लागि घरमा सामान स्टक राख्न सक्ने सम्भावना रहेको र नेपालमा स्टक राख्ने चलन पनि भएकाले तत्कालै अभाव नहुने तर सामान नै नआए समस्या हुन सक्ने उनले बताए ।

तत्काल खाद्यान्न अभाव नहुने, तर बजार अवस्था संवेदनशील

नेपाल चामल, तेल, दाल उद्योग संघले हालको अवस्था समग्रमा खराब रहेको र खाद्यान्न आपूर्तिबारे आजको भोलि नै केही पनि भन्न नसकिने स्पष्ट पारेको छ ।

धेरै जनाको खाद्यान्न गोदाममा असर परेको र उद्योगहरूमा पनि समस्या देखिएका कारण अहिले केही टिप्पणी गर्न नसकिने संघको भनाइ छ ।

संघका एक सदस्यका अनुसार मौज्दात पर्याप्त रहेकाले केही समय खाद्यान्न अभाव हुने सम्भावना कम छ ।

‘जबसम्म सामान्य परिस्थिति हुँदैन, तबसम्म केही भन्न सकिने अवस्था नै छैन,’ उनले भने ।

तरकारी आपूर्तिको अवस्था के छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हालको असहज परिस्थितिमा कालीमाटी तरकारी बजारभित्र थोरै परिमाणमा तरकारी भित्रिएको जानकारी दिएको छ ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले मंगलबार करिब १ सयदेखि १ सय ५० टनमात्र तरकारी बजार भित्रिएको जानकारी दिए । आन्दोलनका कारण ढुवानी हुन नसकेको उनको भनाइ छ ।

श्रेष्ठले बुधबार बिहान केही समयका लागि बजार खुले पनि पछि कर्फ्यु लागेका कारण सुरक्षाकर्मी (सेना) आएर बन्द गर्न लगाएको बताए ।

तर, अहिलेको त्रासमय अवस्थाका कारण तरकारी किन्न आउने उपभोक्ताको संख्या एकदमै न्यून रहेकाले बजारमा खासै चहलपहल हुन नसकेको र व्यापार नचलेको उनले जानकारी दिए ।

उनका अनुसार मंगलबार प्रदर्शनकारीले कालीमाटी तरकारी बजारमा आगजनीको प्रयास गरेका थिए ।  यस प्रयासका क्रममा बजारको इन्ट्री पोस्टमा रहेका कम्प्युटर, फर्निचर र एउटा मोटरसाइकलमा क्षति पुगेको छ ।

यद्यपि, बजारका व्यवसायी तथा कर्मचारीहरूको सक्रियता र समन्वयका कारण आगजनीको प्रयास तत्कालै नियन्त्रणमा लिन सफल भएकाले ठूलो क्षति हुनबाट जोगिएको श्रेष्ठले बताए ।

उनका अनुसार तरकारी दैनिक उपभोग्य वस्तु भएकाले अवस्था सामान्य भयो भने बजार र आपूर्ति दुवैमा सुधार आउने अपेक्षा गर्न सकिन्छ  ।

खाद्यान्न मौज्दात पर्याप्त, वितरणमा चुनौती

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालको संकटग्रस्त अवस्थामा खाद्यान्नको पर्याप्त मौज्दात रहेको जनाएको छ । तर, लुटपाटका घटना र विषम परिस्थितिका कारण वितरण व्यवस्थापनमा केही चुनौती देखिएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश आचार्यले कम्पनीसँग राष्ट्रिय खाद्य सुरक्षा भण्डारमा राख्नुपर्ने र सार्क खाद्य बैंकमा राख्नुपर्ने गरी कुल ३३ हजार टन खाद्यान्न स्टक रहेको बताए ।

त्यसमध्ये करिब ३० हजार टन खाद्यान्न हाल कम्पनीसँग मौज्दात छ । मंगलबारको घटनामा सिरहा लहानमा खाद्यान्न लुटिएको थियो । लहानमा लगभग १० करोड बराबरको खाद्यान्न लुटिएको उनले बताए ।

खाद्यान्न संकट आउन सक्ने अवस्था देखिएकाले अब स्टक सुरक्षित राख्नुपर्ने र व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । यस्तो बेला संकट व्यवस्थापन गर्नु कम्पनीको मुख्य भूमिका भएको उनले स्पष्ट पारे ।

अन्य खाद्यान्न मौज्दात कति ?

