
News Summary
Generated by OK AI. Editorially reviewed.- जेन-जी पुस्ताले सामाजिक सञ्जाल प्रतिबन्ध र भष्ट्राचारविरुद्धको आन्दोलन रेडिट र डिस्कर्डमार्फत गत शुक्रबार घोषणा गरेको थियो।
- आन्दोलनको नेतृत्व कसले गर्ने र माग के हो भन्ने विषयमा अन्यौल छ र विभिन्न समूहहरूले आफ्नो अस्तित्व मात्र प्रवर्धन गरिरहेका छन्।
- सोमबार माइतीघरमा भएको आन्दोलन व्यवस्थापन गर्ने 'हामी नेपाल' समूहले नेतृत्व लिन सक्रिय भएको छ र ९८ हजारभन्दा बढी सदस्य छन्।
सामाजिक सञ्जाल प्रतिबन्ध र भष्ट्राचारविरुद्ध शान्तिपूर्ण गर्ने भनिएको आन्दोलन जेन-जी पुस्ताले रेडिट, डिस्कर्ड जस्ता वैकल्पिक सामाजिक सञ्जालमार्फत घोषणा गरेको थियो । उक्त आन्दोलन एकप्रकारले नेतृत्वविहीन नै बन्यो ।
यो आन्दोलन कसले (व्यक्ति/समूह) र कहिले घोषणा गर्यो, ठ्याक्कै भन्न गाह्रो छ । किनकि वैकल्पिक सामाजिक सञ्जालमार्फत आन्दोलनको घोषणा भयो र कोही पनि व्यक्ति/समूह अगाडि देखिएनन् ।
यद्यपि, यो आन्दोलनको घोषणा गत शुक्रबार दिनभरसम्ममा रेडिटमा भाइरल भइसकेको थियो । आन्दोलनको घोषणाबारे शुक्रबार साँझ नै अनलाइनखबरले समाचार समेत प्रकाशन गरेको थियो ।
उक्त दिन टिकटक, फेसबुक, इन्स्टाग्राम जस्ता तुलनात्मक रूपमा नेपालमा बढी चलाइने प्लेटफर्ममा आन्दोलन गरिने खबर धेरै फैलिएको थिएन । रेडिटमा भने नेपाल सोसल, नेपाल जस्ता कम्युनिटीमा ८ सेप्टेम्बरमा भष्ट्राचारविरुद्ध जेन-जी पुस्ताले देशव्यापी प्रदर्शन गर्ने खबर फैलिसकेको थियो।
अहिले आउँदा के त्यो आन्दोलनको घोषणा खास जेनजीले नै गरेका थिए भनेर सोच्नु पर्ने अवस्था आएको देखिन्छ । कारण, जजसले सबैभन्दा सुरुमा त्यो आन्दोलनबारे सञ्जालमा पोस्ट गरे, शेयर गरे, ती सबै अहिले मौन र अदृश्य जस्ता छन्।
यसरी कोही पनि दृश्यमा नआउँदा कुनै राजनीतिक स्बार्थ समूहले कतै ‘जेनजी कार्ड’ फालेका त थिएनन्? भनेर सोच्नुपर्ने बाध्यता पनि आएको छ । किनकि यहाँ विविध कारण निरास, हतास एउटा पुस्ताको नाम लिइँदै आइएको थियो, जुन अमूर्त बराबर छ।
यी प्रश्नको उत्तर समयले देला । तर ८ सेम्प्टेम्बर बिहानको ९ बजे काठमाडौंमा संसद भवनअघि, पोखरामा सभाहलअघि र अन्य शहरहरूमा विभिन्न सरकारी कार्यालयअघि प्रदर्शन गर्ने व्यहोरा उल्लेख गरिएका ग्राफिक्सहरू गत शुक्रबारदेखि रेडिट, डिस्कर्डतिर छाइसकेको थियो ।
सञ्जालमा डिजिटल आर्काइभिङ वा कन्टेन्ट माइनिङ (पुराना पोस्टहरू खोज्दै जाने प्रक्रिया) गर्दै जाँदा यस प्रकृतिका पोस्टहरू नयाँ अकाउन्टबाट शेयर गरिएको पाइयो । अनि त्यस्ता पोस्ट गरिएका केही अकाउन्ट डिलिट भएको पनि भेटियो ।

त्यससँगै शुक्रबार नै रेडिटमा आईएनआरजी नामक समूह देखा परेको थियो । यो समूहले पनि ग्राफिक्स बनाएर उही प्रकृतिको आन्दोलन गर्न आह्वान गरिरहेको थियो । त्यसका साथै त्यहाँ डिस्कर्ड लिङ्क पनि राखिएको थियो।
