
२ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मर्यादित रूपमा उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेको छ ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले बिहीबार गृहमन्त्री ओमप्रकाश आर्यालसँग गृह मन्त्रालयमा भेट गरी सो आग्रह गरेको हो । उनले शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारलाई तत्काल ठोस कदम चाल्न सुझाव दिए ।
निजी क्षेत्रले जिल्ला जिल्लामा सुरक्षाको अनुभूति गर्न नसकिरहेकोमा सरकारले सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे ।
साथै कतिपय उद्यमी व्यवसायी प्रहरीका संरचना पुनर्निर्माणका लागि तयार रहेको बताउँदै अध्यक्ष ढकालले यसका लागि उद्योग वाणिज्य संघ मार्फत सहकार्यका लागि प्रमुख जिल्ला अधिकारीहरूलाई जानकारी गराउन पनि आग्रह गरे ।
आन्दोलनका क्रममा भएको घुसपैठबाट निजी क्षेत्रको सम्पत्तिमाथि भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्नहरूमाथि कारबाही गर्न पनि मन्त्री अर्याल समक्ष आग्रह गरे ।
मुलुकको राजस्वमा योगदान दिनुका साथै रोजगारी दिइरहेको निजी क्षेत्रलाई मर्यादित रूपमा काम गर्न सक्ने वातावरण सिर्जनाका लागि सरकारले सकारात्मक सन्देश प्रवाह पनि गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ थियो ।
नेपाली अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ भने ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको छ ।
भेटमा गृहमन्त्री अर्यालले आमनागरिक तथा व्यवसायीहरूको शान्ति सुरक्षाका विषयमा सरकार संवेदनशील रहेको बताए ।
महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्यले आन्दोलनका क्रममा निजी क्षेत्रका सयौं व्यवसाय स्थापना प्रभावित भएको, तोडफोड र आगजनीका कारण ठूलो आर्थिक क्षति भएको जानकारी गराए ।
प्रतिक्रिया 4