
२९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरिन् । पदभार ग्रहणपछि कर्मचारीलाई सम्बोधन गर्दै उनले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत जस्ता राज्यका अति महत्वपूर्ण निकाय जलाउनेलाई नेपाली भन्न नसकिने टिप्पणी गरिन् ।
‘यो देशको शासन चलाउने भवन, मिसिल, कागज सबै नष्ट भए । मलाई त यो देखेर लाज लागेको छ,’ उनले भनिन्, ‘नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?’
२४ भदौको आगजनीले साविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेर नष्ट भएपछि गृहमन्त्रालयका लागि तयार पारिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सारिएको छ । त्यही भवनमा नवनियुक्त प्रधानमन्त्रीले पदभार ग्रहण गरेकी हुन् ।
सिंहदरबार भित्रका दृश्य नियाल्दै पदभार ग्रहणका लागि प्रधानमन्त्री कार्यालयको नयाँ भवनमा पुगेकी कार्कीले सरकारी संरचना जलाउनेलाई कारबाही गर्ने प्रतिवद्धता जनाएकी छिन् ।
सिंहदरबार जलाउनेलाई कारबाही हुन्छ कि हुँदैन त्यो प्रधानमन्त्रीको कार्यशैली र दृढतामा निर्भर हुनेछ । प्रधानमन्त्री कार्कीले भनेजस्तै सरकारी संरचना जल्नुका पछाडि षडयन्त्रै भएको हो कि होइन भन्ने पत्ता लाग्न पनि अनुसन्धान हुनुपर्छ । त्यसपछि मात्रै यो कार्यमा संलग्न व्यक्तिहरू कारबाहीको दायरामा आउँछन् ।
२४ भदौको आगजनीले पुर्याएको क्षतिको विवरण संकलन गर्दै सुरक्षित भएका ठाउँबाट सेवा सुरु गरिएको मुख्यसचिव एकनारायण अर्यालले बताए । ‘कति ड्यामेज भएको छ त्यसको विवरण संककलन गर्दैछौं । भौतिक र सवारीसाधन क्षतिको आकलन गर्दैछौं,’ उनले भने, ‘ड्यामेज नभएको ठाउँ यकिन गरेर सेवा प्रवाहलाई सुचारु गरेका छौं ।’
सरसफाइसँगै काम सुरु
२३ भदौबाट जेन-जीको प्रदर्शन सुरु भएको थियो । सिंहदरबारभित्र रहेका कार्यलयहरूको हाजिरी रेकर्डअनुसार त्यसै दिन कर्मचारी कम पुगेका थिए । २४ भदौमा अधिकांश कर्मचारी सिंहदरबार गएका थिएनन् । त्यसदिन दिउँसो ३ बजेतिरबाट सिंहदरबार भित्रका संरचनामा आगलागी सुरु भएको थियो । त्यसपछि आइतबार बल्ल कर्मचारीहरू कार्यालय गएका छन् ।
बिहान साढे ११ बजे सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुग्दा कर्मचारीहरू मन्त्रालय परिसरमा सरसफाइ गरिरहेका थिए । कोही झाडु लगाइरहेका थिए, कोही जलेका गाडी घचेटेर मूल ढोकाबाट अन्यत्र सार्दै थिए ।

मन्त्रालयको पहिलो तलामा रहेका अधिकांश कोठामा तोडफोड र आगजनी भएको थियो । स्टोर शाखाका कर्मचारीहरू क्षतिको विवरण संकलन गर्दै थिए ।
तिनैमध्ये एकले भने, ‘हामी खरानी टक्टक्याएर काम गर्दैछौं । पहिलो तलाबाट काम सुरु हुन केही दिन लाग्ला । दोस्रो तलाका कोठाबाट सेवा सुरु भएको छ ।’
मन्त्रालयका ती कर्मचारीले भने, ‘यो मन्त्रालय स्थानान्तरण हुनुपर्ने छैन । तर पार्किङमा रहेका सवारी भने एउटा पनि सग्लो रहेनन् ।’
संघीय मामिला मन्त्रालयजस्तै स्थान्तरण हुनु नपर्ने अवस्थामा रहेको युवा तथा खेलकुद मन्त्रालयले पनि खरानी टक्टक्याउँदै काम सुरु गरेको छ । यो मन्त्रालयको अगाडिपट्टिका झ्यालका सिसाहरू फुटेका छन् । मन्त्रालयका अनुसार कागजपत्र केही भएको छैन । झ्यालका सिसा नफुटेका कोठाबाट यो मन्त्रालयले काम सुरु गरेको हो ।

