
News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशसभाको नयाँ र पुरानो दुवै भवन २४ भदौमा प्रदर्शनकारीले आगजनी गरेर ध्वस्त पारेका छन्।
- नयाँ प्रदेशसभा भवन १२ करोड रुपैयाँ लागतमा पाँच वर्षमा निर्माण गरिएको थियो र चार पटक मात्रै बैठक सञ्चालन भएको थियो।
- प्रदेशसभामा करिब ३० करोड बराबरको भौतिक संरचना, विद्युतीय सामग्री र कार्यालय सामग्री क्षति भएको छ र चोरीसमेत भएको छ।
३१ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको नयाँ र पुरानो दुवै भवन तोडफोड र आगजनीबाट ध्वस्त भएको छ ।
जेनजीहरूको आन्दोलनको क्रममा प्रदर्शनकारीले २४ भदौमा प्रदेशसभाको दुवै संरचना आगजनी गरेर ध्वस्त पारेका हुन् । १२ करोड रुपैयाँ लागतमा करिब पाँच वर्ष लगाएर निर्माण गरेको नयाँ प्रदेशसभा भवन आगजनीबाट पूर्ण क्षति भएको छ । २०७४ मा प्रदेश स्थापना भएको ८ वर्षमा बल्ल प्रदेशसभाको नयाँ संरचना तयार भएको थियो ।
यो भवनबाट २७ साउनदेखि जम्मा चार पटक मात्रै बैठक सञ्चालन भएको थियो । सहरी विकास तया भवन कार्यालय मकवानपुरको ८ करोड ६२ लाख ७१ हजार १ सय २७ र प्रदेशसभा सचिवालयले ३ करोड ७० लाख ९१ हजार ८ सय ३७ रुपैयाँ गरी संरचना निर्माण गर्न १२ करोड ३३ लाख ६२ हजार ९ सय ६४ रुपैयाँ खर्च गरेका थिए ।
हेटौंडा उपमहानगरपालिका–१० स्थित तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयको जग्गामा निर्मित प्रदेशसभा भवन गत २७ साउनमा मात्रै उद्घाटन गरिएको थियो । सोहि परिसर भित्र रहेको शिक्षा निर्देशनालयको साँघुरो भवनबाट झण्डै ८ अर्ब प्रदेशसभाको कार्य सञ्चालन भएको थियो । त्यो पुरानो भवन पनि आगजनीले क्षतविक्षत भएको छ ।
प्रदेशसभा जलेर ध्वस्त भएपछि राप्रपाकी समानुपातिक सांसद लक्ष्मी घिमिरेले प्रदेशसभामा क्षति पुर्याउने जोसुकैलाई कारबाही गर्न माग गरेकी छन् । उनले आफ्नै खबरदारीले अपाङ्गतामैत्री नयाँ भवन निर्माण भएको तर उपस्थित हुन नपाउँदै जलेर खरानी भएको बताएकी छन् । घिमिरेले सांसद निर्वाचित भएको पहिलो सम्बोधनमै पुरानो भवन अपाङ्गमैत्री नभएकाले नयाँ संरचना नबनेसम्म रोष्टममा गएर नबोल्ने बताएकी थिइन् ।
प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीकाअनुसार प्रदेशसभामा करिब ३० करोड बराबरको भौतिक संरचना र विद्युतीय सामग्रीलगायतमा क्षति पुगेको छ । प्रदेशसभाबाट तत्काल कार्य सञ्चालन गर्न नसकिने भएको छ । प्रदेशसभा सचिवालयका कर्मचारीहरू परिसरभित्र रहेको क्यान्टिनबाट काम गर्दै आएका छन् ।
‘प्रदेशको दुवै संरचना ध्वस्त भएकाले बैठकलगायतका कुनै गतिविधि गर्न सकिने अवस्था छैन । अर्को कुनै विकल्प प्रयोग गर्नुपर्ने हुन्छ,’ प्रदेशसभा सचिवालयका प्रवक्ता कानुन अधिकृत मनोजकुमार गुप्ताले भने ।
यसैगरी, प्रदेशसभा सचिवालयका ६ वटा दुईपाङ्ग्रे, ३ वटा गाडी र २ वटा निजी मोटरसाइकल पूर्णरुपमा क्षति भएको सचिव दर्जीले जानकारी दिए । सामाजिक विकास मन्त्रालयको कम्पाउण्डमा सुरक्षित राखिएको प्रदेशसभाका ३ वटा गाडी पनि आगजनीबाट नष्ट भएकोछ ।
कांग्रेस संसदीय दलको कार्यालयबाहेक अन्य दलका कार्यलयमा आगजनी र तोडफोड गरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीको संसदीय दलका कार्यालयमा रहेका सबै कागजपत्र, फर्निचर र सामग्री खरानी बनेका छन् । नेकपा माओवादी केन्द्र र समाजवादीका दल कार्यालय भने माथिल्लो तलामा भएकाले आंशिक मात्र क्षति भएको छ ।
प्रदेशसभा सचिवालयका प्रशासन र कार्यव्यवस्था सम्बन्धी सबै कागजपत्र जलेका छन् भने कानून तथा विधेयक शाखामा रहेका विधेयकहरू सुरक्षित रहेको प्रवक्ता गुप्ताले जानकारी दिए ।
प्रदेशसभाबाट विद्युतीय सामग्रीलगायतका सामान चोरी भएका छन् । चोरी भएको सामग्रीहरू फिर्ता गर्न बागमती प्रदेशसभा सचिवालयले आग्रह गरेको छ । सचिवालयमा रहेको कम्प्युटर, ल्याप्टप, इन्भर्टर, टिभी, एसीसहित कुर्सी, टेबल, सोफा लगायत सामग्री चोरी भएको थियो । सचिवालयकाअनुसार चोरी भएको दुई वटा ल्यापटप फिर्ता आएको छ ।
प्रतिक्रिया 4