
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिंहदरबारभित्र शतप्रतिशत क्षति पुगेको मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूले प्रारम्भिक अध्ययनबाट देखाएका छन्।
- अर्थ सचिव घनश्याम उपाध्यायका अनुसार शिक्षा, गृह, स्वास्थ्य मन्त्रालयमा समेत शतप्रतिशत क्षति देखिएको छ भने अन्य मन्त्रालयमा आंशिक क्षति छ।
- सिंहदरबारभित्र क्षतिको रकम तत्काल गणना गर्न नसकिने भए पनि मन्त्रालयहरूले विवरण संकलन सुरु गरेका छन् र नयाँ प्रधानमन्त्रीका लागि कार्यालय व्यवस्थापन तयारीमा सचिवहरू जुटेका छन्।
२७ भदौ, काठमाडौं।देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा करिब शतप्रतिशत क्षति पुगेको पाइएको छ ।
मुख्यसचिव एकनारायण अर्यालसहित नेपाल सरकारका सचिवहरूले गरेको प्रारम्भिक अध्ययनबाट यस्तो देखिएको हो । स्थलगत अध्ययन गरी फर्किएका अर्थ सचिव घनश्याम उपाध्यायका अनुसार मन्त्रालयमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय र गृह मन्त्रालयमा शतप्रतिशत क्षति देखिएको छ । सिंहदरबार बाहिर रहेको एकमात्र मन्त्रालय स्वास्थ्यमा समेत शतप्रतिशत क्षति भएको छ ।
अन्य मन्त्रालयमा भने आंशिक क्षति देखिएको छ । अर्थ मन्त्रालयको तल्लो तला, बाहिरको टहरा र गाडीहरूमा क्षति पुर्याएको पाइएको छ ।
‘सिंहदरबारभित्र क्षति नगरेको भवन भेट्न मुस्किल छ,’ उनले भने, ‘तर, सबैभन्दा कामै नलाग्ने गरी तीन मन्त्रालयमा क्षति पुगेको देखियो।’
सिंहदरबारभित्रको क्षतिलाई रकममा भने तत्काल गणना गर्न सक्ने अवस्था नै नदेखिएको उनी बताउँछन् । यद्यपि, क्षतिको विवरण संकलनको काम मन्त्रालयहरूले थालेका छन् ।
नयाँ प्रधानमन्त्रीलाई सिंहदरबार भित्रै कार्यालय व्यवस्थापन मिलाउने तयारीमा समेत सचिवहरू जुटेका छन् । त्यसमध्ये सबैभन्दा सद्दे रहेका विभिन्न भवनको विकल्पमा आज छलफल भएको सचिव उपाध्यायले जानकारी दिए।
सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनको दोस्रो दिन आन्दोलनकारीको निसानामा सरकारी भवन र कार्यालय परेका हुन् । त्यसमध्ये सिंहदरबारमा अहिलेसम्मकै भयानक क्षति पुगेको छ ।
मुख्यसचिव अर्यालले कतिपय काम अनलाइनबाटै सुरु गरिसकेको जानकारी गराए । कर संकलन, राहदानी, वैदेशिक रोजगार, अध्यागमन विभागका काम अनलाइनबाटै थालिएको उनले जानकारी दिए । खानेपानी, विद्युत्, टेलिफोनका सेवा, आपूर्ति सहजीकरणलाई ध्यान दिइएको उनले बताए । नयाँ सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको समेत उनले बताए ।
प्रतिक्रिया 4