+
+
Shares

स्कुल ड्रेसका विद्यार्थीको रक्ताम्य शरीर दिमागमा घुमिरहन्छ

५-६ जना अति गम्भीर अवस्थाका- बेहोस, छाती, टाउको र शरीरका विभिन्न भागमा गोली लागेका, रगत लतपतिएका थिए । अस्पताल ल्याइएका दुई-तीनजनाको त मृत्यु भइसकेको थियो ।

डा. पवनकुमार हमाल डा. पवनकुमार हमाल
२०८२ भदौ २६ गते १४:३९

जेनजीको आन्दोलन हुँदैछ भन्ने सूचना पहिले नै व्यापक रूपमा फैलिएको थियो । हामी चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी मानसिक रूपमा सचेत र तयार थियौं ।

हामीले अनुमान गरिरहेका थियौं, आन्दोलनको क्रममा केही न केही घटना हुनसक्छ र धेरै बिरामीहरू एकैचोटि ट्रमा सेन्टरमा आइपुग्न सक्छन् । त्यसैले प्रारम्भिक छलफल पनि भएको थियो र हामी आपतकालीन तयारीका लागि स्ट्यान्डबाइ थियौं ।

सोमबार बिहान करिब १२-१ बजेसम्म आन्दोलन क्रमशः बढ्दै माइतीघरबाट नयाँ बानेश्वरतिर गइरहेको सूचनाहरू आइरहेका थिए । म त्यतिबेला आधा दिनको तालिममा थिएँ ।

तालिम सकेर फर्किने क्रममा नयाँ बानेश्वरमा गोली चलेको खबर पाएँ । तत्कालै म ट्रमा सेन्टर आइपुगेँ । त्यतिबेलासम्म अस्पतालका गेटहरू बन्द भइसकेका थिए, सुरक्षाकर्मीहरू तैनाथ भइसकेका थिए । र, अस्पताल भित्रको वातावरण तनावग्रस्त बनेको थियो ।

हामीले पहिले पनि भूकम्प, सवारी दुर्घटना जस्ता ठूला-ठूला प्रकोप, देखिसकेका थियौं । यो घटना भने पूर्णतः फरक थियो ।

कम्प वा दुर्घटनामा आउने चोट प्रायः बाह्य प्रकृतिका हड्डी भाँचिने, टाउकोमा चोट लाग्ने, शरीर खस्ने आदिमा केन्द्रित हुन्थें ।

यो अवस्था एकदम जटिल र घातक थियो किनभने धेरैजसो बिरामी गोली लागेर आएका थिए । गोलीले हुने चोटहरूमा बाहिर देखिने घाउभन्दा पनि भित्री रक्तस्राव र अंगहरूको क्षति बढी खतरनाक हुन्छ, जुन सुरुवाती अवस्थामै थाहा पाउन सकिँदैन ।

आकस्मिक व्यवस्थापन एक्कासि दर्जनौं बिरामी आइपुगे । कोहीलाई संसद् भवन अगाडिको सिभिल अस्पताल लगायतमा लगिएको । ट्रमा सेन्टरमा आइपुगेका धेरैजसो बिरामीहरू गम्भीर अवस्थामा थिए ।

आधिकारिक तथ्यांकअनुसार त्यसै समयमा दुई-तीनजना मृत्यु भइसकेका व्यक्तिलाई पनि ल्याइएको थियो । ५-६ जना अति गम्भीर अवस्थाका- बेहोस, छाती, टाउको र शरीरका विभिन्न भागमा गोली लागेका, रगतमा लतपतिएका थिए ।

त्यसबेला हाम्रो आकस्मिक कक्षमा नर्स, मेडिकल अफिसर र विभिन्न विभागका विशेषज्ञहरू सक्रिय भएर फ्रन्टलाइनमा जुटेका थियौं । विशेषगरी हामी एनेस्थेसियोलोजिस्ट टोली तुरुन्तै श्वासप्रश्वासको व्यस्थापन, रक्तचाप नियन्त्रण, शल्यक्रियामा तयारी र आईसीयूमा स्थानान्तरणका लागि जिम्मेवार थियौं ।

न्युरोलोजी, अर्थोपेडिक्स, जनरल सर्जरी लगायतका विभागहरूले पनि आपापसमा तालमेल गर्दै भूमिका खेले ।

गोली लागेका बिरामीहरूको उपचारमा सेकेन्डको महत्व हुन्छ । बिरामीलाई तुरुन्त सास फेर्न मद्दत गर्ने, रक्तस्राव नियन्त्रण गर्ने र आवश्यक परे तत्कालै शल्यकक्षमा लैजाने, यी सबै कार्यहरू क्षणभरमै गर्नुपर्ने हुन्छ ।

यति तयारी हुँदाहुँदै पनि एकैपटक धेरैजसो गम्भीर बिरामी आउँदा दबाब असाधारण थियो । केही बिरामीलाई ओछ्यान अभावले भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था पनि सिर्जना भयो ।

केही बिरामीहरूलाई हामीले तुरुन्त शल्यक्रिया गरेर बचाउन सफल भयौं। तर रक्तस्राव अत्यधिक भएकाले केहीलाई बचाउन सकिएन । यसरी मृत्युको सामना गर्नुपर्ने अवस्था चिकित्सकहरूको लागि पनि अत्यन्त पीडादायी हुन्छ । यो अनुभव मैले देखेका अन्य प्रकोपहरूभन्दा धेरै फरक र गहिरो असर पार्ने खालको थियो ।

गोलीको चोट बाहिर सामान्य देखिए पनि भित्र ठूलो क्षति भइसकेको हुन्छ । कुन अंग फुटेको छ, कुन रक्तनली च्यातिएको छ वा कुन अंगमा स्थायी क्षति पुगेको छ भन्ने कुरा शल्यक्रियापछि मात्र प्रष्ट हुन्छ ।

त्यो दिन अत्यन्त व्यस्त र तनावपूर्ण थियो । आपतकालीन कक्षमा किशोरकिशोरी, स्कुल ड्रेस लगाएका विद्यार्थीहरू समेत रक्ताम्य अवस्थामा ल्याइएका दृश्यहरू अझै दिमागमा घुमिरहन्छन् ।

बेलुका घर फर्केर सोच्दा ती युवाहरूको मृत्यु सम्झँदा गहिरो पीडा हुन्छ । कतिपय अवस्थामा, यदि बिरामी अलि छिटो ल्याइएकै भए बचाउन सकिन्थ्यो कि भनेर पश्चाताप मनभित्र हुन्छ ।

हाम्रो पेसा नै सेवा र उद्धार हो, तर हरेक प्रकोपले स्वास्थ्यकर्मीहरूको मानसपटलमा दीर्घकालीन छाप छाड्छ । हामी हरेक दिन यस्तै संकटसँग जुधिरहेका छौं, तर त्यो सोमबारको अनुभव चाहिँ सधैं स्मरणीय रहिरहनेछ ।

(डा. हमाल राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट हुन् । जेन-जी आन्दोलनका घाइतेको उपचारमा फ्रन्टलाइनमा खटिएका डा. हमालसँग अनलाइनखबरसकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित ।)

फोटो र भिडियो : शंकर गिरी /अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?