+
+
Shares

खाडी मुलुकमा किन रोकियो कोशेढुंगाको प्रदर्शन ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘कोशेढुंगा’ दोस्रो सातादेखि व्यापार बढाउँदै गएको थियो तर जेन जी आन्दोलनले प्रदर्शन रोकियो।
  • निर्देशक सरोज पौडेलले भोलि सोमबारदेखि देशभर फिल्म पुनः प्रदर्शनमा आउने जानकारी दिनुभयो।
  • मध्यपूर्वमा ‘कोशेढुंगा’ सेन्सरका कारण प्रदर्शन रोकिएको छ र निर्माणपक्षले ‘ब्लड मनी’ कथावस्तु कारण हुनसक्ने बताएको छ।

काठमाडौं । सबैकुरा ठिकठाक हुँदो हो त फिल्म ‘कोशेढुंगा’को प्रदर्शन तेस्रो हप्तामा उक्लिसकेको हुन्थ्यो । निर्देशक सरोज पौडेलको यो फिल्मले दोस्रो साताबाट व्यापारको आँकडा बढाउँदै लगेको थियो । ‘वर्ड अफ माउथ’का कारण दर्शकको चाप थपिँदै गएको थियो ।

सुरुवाती दिनमा अपेक्षाकृत दर्शकको साथ नपाएको फिल्मले दोस्रो र तेस्रो दिनपछि भने राम्रो प्रतिक्रिया पाउन थालेको थियो । तर, जेन जी आन्दोलनको कारण प्रदर्शन रोकियो।

यो सरोज पौडेलको दोस्रो फिल्म हो । भनिहालौं, उनी कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको साराङ्गी’का निर्देशक हुन् । नेपाली फिल्मकै इतिहासमा सर्वाधिक व्यापार गर्न सफल उक्त फिल्म पनि सुरुवाती दिनमा अपेक्षाकृत चलेको थिएन । तर, एकपछि अर्को दर्शक प्रक्रियाबाट यो फिल्म हेर्नेको घुँइचो लाग्न थाल्यो । र, त्यसअघि कुनै नेपाली फिल्मले नगरेको कमाई गर्‍यो ।

दोस्रो फिल्म ‘कोशेढुंगा’को संकेत पनि लगभग यस्तै देखिन थालेको थियो । तर, जेन जी आन्दोलनले गर्दा प्रदर्शनमा अवरोध पुग्यो । त्यसो त नेपालमा मात्र होइन, विदेशमा पनि यस फिल्मलाई धक्का लागेको छ । सेन्सरको कारण देखाउँदै मध्यपूर्वमा फिल्म प्रदर्शनमा रोक लगाइएको निर्माणपक्षले जनाएको छ । अघिल्लो सातादेखि यो फिल्म युएई, कतार र बहराइनमा प्रदर्शन गर्ने तय भएको थियो । सेभेन सिज इन्टरनशेनलले यो फिल्मलाई ती मुलुकका १२ हलमा प्रदर्शन गर्न लागेको थियो ।

फिल्मको कथा वैदेशिक रोजगारको केन्द्रमा छ । खासगरी खाडी मुलुकमा पसिना बेच्न पुगेका नेपाली श्रमिकको व्यथालाई फिल्मले मार्मिक ढंगले उजगार गर्छ । ‘ब्लड मनी’को कथावस्तुमा आधारित भएकै कारण सेन्सरले रोकेको हुनसक्ने निर्माणपक्षको भनाइ छ ।

भोलि सोमबारदेखि भने यो फिल्म देशभरका हलमा पुनः प्रदर्शनमा आउँदैछ । निर्देशक पौडेलका अनुसार देशभर यसले राम्रो प्रतिक्रिया पाएको छ । ‘भर्खर पनि म दर्शकहरूकै प्रतिक्रिया बुझ्न काठमाडौंबाहिर गएको थिएँ’ निर्देशक पौडेल भन्छन्, ‘सबैले एकदमै राम्रो प्रतिक्रिया दिएका छन् ।’

भोलिबाट नियमित प्रदर्शनमा आउने फिल्मले फेरि पनि दर्शकको साथ पाउने उनको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?