+
+
Shares

जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १२:०५

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने बताएकी छन् ।

पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

‘मान्छेले ज्यान मार्छ, भवनहरु लुट्ला, भत्काउला बेग्लै कुरा हो । तर यो घटना त मलाई लाग्छ यो देशमा पहिलो चोटी भएको हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यस किसिमले हाम्रा संस्थाहरु, यस्तो अनुहार देखाउन नसक्ने अवस्थामा पुर्‍याएको छ । मलाई त जहाँसम्म लाग्छ, यो एउटा प्लान वेमा, षडयन्त्रै भएको हो कि भन्ने लाग्छ ।’

उनले यसबारे अनुसन्धान हुने र कारबाही हुने बताइन् ।

‘अनुसन्धान हुन बाँकी छ । र अनुसन्धान गरेर यसरी प्रहार गर्नेहरुलाई यसरी नोक्सान गर्नेहरुलाई अपरिहार्य वस्तु, अत्यन्त आवश्यक वस्तु माटोमेट बनाएको छ, त्यसलाई छोड्नुपर्ने अवस्था छैन । यो कारबाही हुनुपर्ने अवस्था छ । यसको खोजबिन तलास हुनुपर्ने अवस्था छ,’ उनले भनिन् ।

उनले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, व्यापारिक कम्प्लेक्स लगायतका सरकारी कार्यालयहरुमा भएको आगजनी लज्जास्पद भएको बताइन् ।

मुलुकको शासन व्यवस्था चलाउन अत्यन्त आवश्यक संस्थाहरुमा आगजनी र तोडफोड गर्नेहरुलाई नेपाली कसरी भन्ने भनेर पनि उनले प्रश्न गरिन् । ‘बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरु देशको, जसले यो देशको शासन चलाएको छ, ती भवनहरु, ती मिसिल, ती कागजहरु, नष्ट भए,’ उनले भनिन्, ‘अलिकति मलाई त यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?