त्यो लिङ्कमार्फत डिस्कर्डमा जोडिंदा ‘युवा हब’ नामक कम्युनिटी भेटियो । त्यहाँ शुक्रबार नै करिब १५०० सदस्य जोडिइसकेका थिए । अहिले करिब ६ हजार सदस्य भएको यो ग्रुपको नाम परिवर्तन गरेर ‘जेनजी जेड नेपाल’ राखिएको छ भने आईएनआरजी नामक समूह लापता जस्तै छ।
यसरी ग्रुपहरू खोलिए पनि ती प्लेटफर्ममा यो आन्दोलनलाई नेतृत्व कसले गर्ने र माग के हो भन्ने प्रश्नहरू आइरहेका थिए । उत्तरमा कसैले पनि नेतृत्व नगर्ने र माग भष्ट्राचार भएको भेटिन्थे । विशेषत: सामाजिक सञ्जाल प्रतिबन्ध र नेपो बेबी ट्रेन्ड प्रमुख कारण थिए।
विस्तारै केही सञ्चारमाध्यम र हजारौं फलोअर्स भएका पेजहरूमार्फत ८ सेप्टेम्बरमा जेनजीले आन्दोलन गर्ने खबर फैलन थाल्यो । जुन खबर फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता धेरै नेपाली प्रयोगकर्ता भएको सामाजिक सञ्जालतिर फैलियो।
पङ्क्तिकारको मूल्याङ्कनमा यस्तो खबर लिङ्कडिन र एक्समा केही कम थियो । शनिबार र आइतबारसम्म पुग्दा त विभिन्न राजनीतिज्ञ, सामाजिक अभियन्ता, सेलिब्रेटीहरूले त्यस खबरलाई व्यापक फैलाए।
विशेषत: ‘पहिलो पटक नेतृत्वबिना, स्वस्फूर्त आन्दोलन हुनेछ’ भनेर यो खबर जताततै फैलिरहेको थियो । शनिबार दिनभरसम्ममा यो खबर डँडेलो जसरी फैलिएको थियो । जसमा धेरैले जेनजीको आन्दोलनलाई समर्थन गरिरहेका थिए भने कतिपयले आन्दोलन नहुनेमा शंका देखाइरहेका थिए।
त्यसरी फैलनुमा कारण भने सरकारप्रति नागरिकको बढ्दो निराशा नै हो। त्यस्तोमा शनिबार साँझ खबर आयो – सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच जना बानेश्वरबाट पक्राउ परे।
आइतबार दिउँसोसम्म पनि आन्दोलन कसले नेतृत्व गर्छ, अन्यौल नै थियो । त्यही दिन अर्को खबर आयो – जेनजीको आन्दोलनमा दुर्गा प्रसाईं मिसिने । तर ती प्लेटफर्महरूमा तत्काल त्यसको विरोध भएको देखियो।
उनीहरूलाई प्रहरीले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडिबाट प्रहरी पक्राउ गरेको थियो । उनीहरू ‘युथ कंग्रेस नेपाल’ का सदस्य थिए । र, यही संस्थाले त्यो दिनको प्रदर्शन आयोजना गरेको थियो ।
तर जेनजी आन्दोलनको पहिलो मुख्य टर्निङ यही बन्यो । कारण – शनिबार साँझसम्ममा यो खबर रेडिट, डिस्कर्डमा व्यापक फैलिएको थियो । त्यसबेलासम्म सञ्जालमा पहिचान लुकाएर सडकमा आन्दोलन गर्ने भनिरहेकाहरूले त्यस समाचारलाई व्यापक शेयर गरिरहेका थिए।
एक त सामाजिक सञ्जाल प्रतिबन्ध, अर्को त्यसको प्रतिवादमा उत्रिएकालाई पक्राउ – आन्दोलन गर्ने भनेकाहरूलाई त्यो घटना आगोमा घिउ बन्यो। यहीबीचमा केही मान्छेहरूले जेनजीहरूलाई नकारात्मक टिप्पणी गरिरहेका थिए। जसमध्ये प्रमुखमा थिए – विवेक थपलिया । उनको टिप्पणीलाई लिएर पनि गुपचुप तरिकाले आन्दोलन गर्नुपर्छ भनिरहेकाहरूमा आक्रोश थपिरहेको सञ्जाल चहार्दा अनुभव गर्न सकिन्छ।
