
News Summary
Generated by OK AI. Editorially reviewed.- गत मंगलबारको आगजनीमा बालुवाटारस्थित प्रधानमन्त्री निवासको ३ नम्बर मूल गेट, सवारीसाधन र भवनहरूमा क्षति पुगेको छ।
- प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार राति शपथ ग्रहणपछि बालुवाटारस्थित सरकारी निवासमा बस्न सुरु गरेकी छन्।
- प्रधानमन्त्री कार्कीले शनिबार बालुवाटारस्थित सरकारी निवासबाट सरकारी अधिकारी र सरोकारवालासँग भेटघाट र परामर्श गरेकी थिइन्।
२९ भदौ, काठमाडौं । गत मंगलबारको आगजनीले बालुवाटारस्थित प्रधानमन्त्री निवास पनि जोगिन सकेन । प्रदर्शनकारीले प्रधानमन्त्री निवासभित्र प्रवेश गरेर सवारीसाधनमा आगजनी र भवनहरू तोडफोड गरे ।
सुरक्षा स्रोतका अनुसार, बालुवाटार सडकबाट प्रधानमन्त्री निवास छिर्ने ३ नम्बर मूल गेट, त्यहाँभित्रका सवारीसाधन र भवनहरूमा क्षति पुगेको छ ।
भवनका सिसा फुटेका छन् भने सुरक्षाकर्मी बस्ने ब्यारेकहरूमा क्षति पुगेको छ । सुरक्षाकर्मीका केही सवारीसाधन पनि जलेका छन् ।
बालुवाटार प्रधानमन्त्री निवासमा सुरक्षाकर्मीहरूको बाहिरी घेरापछि भित्री तहमा अर्को घेरा पनि छ । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको सुरक्षा घेराभित्रको दोस्रो तहको घेराभित्र प्रधानमन्त्रीको निवास छ ।
केही वर्षअघि मात्रै निर्माण भएको सुविधासम्पन्न भवन र त्यसको परिसरमा प्रदर्शनकारी पस्न नपाएकाले कुनै क्षति पुगेको छैन ।
प्रधानमन्त्री सुशीला कार्की शुक्रबार राति शपथ ग्रहणपछि सरकारी निवासमा बस्दै आएकी छन् । उनले टोखास्थित निजी निवासमा बस्ने इच्छा भए पनि सामान्य रूपमा बनाइएको घरमा सुरक्षाकर्मी र सचिवालयका अरू कर्मचारीहरू अट्नै नसक्ने अवस्था भएपछि उनी तत्काल बालुवाटारमा सरेकी हुन् ।
आइतबार बिहान सिंहदरबारमा खडा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण नगरुञ्जेल प्रधानमन्त्री कार्कीले शनिबार दिनभर बालुवाटारस्थिति सरकारी निवासबाट नै सरकारी अधिकारी एवं सरोकारवालाहरूसँग भेटघाट र परामर्श गरेकी थिइन् ।
प्रतिक्रिया 4