News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल ओलम्पिक कमिटीले २०औं एसियन गेम्सका लागि ३२ खेलका ४३४ खेलाडीको नाम दर्ता गरेको छ।
- पुरुषतर्फ २३९ र महिलातर्फ १९५ खेलाडीको नाम दर्ता गरिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ।
- फुटबल र तेक्वान्दो खेलका खेलाडीहरूलाई पछि थपेर आयोजक कमिटीमा नाम दर्ता गरिएको छ।
१ असोज, काठमाडौं । अर्को वर्ष जापानमा आयोजना हुने २०औ एसियन गेम्सका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ३२ खेलको खेलाडीहरुको पहिलो सूची दर्ता गराएको छ ।
जीवन राम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मान्यता पाएको नेपाल ओलम्पिक कमिटीले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै २०औं एसियाडका लागि नेपालबाट ३२ खेलको खेलाडीहरुको नाम दर्ता गरिएको जानकारी दिएको हो ।
जसमा पुरुषतर्फ २३९ र महिलातर्फ १९५ खेलाडी गरी कूल ४३४ खेलाडीको नाम दर्ता गरिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।
एसियन गेम्सका लागि खेल अनुसार खेलाडीको दर्ता गर्ने अन्तिम मिति सेप्टेम्बर १६ सम्म थियो । त्यसमा ओलम्पिक कमिटीले यसअघि दर्ता गरिएको खेलमा दुई खेल थप गरेर ३२ खेलको खेलाडीको नाम दर्ता गरेको हो ।
‘यस सम्बन्धी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलाई पटक पटक पत्राचार गर्दा मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबाट खेलाडीहरुको संख्याका बारेमा कुनै जानकारी प्राप्त नभएको हुँदा पहिला दर्ता गरिएका ३० वटा खेलका राष्ट्रिय संघहरुलाई पत्राचार गरी संघहरुबाट सहभागी हुन सक्ने खेलाडीहरुको संख्या नेपाल ओलम्पिक कमिटीलाई उपलब्ध गराएको छ । सोही अनुसार हिजो (सेप्टेम्बर १६) मा आयोजक कमिटीमा इन्ट्री बाई नम्बर प्रकृया सम्पन्न भएको छ ।’ ओलम्पिक कमिटीका महासचिव राजिव श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यसअघि ओलम्पिक कमिटीले ३० खेलको नाम दर्ता गरेको थियो । त्यो बेला नाम दर्ता नभएपनि खेलाडीको नाम दर्ता गर्दा फुटबल र तेक्वान्दोको खेलाडीको नाम पनि थप गरिएको हो ।
यस खेलको नाम दर्ता गर्ने मिति जुन ३० मा दर्ता नभएका लोकप्रिय र पदकको सम्भावना भएको खेलका खेलाडीहरु एसियन गेम्स खेल्न बन्चित नहोस् भनेर संईलाई पुन: पत्राचार गरिएको र त्यसबाट फुटबल र तेक्वान्दो थप गर्न आयोजक कमिटीलाई अनुरोध गरिएकव ओलम्पिक कमिटीले जनाएको छ ।
‘जुन ३० तारीखमा दर्ता नभएका लोकप्रिय र पदकको सम्भावना भएको खेलका खेलाडीहरु खेल्न बाट बन्चित नहोस भन्ने उद्देश्यले सहभागीताका लागि संघलाई पुन पत्राचार गरिएको थियो । जसमा तेक्वान्दो र फुटबल ले सहभागीताका लागि खेलाडीहरुको सख्या र इभेण्ट सहित पठाइएको पत्रको आधारमा आयोजक कमिटीलाई सो २ खेल थपका लागि अनुरोध गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।
यस्तै नेपाल एथलेटिक्स संघलाई पटक पटक पत्राचर गर्दा पनि कुनै जवाफ प्राप्त नभएको हुँदा नेपाल ओलम्पिक कमिटीले नै विगतको सहभागीतालाई मध्यनजर गरी माराथनमा एक महिला र एक पुरुष खेलाडीको नाम दर्ता गरिएको कमिटीले जनाएको छ ।
‘यसरी ३२ वटा खेलबाट २३९ पुरुष र १९५ महिला गरी जम्मा ४३४ जना कुल खेलाडी संख्या दर्ता प्रकृया सम्पन्न भएको जानकारी गराउँदछु ।’
यसअघि राखेपले नै एसियन गेम्समा सहभागि हुने खेल र खेलाडीको संख्या तोक्दै आए पनि यसपटक ओलम्पिक कमिटीमा विवाद हुँदा त्यसो हुन सकेन ।
नेपाल ओलम्पिक कमिटीले २०औं एसियन गेम्सका लागि ३० खेलको नाम दर्ता गर्दा युवा तथा खेलकुद मन्त्रालयले पनि छुट्टै ३१ खेलको नाम दर्ता गरेको थियो । तर एसियन गेम्स आयोजक कमिटीले ओलम्पिक कमिटीबाट मात्र आएको सूची मान्य हुने भन्दै मन्त्रालयलाई इमेल पठाउँदै मन्त्रालयको सूची दर्ता नभएको स्पष्ट पारेको थियो ।
यस्तै ओलम्पिक कमिटीकै पूर्व अध्यक्ष धुब्र बहादुर प्रधानको संयोजकत्वमा एनओसी तदर्थ समिति गठन भएपछि नेपालमा दुई ओलम्पिक कमिटी रहेको अवस्था छ । सरकारको समर्थन पाएको तदर्थ समितिले केही समय आफ्नो सक्रिएता बढाएपनि पछिल्लो समय भने सुनसान जस्तै बनेको छ ।
२०औं एसियन गेम्सका लागि नेपालबाट खेलाडी दर्ता भएका खेल
एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिङ एण्ड डान्स स्पोर्टस, बेसबल एण्ड सफ्टबल, राफ्टिङ एण्ड कानोइङ, कुराँस, क्रिकेट, साइक्लिङ, इ-स्पोर्टस, गल्फ, हकी, जुडो, कबड्डी, कराते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटिङ, स्पोर्टस क्लाइम्बिङ्ग, स्क्वास, सफ्ट टेनिस, पौडी, टेनिस, टेबल टेनिस, भलिबल, भारतोलन, कुस्ती, उसु
पछि थप्न अनुरोध गरिएका दुई खेल : फुटबल र तेक्वान्दो
प्रतिक्रिया 4