+
+
Shares

मृतकका आफन्त भन्छन्- छाेराछोरीलाई गोली हानेर मारियो, पोस्टमार्टम गर्न दिँन्नाैं

मृतकका आफन्त भन्छन्- ‘पोस्टमार्टम के लागि गर्ने हो ? मृत्युको कारण पत्ता लगाउन हो । प्रहरीको गोली हानेर मारेको थाहा हुदाँहुँदै किन पोस्टमार्टम गर्नु ।’

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ भदौ २७ गते १२:१२

२७ भदौ, काठमाडौं । जेन-जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूका आफन्तले पोस्टमार्टम गर्न नदिने बताएका छन् ।

गत सोमबार र मंगलबार भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका मृतकका आफन्तले शव पोस्टमार्टम गर्न नदिने बताएका हुन् ।

आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । तीमध्ये २० भन्दा बढी शव टिचिङ हस्पिटलको पोस्टमार्टम ब्लकमा राखिएको छ । त्यहाँ राखिएका मृतकका आफन्तहरूले पोष्टमार्टम गर्न नदिने बताएका हुन् ।

पहिलो दिन सुरुमै नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर मृत्यु भएका रसिक खतिवडाकी आमा रचना खतिवडाले आफ्नो छोराको पोस्टमार्टम गर्न नदिने बताइन् ।

‘हाम्रो छोराको छातीमा गोली हानेर मारिएको छ । मृत्युको कारण प्रहरीको गोली हो भन्ने थाहा हुँदाहुँदै मेरो छोरालाई चिर्न दिँदैनौं,’ रचनाले भनिन् ।

नयाँ बानेश्वरमा भएको पहिलो दिनको प्रदर्शनका क्रममा रसिकको छाती र कोखामा १-१ गोली लागेको थियो । उनको मृत्युपछि शव कहाँ राखिएको छ भनेर थाहा नपाएको रचनाको भनाइ छ ।

छोरालाई अहिलेसम्म एक थप्पड समेत नहानेर पालेको बताउँदै राज्यले ताकी-ताकी छातीमा गोली हानेर हत्या गरेको बताइन् ।

‘अहिलेसम्म एक थप्पड पनि नखाएको मेरो छोरालाई प्रहरीका गुण्डाहरूले ताकेरै छातीमा गोली हानेर मारेका छन् । यो राज्यले गरेको जघन्य अपराध हो । यसका दोषीलाई हदैसम्मको कारबाही हुनुपर्छ,’ आक्रोशित हुँदै रचनाले भनिन् ।

एक मात्रै छोराकी आमा रचना छोराको निधनपछि दुई दिनसम्म अचेत बनेकी थिइन् । उनले आफ्नो छोराको शरीरमा चिर्न नदिने बताउँदै चिरेको खण्डमा छोराको शव नबुझ्ने चेतावनी दिइन् ।

बानेश्वरमै गोली लागेर मृत्यु भएका सन्तोष विकका दाइ भोलाबहादुर थापाले समेत आफ्नो भाइको पोस्टमार्टम गर्न नदिने बताए । ‘पोस्टमार्टम के लागि गर्ने हो ? मृत्युको कारण पत्ता लगाउन हो । प्रहरीको गोली हानेर मारेको थाहा हुदाँहुँदै किन पोस्टमार्टम गर्नु,’ भोलाले भने ।

आफ्नो भाइको गोली लागेर मारिएको अवस्थामा १०-१२ वटा हस्पिटल चहार्दाचहार्दै बल्ल ट्रमा सेन्टरमा रहेको पत्ता लागेको उनको भनाइ छ ।

पहिलो दिन नै बानेश्वरमा गोली लागेर मृत्यु भएका धनगढीका गौरव जोशीका मामा शिशिर भट्टले पनि आफ्नो भान्जाको पोस्टमार्टम गर्न नदिने बताए । मृत्युको कारण थाहा भएको अवस्थामा पोस्टमार्टम गर्न नदिने उनको भनाइ छ ।

उनले सबै मृतकका आफन्तहरू एकजुट भएर पोस्टमार्टम गर्न नदिने पक्षमा रहेको बताए । मृतकका आफन्तहरूले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिनुपर्ने माग अघि सारेका छन् ।

त्यस्तै मृतकलाई शहीद घोषणा गर्दै उचित क्षतिपूर्तिसहितका विभिन्न मागहरू अघि सारेका छन् । अन्तरिम सरकार गठनका लागि भइरहेका छलफलमा आफूहरूको प्रतिनिधित्व हुनुपर्ने समेत उनीहरूको माग छ ।

बानेश्वरमै गोली लागेर मृत्यु भएका नेपालगञ्जका १९ वर्षीय आयुश थापाका बुबा सुशीले थापाले पनि छोराको पोस्टमार्टम गर्न नदिने बताए । ‘प्रहरीले गोली हानेर मारेको भन्ने थाहा हुँदाहुँदै किन पोस्टमार्टम गर्नु ? पोस्टमार्टम गर्नतिर होइन, राष्ट्रिय सम्मान गर्नतिर लागौं,’ सुशीलले भने ।

मृतकका आफन्तहरूको सहमतिमा मात्रै पोस्टमार्टम गर्ने वा नगर्ने भन्ने निर्णयमा पुगिने टिचिङ अस्पतालले जनाएको छ । मृतकका आफन्तहरूको स्वीकृति लिएर मात्रै पोस्टमार्टम गरिने र नचाहेको खण्डमा नगर्ने अस्पतालले जनाएको हो ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?