अर्कोतर्फ आइतबार दिउँसोसम्म पनि आन्दोलन कसले नेतृत्व गर्छ, अन्यौल नै थियो । त्यही दिन अर्को खबर आयो – जेनजीको आन्दोलनमा दुर्गा प्रसाईं मिसिने । तर ती प्लेटफर्महरूमा तत्काल त्यसको विरोध भएको देखियो।
त्यस्तैमा केही जेनजी त उनलाई घरमै भेट्न गएको खबर पनि बाहिरियो । र, क्षणभरमा नै उनी आन्दोलनमा सहभागी नहुने समाचार आयो। तर प्रसाईंलाई भेट्नेहरू आन्दोलनको अगुवा नभएको प्लेटफर्महरूमा व्यापक चर्चा थियो।
केही सञ्चारमाध्यमहरूले केही व्यक्तिहरूलाई जेनजी आन्दोलनको नेतृत्वकर्ता भनेर उल्लेख गर्न थालेपछि त्यसको पनि विरोध भइरहेको थियो । कसैले जेनजी आन्दोलनबारे अलि नेतृत्वदायी भूमिका खेल्ने गरी केही भने/गरे भने अरूहरूले नमान्ने र त्यसको विरोध गर्ने अवस्था थियो।
त्यहीँ अन्यौलताबीच आन्दोलनलाई नेतृत्व गर्नेगरी औपचारिक रूपमा ‘जेनजी नेपाल’ नामक समूह देखा पर्यो । इन्स्टाग्राम, फेसबुकमा पेज खोलिएको त्यो समूहलाई केहीले आधिकारिक मानिरहेका थिए भने केहीले अस्वीकार गरिरहेका थिए । अनि यो पङ्क्ति लेखिरहँदा अझै पनि इन्स्टाग्राममा उक्त अकाउन्ट ‘न्यू’ भनेर नै देखिन्छ।
सोमबार साँझ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निकालेको विज्ञप्तिमा पनि यही समूहको घोषणालाई उद्धृत गरिएको छ।

तर, डिस्कर्डमा जेनजी नेपाल, द रिभोलुसन, जेनजी स्पिक्स, जेन-जी मुभमेन्ट नेपाल लगायतका अन्य समूह छन् भने भाइबरमा नयाँ नेपाल नेटवर्क, न्यु युथ जेनेरेसन भाइबर जस्ता समूह छन् । टेलिग्राम, मेसेन्जर, इन्स्टाग्राम, ह्वाट्सएपमा त ससाना समूह कतिकति !
यी सबैले जेनजी आन्दोलनको नेतृत्व गरिरहेको दाबी गर्छन् । तर उनीहरूमध्ये कसैले पनि एकले अर्काको अस्तित्व स्वीकार गरिरहेका छैनन् । सबैले आफ्नो समूहलाई मात्र हेरिरहेको, प्रवर्धन गर्न कोसिस गरिरहेका छन्।
आइतबार साँझसम्ममा खोलिएका ती सबै समूहलाई एकीकृत गर्न भने देखिएरै अगाडि आएको ‘हामी नेपाल’ हो । यसको डिस्कर्डमा ‘युथ अगेन्स्ट करप्सन’ भन्ने समूह छ । हामी नेपालको इन्स्टाग्राममा संस्थाका संस्थापक सुदन गुरुङले आन्दोलनमा सञ्चार गर्ने एउटा एकीकृत ठाउँ चाहिन्छ भनेर भिडिओ बनाइरहँदा आन्दोलनकारीहरूलाई ‘तिमीहरू’ सम्बोधन गरेका थिए।
उक्त समूहले आफूलाई आन्दोलनको आयोजक नभएको तर व्यवस्थापकको रूपमा प्रस्तुत गर्दै आइरहेको छ ।यही समूहले गत सोमबार बिहान ९ बजेदेखि माइतीघरमा भएको आन्दोलनलाई व्यवस्थित गर्ने काम गरेको थियो । भलै त्यो दिन १९ जनाको मृत्यु भएपछि यो समूहले मङ्गलबार शान्तिपूर्ण आन्दोलन गर्ने भनेको थियो।
