
२६ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालै देशभरि भएको आन्दोलन क्रममा जनधनमा भएको ठूलो क्षतिप्रति दु:ख व्यक्त गरेको छ ।
आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै चेम्बरले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
आन्दोलन क्रममा औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति भएको उल्लेख गर्दै चेम्बरले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा सम्वाद, सहकार्य र संयमता अपनाउन सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।
भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संयन्त्रको पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको सहज पहुँचजस्ता जेनजीले उठाएका विषयलाई सबै सरोकारवालाले गम्भीरतापूर्वक लिनुपर्ने आजको आवश्यकता रहेको देखिएको चेम्बरले औँल्याएको छ ।
आन्दोलनमा भएको जनधनको ठूलो क्षतिले देशमा थप निराशा फैलाउने, औद्योगिक तथा व्यावसायिक वातावरण खल्बलाउने र लगानीमैत्री वातावरणमा प्रतिकूल असर पार्ने भएकाले सबै सरोकारवाला पक्ष संयमित बनेर निकास खोज्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।
आगामी दिनमा यस्ता खाले घटना दोहोरिन नदिन सरोकारवाला पक्ष र जेनजी युवालाई संवाद र रचनात्मक सहकार्य मार्फत दीर्घकालीन समाधान खोज्न चेम्बरले आह्वान गरेको छ । साथै, मुलुकको समग्र विकासमा सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा समेत चेम्बरले व्यक्त गरेको छ ।
प्रतिक्रिया 4