+
+
Shares

रवि जेलबाट भाग्दा रास्वपालाई क्षति

रास्वपाका सभापति रवि लामिछाने गत मंगलबार कारगारबाट निँस्किएपछि त्यसको प्रभाव देशभर पर्‍यो । रवि कारागारमुक्त भएको देखाउँदै झण्डै १३ हजार बन्दीहरु पनि भागे । त्यसक्रममा १० जना कैदीले अनाहकमा ज्यान गुमाए । रवि कारागारबाट भाग्दा अहिले रास्वपालाई नैतिक क्षति भएको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ भदौ ३० गते २०:२६

२९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापनाको दिन (असार ७) बाट सुरु गरेको एक अभियानले आन्तरिक जीवनमा उभार नै ल्यायो । उक्त अभियानलाई ‘रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनाको हस्ताक्षर’ भनिएको थियो ।

अभियानलाई प्रभावकारी बनाउन रास्वपाका नेता कार्यकर्ता, शुभेच्छुक स्वाभाविक रुपमा संलग्न भएन । अन्य दलका कतिपय नेता एवं प्रवुद्ध वर्गका केही व्यक्तिहरु रास्वपाको केन्द्रीय कार्यालय पुगेर रवि माथि सत्ताले प्रतिशोधपूर्ण व्यवहार गर्‍यो भन्दै हस्ताक्षर गरे । रास्वपाको दाबी अनुसार देशभित्र र बाहिरबाट झण्डै चालिस लाखले रविमाथि राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर गरे ।

सहकारीको रकम अपचलन गरेको मुद्धामा अदालतको आदेशमा रवि कारागार पुगेका थिए । सहकारीसँग कुनै साइनो नै नभएको तर तत्कालीन सरकारले रविविरुद्ध प्रतिशोध साँधेको भन्दै रास्वपाले यो मुद्दा चर्काइरह्यो ।

केन्द्र, प्रदेश, जिल्ला हुँदै तल्लो तहसम्म हस्ताक्षर अभियान सञ्चालन हुँदा रास्वपामा उभार आयो । नेता कार्यकर्ता उर्जा थपियो भने मनोबल बढ्यो । यो अभियानलाई रास्वपा संगठन निर्माणको बलियो माध्यम समेत बनायो ।

सभापति माथि प्रतिशोध भएको भन्दै गरिएको हस्ताक्षर अभियानले रास्वपा पार्टीको प्रचारपनि तल्लो सम्म पुगेको थियो । संगठन विस्तारले तीव्रता पाएको थियो । नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित सरकारले नियोजित रुपमा जेल पठाउन भूमिका खेलको भन्दै मुद्धालाई रास्वपाले ‘जबरजस्त स्थापित’ गरिदियो । भौतिक र अनलाइन प्रणालीबाट हस्ताक्षर संकलन जेनजीको आन्दोलनसम्म निरन्तर रह्यो ।

गत सोमबार देशव्यापी फैलिएको जेन–जी आन्दोलनको दोस्रो दिन एउटा समूह नख्खु कारागार आक्राणमा उत्रियो । रविलाई छुटाउन पर्छ भन्दै कारागार पुग्नेहरुमा रास्वपाका नेता, कार्यकर्ता, शुभेच्छुक थिए । प्रदर्शनकारीहरुको एक समूहले ललितपुर नख्खुस्थित कारागारमा समेत आक्रमण गर्‍यो । कतिपयले सामाजिक सञ्जालमा तत्कालीन ‘गृहमन्त्री रमेश लेखकले राजीनामा दिएकाले जेलमा रहेका असली गृहमन्त्रीलाई सिंहदरबार पुर्‍याउने’ भन्दै स्थितीलाई भड्काउन खोजे ।