सीईओ आचार्यका अनुसार दालको मौज्दात भने एकदमै कम मात्रामा छ । चामल पर्याप्त मात्रामा छ । चिनी पनि लहानमा ठूलो मात्रामा लुटिएको छ । लगभग साढे ३ करोड बराबरको चिनी लहानबाट लुटिएको उनको भनाइ छ । तेल भने अहिले करिब ४२ हजार लिटर मात्रै मौज्दात रहेको उनले बताए ।

सुपथ मूल्य पसल र वितरण अनिश्चित

यस्तै चाडपर्व लक्षित सहुलियत पसलहरूको अवस्था अनिश्चित हुने देखिएको छ । सहुलियतका लागि व्यवस्थापन गर्ने समय सीमित भएकाले त्यसलाई स्थगित गर्नुपरेको सीईओ आचार्यले बताए ।

स्टकमा रहेको १० हजार टन खाद्यान्नलाई सहुलियत दरमा बेच्ने योजना रहे पनि अब परिस्थिति अनुसार कसरी व्यवस्थापन गर्ने भनेर हेर्नुपर्ने उनले बताए । कुन–कुन ठाउँमा कस्तो प्रकारको संकट आउँछ, त्यही अनुसार व्यवस्थापन गर्दै जाने उनको भनाइ छ ।

कारागारको खाद्यान्न सर्वसाधारणलाई

कम्पनीले कारागारमा ठूलो मात्रामा खाद्यान्न आपूर्ति गर्दै आएको थियो । तर, हालको अवस्थामा कैदीबन्दीहरू भागेकाले कारागारका लागि छुट्याइएको खाद्यान्न अब सर्वसाधारण जनतालाई नै वितरण गर्ने अवस्था रहेको सीईओ आचार्यले जानकारी दिए ।

बजार अनुगमनमा चुनौती

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन योजना बनाए पनि वर्तमान विषम परिस्थिति र ढुवानी समस्याका कारण कार्यान्वयनमा चुनौती देखिएको जनाएको छ ।

विभागले विशेषगरी दैनिक उपभोग हुने वस्तु दुग्धजन्य पदार्थ, खाद्यान्न, तरकारी र फलफूल लगायतमा विशेष ध्यान दिने जनाएको छ ।

तर, हिजोको अवस्थाबारे तत्काल छलफल गर्ने वा कुनै योजना बनाउने अवस्था नरहेको विभागका निर्देशक तारानाथ लुइँटेलले स्पष्ट पारे ।

अहिले अनुमानका आधारमा मात्र कुरा गर्न सकिने उनले बताए । दुग्धजन्य पदार्थ, तरकारी, फलफूल जस्ता अत्यावश्यक वस्तुको ढुवानी व्यवस्थामा ढुवानी व्यवसायीले अहिले बन्द गरेको हुँदा तत्काल सतर्क हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

एक–दुई दिनपछि केही सहज भए विभागले बसेर छलफल गर्ने अवस्थामा पुगेको उनले उल्लेख गरे ।

निर्देशक लुइँटेलले ढुवानी व्यवस्था कत्तिको सहजीकरण हुन्छ, त्यसले पनि बजार अनुगमनमा फरक पार्ने बताए । बजार अनुगमनले कालोबजारी रोक्ने र कृत्रिम अभावको समस्या समाधान गर्ने भए पनि यदि वस्तुको आपूर्तिमै समस्या भए त्यसले काम नगर्ने उनको भनाइ छ ।

खाद्यान्न अभाव र मूल्यवृद्धिको उच्च जोखिम

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले अहिलेको अवस्था नेपालका लागि अत्यन्त चुनौतीपूर्ण रहेको बताए ।

दशैँ, तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा मुलुकमा कामचलाउ सरकार, सरकारी संयन्त्रको निष्क्रियता र व्यापारी तथा नागरिक तहमा देखिएको लुटपाटले थप संकट निम्त्याउने उनको भनाइ छ ।

विशेषगरी गुणस्तर तथा नापतौल विभाग, यातायात व्यवस्था विभाग, सडक विभाग जस्ता प्रत्यक्ष सरोकार राखेर काम गर्नुपर्ने निकायहरू लगभग ध्वस्त अवस्थामा छन् । यी निकायको प्रणाली बिग्रिएकाले भविष्यमा कस्तो संयन्त्र बन्ने हो र शासन व्यवस्था कस्तो हुने हो भन्ने कुरामा अन्योल रहेको उनले स्पष्ट पारे ।