सिंहदरबारभित्र २१ वटा मन्त्रालय छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने सिंहदरबार बाहिर छ ।
आइतबार मन्त्रालय पुग्दा चारवटा भने काम गर्नसक्ने अवस्थामा थिएनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा गम्भीर क्षति पुगेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालय साविकको ठाउँमा रहनै नसक्ने अवस्थामा छन् । दुवै कार्यालयको संरचना ध्वस्त भएको छ । यी दुवै कार्यालय साविकको ठाउँबाट अन्यत्रै सरेका छन् ।
प्रधानमन्त्री कार्यालय गृहमन्त्रालयका लागि तयार पारिएको नयाँ भवनमा सरेको छ भने गृहमन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पुरानो भवनमा सरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि यथाअवस्थामा सञ्चालन हुनसक्ने अवस्थामा छैनन् । ऊर्जा मन्त्रालयको पहिलो तलाका अधिकांश भाग जलेको छ । शिक्षा मन्त्रालयको पनि पहिलो तला र गृह मन्त्रालयतर्फको भाग पूरै जलेको छ ।
आइतबार यी दुवै मन्त्रालय पुग्दा केही कर्मचारी थिए । उनीहरू काम सुरु गर्ने अवस्थामा नरहेकाले केही निर्णय नेतृत्वले लिने पर्खाइमा देखिन्थे । दुवै मन्त्रालय अगाडि रहेका सवारी सबै जलेका छन् ।
कर्मचारीहरू गफिँदै थिए, ‘प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालय टार्गेटमा रहेछ । नजिकै रहेकाले शिक्षा र ऊर्जा मन्त्रालयमा पनि गम्भीर क्षति हुन पुग्यो ।’

उनीहरूले भनेजस्तै अन्य मन्त्रालयहरूका भवन सुरक्षित रहेका छन् ।
वन तथा वातावरण मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, रक्षा मन्त्रालयको भवनमा क्षति छैन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि क्षति छैन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अगाडि पार्किङमा रहेका सवारी जलेका छन् । मन्त्री र सहसचिवको कार्यकक्षमा पनि तोडफोड भएको छ । तर मन्त्रालयको भवनमा क्षति छैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सहरी विकास मन्त्रालयमा आंशिक क्षति छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पनि क्षति छैन ।
अर्थमन्त्रालयको बजेट शाखा जलेको छ । बाँकी कोठाहरूबाट काम सुरु गर्न मिल्ने अवस्था छ । परराष्ट्र मन्त्रालय अगाडि रहेका गाडीमा तोडफोड भएको छ । तर मन्त्रालयको भवन सुरक्षित रहेको छ ।
संसदीय दल नयाँ आवश्यक
नयाँ बानेश्वरस्थित संसद् भवन पूरै जल्दा सिंहदरबारस्थित संघीय संसद् सचिवालयको दुईवटा भवन जोगिएको छ । संसद्को १ नम्बर भवनको पार्किङमा रहेका सवारी जलेका छन् । २ नम्बर भवन अगाडि रहेका सवारीमा समेत कम क्षति भएको छ । दुवै भवनबाट सेवा सुचारु भइसकेको छ ।

संसदीय दलका कार्यालयहरूमा भने क्षति भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसको संसदीय दलको कार्यालय पूरै जलेको छ । त्यहाँ नयाँ संरचना बनाएपछि मात्रै काम सुरु गर्न सकिने अवस्था छ ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संसदीय दलको कार्यालय पनि पूरै जलेको छ ।
क्षतिपछिको अवस्थाको सम्बन्धमा छलफल गर्न सिंहदरबारमा आइतबार संसद् सचिवालयका कर्मचारीहरूको स्टाफ बैठक बसेको थियो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसदीय दल नयाँ आवश्यक रहेको विषयमा समेत छलफल भएको छ ।

उनी भन्छन्, ‘हामीले दलरूलाई सभाअनुसार संसदीय दलको कार्यालय दिएका छैनौं । प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रिय सभाको काम-कारबाहीका लागि दलहरूलाई संसदीय दल आवश्यक पर्छ । यस्तोमा समस्या हुने भएको छ ।’
नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको कार्यालय सुरक्षित छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको कार्यालयमा आंशिक क्षति छ । काम सुरु गर्न सकिने अवस्थामा रहेको छ ।
आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साह, नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल र स्वतन्त्र सांसद योगेन्द्र मण्डलका लागि दिइएको कार्यालय पनि सुरक्षित छ ।
संघीय संसद्का भवनका साथै संसद्का पदाधिकारीहरूको कार्यालय र कार्यकक्ष, संसदीय विषयगत समितिका कार्यालय पनि सुरक्षित रहेका छन् ।
पुरानो संसद् भवन अगाडि रहेका सवारीहरू भने पूरै जलेका छन् ।
यसबाहेक सिंहदरबारभित्र रहेका प्रशासकीय अदालतको भवन, केन्द्रीय सर्भिस सेन्टर, राष्ट्रिय योजना आयोगको भवन सुरक्षित छ । सार्वजनिक सेवा प्रसारणअन्तर्गत नेपाल टेलिभिजन र रेडियो नेपालको भवन सुरक्षित छ ।
राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, डाटा सेन्टर सुरक्षित रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पनि सुरक्षित छ ।
सिंहदरबारभित्र रहेका नेपाली सेनाको गण र प्रहरी बिट सुरक्षित अवस्थामा छन् र सेवा दिइरहेका छन् ।
प्रतिक्रिया 4