
News Summary
Generated by OK AI. Editorially reviewed.- जेन जी आन्दोलनमा विभिन्न स्वार्थ समूहले हिंसा र विध्वंस मच्चाएको उनीहरूले आरोप लगाएका छन्।
- प्रदर्शनका बेला दुई सैनिकलाई बालकले प्रेमपूर्वक पानी दिएको मर्मस्पर्शी दृश्य देखियो।
- स्वतस्फूर्त युवाहरूले आन्दोलनपछि शहर सरसफाइमा सक्रिय भूमिका खेलेका थिए।
जेन जी आन्दोलन उत्कर्षमा पुग्दै गर्दाको धेरै दृश्य हेर्नै नसकिने खालका थिए । बर्बर, विध्वंस र हृदयविदारक । आफूहरूको उद्देश्य त्यस्तो नरहेको आन्दोलनहरू बताइरहेका छन् । विभिन्न स्वार्थ समूहहरू घुसेर आन्दोलनलाई उग्र बनाउँदै तोड्ने, जलाउने, लुटपाट गर्ने गरेको उनीहरूको आरोप छ ।
हेर्दाहेर्दै यस्तो भयो, मानौं यो कुनै एक्सन थ्रिलर सिनेमाको क्लाइमेक्स हो । जहाँ सबैकुरा भताभङ्ग भएका छन्, लथालिङ्ग भएका छन् । मारकाट मच्चिएको छ ।
सबैलाई स्तब्ध बनाउने गरी भएको यो तमासामा पनि केही यस्ता दृश्य देखिए, जो वास्तवमै मर्मस्पर्शी थियो ।
ड्युटीमा खटिएका दुई सैनिक, जो बन्दुक बोकेर सडकमा उभिएका छन् । एक साना बालक उनीहरू भएतिर बढ्छन् । उनको हातमा पानीको बोतल देखिन्छ । बालकले सैनिकलाई प्रेमपूर्वक पानी दिन्छन् ।
प्रतिकूल अवस्थामा एक आर्मी जवानले खाना र पानी त के दिसापिसाब गर्न पनि पाउँदैनन् । तिर्खा लाग्छ नै, भोक लाग्छ नै । त्यस क्षण कसैले आफ्नो मर्मलाई बुझेर प्यास मेट्नका लागि पानी ल्याइदिए कस्तो हुन्छ होला ? निसन्देह : सैनिकको मन हार्दिकताले पग्लन्छ ।
यो उनीहरुको भावको कुरा हो, जुन भिडियो वा तस्विरमा देखिदैन । यद्यपि महसुस गर्न सकिन्छ ।
त्यसो त जेन जीले जुन दिन माइतीघरमा प्रदर्शन गर्ने भनी तयारी गरिरहेका थिए, त्यसबेला यस्तै हार्दिकतापूर्ण सुरुवात गर्ने योजना थियो । सुरक्षामा खटिएका प्रहरीलाई पुष्पगुच्छा दिने, सहयोगका लागि कृतज्ञता प्रकट गर्ने जस्ता कुरा सामाजिक सञ्जालमा व्यापक बनाइएको थियो । प्रहरी पनि हाम्रा आमाबुबा जस्तै हुन् र उनीहरूलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश भित्रभित्रै सम्प्रेषण गरिएको थियो ।
तर, नजिता उस्तै रहेन । जेन जीको आन्दोलनमा विभिन्न स्वार्थ समूहहरु पसेर उत्पात मच्याउन थालेपछि प्रहरीहरू निशानामा परे । कतिले ज्यान नै गुमाउनु पर्यो ।
त्यो असहज क्षणमा पनि कतिपय दृश्य मर्मस्पर्शी देखिए । जस्तो कि, एक जलिरहेको घरबाट प्रदर्शनकारी कुकुरको उद्वार गरे। आगोको राप र धुँवाको मुस्लोबाट दोस्रो तलामा थुनिएको कुकुरलाई उनीहरू स्नेहपूर्वक उद्वार गरे ।
कतिपय घर–भवन जलाइरहँदा फसेका कुकुहरूलाई प्रदर्शनकारीले बचाएको, सुरक्षित स्थानमा सारेको दृश्य मर्मस्पशी थियो । यसैगरी घाइते प्रहरीलाई प्रदर्शनकारीले सुरक्षा दिइरहेको दृश्यहरू पनि देखिए । आक्रोशित भीडबाट जोगाएर घाइतेलाई सुरक्षा दिनु निकै जोखिमपूर्ण थियो । यद्यपि उनीहरूले जोखिम मोलेरै उपकारी कर्म गरे ।
आन्दोलन अनियन्त्रित भएर हिंसा भड्किएपछि धेरै भवन भग्नावशेष भए । सडकमा खरानीको थुप्रो लाग्यो । जलेका गाडीदेखि उखेलिएका बोट बिरुवाले शहर नै कुरुप थियो । प्रदर्शनको तेस्रो दिन यस्तै कुरुप शहर सफा गरिरहेको सुन्दर दृश्यहरु देखिए ।
कुनै संस्थाले होइन, कुनै समूहले होइन । स्वतस्फूर्त युवाहरुले यसरी सरसफाइको काम गरे । उनीहरू झाडु, बेल्चा, बोरा लिएर सडकमा उत्रिए र सरसफाइमा लागे ।
त्यसो त आन्दोलनको बेला सुरक्षाकर्मी, प्रदर्शनकारी र घाइतेका लागि खाना पानी दिइरहेको दृश्य पनि देखिए ।
काठमाडौं महानगरपालिकाले प्रदर्शनको पहिलो दिन घुम्ती शौचालयको मात्र व्यवस्था गरेन आन्दोलन भड्किएर घाइतेहरुले अस्पताल भरिन थालेपछि उनीहरूको स्यहारसुसारमा पनि कर्मचारी खटाइदियो । यस्तै स्वतन्त्र रुपमा सामाजिक कामहरु गरिररहेकी आशिका तामाङले पनि खाजा पानी बाढ्नेदेखि बिरामीलाई स्यहारसुसार गर्ने काम गरे ।
घुसपैठ भएपछि आन्दोलन स्वत हिंसामा रुपान्तरण भएको थियो । र, त्यसले कतिको ज्यान लियो, कति संरचना खरानी बनाइदियो । त्यस्तो क्षणमा पनि देखिएका केही दृश्य भने मन पगाल्ने खालको थियो ।
प्रतिक्रिया 4