पछिल्लो घटनाक्रमपछि भने यो समूह नेतृत्व लिन सक्रिय भइरहेको जस्तो देखिन्छ । अहिले ९८ हजार बढी सदस्य भएको (यो संख्या निरन्तर बढिरहेको छ) यो समूहको भर्चुअल मिटिङ हाल सञ्जालमा व्यापक भाइरल पनि भइरहेको छ । जहाँ जेनजीको तर्फबाट कसले सेनाप्रमुख र राष्ट्रपतिसँग कुरा गर्छ भन्नेबारे बहस भइरहेको छ।
यी बाहेक पोखरा, हेटौंडा, धरान, चितवन, झापा जस्ता काठमाडौं बाहिरका शहरहरूमा आन्दोलन गर्न फरकफरक डिस्कर्ड समूह तथा पेज बनाइएको थियो। त्यस्तै जेनजी आन्दोलनलाई स्वतन्त्र तरिकाले सहयोग गर्न विभिन्न गोफन्डमी अभियान पनि चलाइएको थियो।
जसमध्ये अहिले अभियान क्षेत्रीले चलाएको एड फोर जेनजी नेपालमा अहिलेसम्म ५३ हजार ६४ अष्ट्रेलियन डलर, नेपाल्ज जेनजी प्रोटेस्टर्स: एड फर इनर्ड एन्ड डिजिजमा ५ हजार ६२१ अस्ट्रेलियन डलर र इमर्जेन्सी रिलिफ फन्ड फर नेपाल्ज जेनजी मुभमेन्टमा ५३७ अस्ट्रेलियन डलर उठिसकेको छ।
घाइतेहरूको सम्पूर्ण उपचार सरकारले गर्ने भनिरहँदा उठेका ती फन्ड के गर्ने भनेर थप केही बताइएको छैन।
थप बढ्दै अन्यौल
दुई दिनको आन्दोलनको बीचमा सामाजिक सञ्जालमा जेन-जी आन्दोलनको नाममा नयाँ अकाउन्ट खोल्ने तथा पुराना अकाउन्ट/पेज/ग्रुपहरूको नाम परिवर्तन गर्ने ट्रेन्ड देखिएको छ । जुन बढी फेसबुकमा छ।
उदाहरणका लागि, पछिल्लो पटक नेपाल कम्प्युनिष्ट पार्टी एमाले भएको ग्रुपको नाम अहिले gen-z युवा समूह नेपाल (जेन्जी) राखिएको छ । यसमा २ लाख ३२ हजार बढी सदस्य छन्।
१ लाख ८४ हजार फलोअर्स भएको मिम पानाको नाम अहिले जेनजी नेपाल राखिएको छ। पटक पटक नाम परिवर्तन गरेर पछिल्लो समय ‘राजतन्त्र-हाम्रो आस्था र भरोसा’ राखिएको ग्रुपको नाम अहिले जेनजी नेपाल राखिएको छ।
यी केही प्रतिनिधि उदाहरण हुन् । यिनीहरूले आम नागरिकहरूलाई मिथ्या, भ्रामक र आधारहीन सूचना फैलाउन ठूलो भूमिका खेलिरहेको छ ।
त्यस्तै थुप्रै मान्छेले सीमित जेनजी ग्रुपको कुरा सुनेर आफ्नो विचार बनाइरहेको पनि पाइएको छ । जसलाई भित्रभित्रै अरू समूहहरूले प्रतिवाद गर्ने बताइरहेको देख्न सकिन्छ।
एकातिर विगतका आन्दोलनहरूमा जस्तै नेतृत्व गर्ने स्पष्ट व्यक्ति वा समूहको अभाव, अर्कोतिर जेन-जी भनिएका समूहहरूले एकअर्काको कुरा नमान्नु, यी नै हालको जेन-जी आन्दोलनका प्रमुख समस्या बनेका छन्। यही कारण राष्ट्रपति र सेनाले वार्ताका लागि बोलाउँदा पनि सबै जेन-जी समूहहरू अन्यौलमा परेका हुन् भन्ने बुझ्न गाह्रो छैन।
घटनाक्रमलाई नियाल्दा, आन्दोलनको सुरुवाती चरणमै घोषणा गर्नेहरूले पारदर्शी रूपमा नेतृत्व नलिनु र जेन-जीको ठूलो जमातलाई एकैतरिकाले सम्बोधन गर्नु वर्तमान अन्यौलताका कारण बनेको देखिन्छ ।
मूर्त नेतृत्वविहीन अवस्थामा ठूलो समूह आन्दोलनमा होमिंदा जेन-जी आन्दोलन क्रमशः अमूर्त र शंकास्पद बन्दै गएको छ।
प्रतिक्रिया 4