
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गरी मृतक परिवारलाई १० लाख राहत दिने निर्णय गरिन्।
- पीडित परिवारले अन्त्येष्टिमा राष्ट्रिय सम्मानको माग राख्दा प्रधानमन्त्री निवासमा भेट्न नपाएर सरकारविरुद्ध नाराबाजी गरे।
- जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले प्रधानमन्त्री निवास अगाडि आक्रोश पोख्दै जनता सबैभन्दा शक्तिशाली भएको बताए।
३० भदौ, काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरेपछि पहिलो निर्णयमा हस्ताक्षर गरिन्– जेन-जी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने र मृतकका परिवारलाई १०–१० लाखको दरले राहत दिने ।
तर मृतकका परिवार यतिमा मात्र चित्त बुझाएनन् । उनीहरुको अतिरिक्त माग थियो– अन्त्येष्टिमा राष्ट्रिय सम्मान ।
यही माग सुनाउन उनीहरू प्रधानमन्त्री सुशीला कार्कीको टिमका सदस्यहरुकहाँ दिभर दौडधुप गुरे । कतैबाट सुनुवाइ नभएपछि अब प्रधानमन्त्रीलाई नै भेट्ने भनेर बालुवाटारस्थित निवास पुगे ।
बेलुका सात बजे प्रधानमन्त्री निवासभित्रबाट पीडित परिवारहरुलाई बोलाइयो । मृतकका सात जनाको परिवारका सदस्यहरु प्रधानमन्त्री निवासभित्र प्रवेश गरे ।
तर प्रधानमन्त्री सुशीला कार्की मन्त्री नियुक्ति सम्बन्धी छलफलमा व्यस्त भएको भन्दै भेट्न दिइएन । ‘पीडित परिवारलाई लबीमा कुराएर राखियो । राति १० बजेपछि प्रधानमन्त्री व्यस्त हुनुहुन्छ भनेर अपमानित गरी बाहिर निकालियो’ मृतक परिवारका एकजना प्रतिनिधि विवेक खतिवडाले अनलाइनखबरसँग भने ।
खतिवडा जेन-जी आन्दोलनमा मृत्यु भएका रसिक खतिवडाका काका हुन् । उनकी भाउजू रचना खतिवडा प्रधानमन्त्री निवासभित्र गएकी थिइन् ।
विवेकका अनुसार ‘हामी नेपाल’ नामको संस्थाका संयोजक सुदन गुरुङ आएपछि मात्रै पीडित परिवारका मागबारे छलफल गर्ने भन्दै सेनाका जवानहरुले लबीको बत्ती निभाएर प्रधानमन्त्रीलाई भेट्न नदिई बाहिर निकालेका थिए ।
आफन्त गुमाउँदाको पीडा, प्रक्रियागत झन्झट र राज्यपक्षको व्यवहारबाट आजित भएका पीडित परिवारहरू आक्रोशित भए । उनीहरू तीन नम्बर गेटबाट बाहिर सडकमा निस्किएर प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध नाराबाजी गर्न थाले ।
आइतबार रातिको भिडियोमा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए ।
त्यही बेला सुदन गुरुङ बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि आइपुगे । उनी प्रधानमन्त्री निवास भित्र प्रवेश गर्न खोजे तर पाएनन् ।
त्यसपछि सुदनले आक्रोश पोख्दै भने, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’
जेन-जी आन्दोलनका अगुवा भनिएका सुदनले आफू शव व्यवस्थापनमा व्यस्त भएको भन्दै ओमप्रकाश अर्यालको नाम लिएर भनेका छन्, ‘यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर…।’
त्यतिबेला पीडित परिवारले पनि सुदनलाई र्याखर्याख्ती पारे ।
नाराबाजीको भिडियोमा एक महिलाले सुदनलाई भनेकी छन्, ‘हिजोसम्म तपाईंले नै हामीलाई न्याय दिन्छु भन्नु भएको हो कि होइन ? आज हजुर नै हामीसँग आएर बसिराख्नु भएको छ भने हामीले कसलाई गुहार्ने ? कसलाई के भन्ने ?’
मृतक रसिकका काका विवेकले अनलाइनखबरसँग भने, ‘हामी मृतकका परिवारहरुले नाराबाजी गरिरहेका बेला सुदन आएका थिए ।’
उनले थपे, ‘हाम्रो अतिरिक्त माग भनेको अन्त्येष्टिमा राष्ट्रिय सम्मान चाहियो भन्ने हो । तर शवमाथि राजनीति गरियो ।’
जेनजी युवाहरुको सहजकर्ताको रुपमा आएका अर्यालले गृहमन्त्री किन खाएको ? भन्दै असन्तुष्टि समेत जनाएका छन् ।
भिडियोमा अर्का एक युवकले भनेका छन्, ‘यो आन्दोलनको नेतृत्वकर्ता हामी हौं । हाइज्याक गरेका छन् कुनैकुनै साथीहरुले ।’
प्रतिक्रिया 4