प्रदर्शनकारीको हुल कारागार पुगेर तोडफोडमा उत्रेपछि प्रशासनले एउटा कागज गरेर रविलाई छोडिदियो । उनलाई स्वागत गर्न कार्यवाहक सभापति डीपी अर्याल कारागार पुगेका थिए । विधि पुर्‍याएर आफू कारागारबाट बाहिरिएको दाबी गर्दै रविले एक पत्र सार्वजनिक गरेका थिए । पत्रमा रवि लामिछानेमाथिको राजनीतिक मुद्दामा गृहसचिवको निर्देशन भन्दै उनलाई रिहा गरिएको व्यहोरा उल्लेख थियो ।

मिति केरमेट गरिएको, बोधार्थमा अर्कै व्यक्तिको नाम रहेको पत्र आफैमा शंकास्पद थियो । त्यसमाथि अदालतको आदेशबाट थुनिएका व्यक्तिलाई राजनीतिक मुद्दा लेखिएको थियो भने गृहसचिवले रिहा गर्न आदेश दिएको व्यहोरा आफैंमा अस्वभाविक थियो । तर लामिछानेले आफू रिहा भएपछि सार्वजनिक गरेको पत्रले थप विवादमा परे ।

रवि रिहा भएपछि आफूहरु पनि थुनामुक्त हुन पाउनुपर्ने माग राख्दै देशभरका कारागारहरुमा प्रदर्शन भयो । करिब १३ हजार कैदीबन्दीहरु थुनामुक्त भएकोमा दुई हजार जना मात्रै अहिलेसम्म कारागार फर्किएका छन् । कारागारको प्रदर्शनका कारण १० जनाको अनाहकमा ज्यान गयो ।

लामिछानेले देखाएको गलत बाटोका कारण संगीन अपराधमा संलग्नहरु पनि थुनामुक्त भएको भन्दै सार्वजनिक आलोचना भएको थियो । केही दिनपछि नै कारागार प्रशासनले ‘हाम्रो औपचारिक पत्र र आदेशबाट कोही पनि व्यक्ति थुनामुक्त नभएको’ भन्दै बाहिर निस्किएका सबै कैदीबन्दीहरुलाई फर्कन सूचना निकालेको थियो ।

फरार भएका सबै कैदी बन्दीलाई आत्मसमर्पण गर्न र सम्पर्कमा कारागार प्रशासनले गर्‍यो । तत्काल जेलमा नफर्किए भविष्यमा प्राप्त हुने कानूनी अधिकार, सुविधा र सामाजिक पुनःस्थापना प्रक्रियामा असर पर्ने चेतावनी दिएको थियो ।

कारागारबाट कैदीबन्दी छुटेको घटनामा रास्वपा मौन थियो, कतिपय नेताले भने रविको बचाउ गरिरहेका थिए । कारागारबाट निस्केपछि भिडियो सन्देश दिँदै स्वयं रविले र कार्यवाहक सभापति डीपी अर्यालले बर्हिगमनको बचाउ गरे ।

चौतर्फी आलोचना भइरहेका बेला नख्खु कारागारले जेलबाट निस्किएका कैदीबन्दीलाई फर्किन आग्रह गरेपछि शनिवार साँझ लामिछाने कारागारमा फर्किएका हुन् ।

रास्वपास्रोतका अनुसार, नेता सुमना श्रेष्ठले केही दिनअघिको भर्चुअल मिटिङमा पार्टीको नेता मुलुकमा हुलदंगा मच्चिएको बेला कारागारबाट निस्कनु उचित नभएको भन्दै त्यसमा संलग्न अरु नेताहरुको पनि आलोचना गरेकी थिइन् ।

रास्वपाको आन्तरिक जीवनमा उनी कारागाबार बर्हिगमनले क्षति पुगेको बुझाई पार्टीमा छ । पार्टी नेता कार्यकर्ता उनको व्यवहारलाई लिएर चिन्ता समेत प्रकट हुन थालेको छ ।

रविको कदमबाट असन्तुष्ट बढ्दै गएपछि नेता कार्यकर्ताले पार्टी परित्याग गर्न लागेका छन् । नेता एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले रविको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पार्टी त्याग गरिन् ।