व्यापारी वर्गमा नकारात्मक असर र लुटपाट

तिमल्सिनाले व्यवसायी समूहका चौधरी ग्रुप, गोल्छा ग्रुप, भाटभटेनी जस्ता ठूला व्यापारिक प्रतिष्ठानमा आक्रमण भएर लगभग ध्वस्त भएको अवस्थामा व्यापारीहरूले कुन मनोबलका साथ सामान ल्याएर बजारमा बेच्ने हुन् भन्ने प्रश्न उठेको बताए ।

यी सबै व्यवसायीलाई ठूलो चोट परेको अवस्था रहेकाले भोलिको अवस्था नेपालीका लागि अत्यन्त भयावह हुन सक्ने उनको चिन्ता छ ।

यो अवस्थाले भोलिका दिनमा मुद्रास्फीति बढ्ने, बजारमा अराजकता बढ्ने र गैरकानुनी च्यानलहरू हावी हुने जोखिम रहेको तिमल्सिनाले औँल्याए ।

‘भोलिका दिनमा मूल्य, गुणस्तर, पहुँच र आपूर्ति सहजताका विषयमा नियमन गर्ने, अनुगमन गर्ने अवस्था कस्तो हुनेछ भन्ने कुरामा अहिले आकलन गर्न सकिँदैन,’ उनले भने ।

धेरै ठूलो मात्रामा क्षति भएको, नाकाबन्दी, कोभिड र १० वर्षे सशस्त्र द्वन्द्वभन्दा पनि बढी मात्रामा लगभग सबै क्षेत्र ध्वस्त भएको अवस्थामा व्यापारी–व्यवसायीले कुन मनोबलले बजारमा व्यवसाय गर्ने र सामान आयात गर्ने भन्ने प्रश्न गम्भीर बनेको उनले बताए ।

अन्डा आपूर्ति सुस्त, तर तत्काल अभाव नहुने

नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन पोखरेलका अनुसार हाल अन्डा आपूर्तिमा कुनै ठूलो समस्या छैन । उनले तत्काल अन्डा अभाव नहुने बताएका छन् ।

बजारमा अन्डाको मात्रा कम भए पनि तत्काल अभाव भने नहुने उनको भनाइ छ ।

मंगलबार लोड नभएको र बुधबारबाट फाट्टफुट्ट लोड सुरु भएको एवं  एक–दुई दिनभित्र अवस्था सामान्यमा फर्किने पोखरेलको अनुमान छ ।

यातायात बन्दका कारण अन्डा आपूर्तिमा कुनै असहजता नहुने उनले स्पष्ट पारे । उनका अनुसार कुखुरापालक संघका आफ्नै ढुवानीका साधनहरू उपलब्ध छन्, त्यसैले ढुवानीको काम भइरहेको छ । मासु आपूर्तिमा पनि यातायातका कारण समस्या नहुने उनले बताए ।

तत्काल फलफूल अभाव हुँदैन

नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँका अनुसार फलफूल आपूर्तिमा अहिले खासै समस्या छैन । भारतबाट आउने फलफूल आयात रोकिएको भए पनि नेपाली उत्पादनले माग धानिरहेको छ ।

विशेषगरी नेपाली केराको आपूर्ति सुचारु रहेको र बजारमा बिक्री भइरहेको उनले बताए । यसको अर्थ तत्काल फलफूल अभाव नहुने उनको भनाइ छ ।

स्याउजस्ता आयातित फलफूल आयात भने रोकिएको छ, जसले गर्दा बजारमा स्याउको उपलब्धता कम हुन सक्छ । अहिले स्याउ लगायत अन्य फलफूल कोल्ड स्टोरमा पनि रहेकाले तत्काल अभाव नहुने उनले स्पष्ट पारे । ‘आपूर्ति कम हुँदै गए मूल्य बढ्न सक्ला र अभाव नहोला भन्न सकिन्न,’ उनले भने ।

दूध अभाव छैन : नेपाल डेरी एसोसिएसन

नेपाल डेरी एसोसिएसनले दुग्धजन्य पदार्थ अभाव नहुने जनाएको छ । एसोसिएसन अध्यक्ष प्रह्लाद दाहालका अनुसार यातायातका साधन नचल्दा र बजार पूर्णरूपमा खुल्न नपाउँदा दूध बिक्री वितरणमा समस्या आएको छ ।

उनले काठमाडौं चक्रपथभित्र पसलहरू नखुल्दा सामान पुर्‍याउन गाह्रो भएको सुनाए । दैनिक अत्यावश्यक वस्तु व्यवस्थापनबारे छलफल गर्न बैठक बस्ने तयारी रहेको पनि उनले जानकारी दिए ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?