पार्टी परित्याग गर्नुमा सभापति रवि लक्षित सुमनाको भनाई छ,‘कहिलै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने ।’ यो प्रवृत्ति विरुद्धमा बोल्दै आएपनि फरक नपरेपछि पार्टी परित्याग गरेको उनको भनाई छ ।

विवेकशील साझा हुँदै रास्वपामा आएका प्रविण काफ्लेले पनि पार्टी त्यागेका छन् । रास्वपामा गुटबन्दी, नेतृत्वका गलत कार्यशैली विरुद्ध निरन्तर आवाज उठाएपनि सुनुवाई नभएपछि पार्टी छोडेको उनले बताएका छन् ।

‘विवेकशीलबाटै एकै समयमा आएका र नेता तथा मन्त्री बनेकाहरुको दोहोरो चरित्रले आजित बनेँ । आज उनीहरु पनि पार्टी भित्र एक किसिमको ‘दास’ बनेका छन् तर उज्ज्वल थापाको नाम छोडदैनन्,’ काफ्ले भन्छन् । नेतृत्वलाई परिवर्तन गर्न र सच्याउन नसकेको कारण देखाउँदै उनले पार्टी छोडेका छन् ।

सभापति रवि कारागारबाट निस्केको घटनाका विषयमा पार्टीको आन्तरिक बैठकमा समेत प्रश्न उठेको छ । आइतबार भर्चुअल माध्यमबाट बसेको बैठकमा केन्द्रदेखि तल्लो तहसम्मका नेताले रविलाई कारागारबाट छुटाउन नेताहरु लागेको भन्दै असन्तुष्टि व्यक्त भएको थियो ।

केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला पदाधिकारीको हिजो भर्चुअल बैठक बसेको थियो । उक्त बैठकमा सहभागी एक नेताले भने,‘सभापतिलाई निकाल्न कार्यवाहक सभापति सहित उहाँको सचिवालय सक्रिय भएको हुँदा उनीहरुले नै जिम्मेवारी लिनुपर्ने कुरा उठ्यो ।’

उनका अनुसार रवि निस्कँदा अन्य बन्दीहरु पनि फरार हुन सहयोग पुगेको, कारागारमा तोडफोड र आगजनी हुने अवस्था उत्पन्न भएको भन्दै पार्टीभित्र असन्तुष्टि छ ।

उनी थप्छन्, ‘यो घटनाले हाम्रो नैतिक धरातल कमजोर हुन पुगेको छ । अदालतको आदेशमा थुनामा पुगेको व्यक्ति फर्जी कागजातले निस्किएको भन्दै हामी माथि चौतर्फी आक्रमण छ ।’

हिजोको बैठकमा कोशीका कार्यवाहक सभापति सरिन तामाङले पार्टीमा दल ‘व्यक्ति केन्द्रित हुने वा सिद्धान्त केन्द्रित हुने ?’ भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

प्रवक्ता मनिष झाका अनुसार सभापति रविको कागागारबाट बर्हिगमन र फिर्ताले पार्टीभित्र क्षति पुगेको छैन । झा भन्छन्,‘सभापतिले पनि कानुन मान्नुपर्छ तपाईं फर्किनुस् । नागरिकले जुन किसिमले नयाँ पार्टीलाई सोचिरहेका छन् । तपाईंबाट यस्तो अपेक्षा राख्दैनौं भन्दा कसरी रास्वपालाई क्षति हुन्छ र ?

कारागारमा बस्ने अवस्थै नभएपछि सुरक्षाका कारण निस्कनु बाहेक अन्य विकल्प नभएको झाको निष्कर्ष छ । ‘रविलाई निकाल्नुपर्दछ नख्खु जाऔं’ भनि सामाजिक सञ्जालमा उक्साउनेहरु रास्वपामा आवद्ध नभएका व्यक्तिहरुको रहेको उनले बताए ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?