
कलर रिभोलुशन भनेको सन् १९९० दशकको अन्त्य र २००० दशकको सुरुवातमा पूर्व सोभियत संघद्वारा शासित सोभियत संघको विघटनपछि स्थापित राज्यहरूमा पश्चिमा प्रभावका कारणले थालिएका अभियानहरूको नाम हो । खासगरी यसको प्रभाव मध्यएशिया र पूर्वी युरोपमा देखा परेको थियो । मुख्यतया शान्तिपूर्ण जनाउन अवलम्बन गरिएको विरोध आन्दोलनहरूको शृंखलालाई जनाउन यो शब्द अपनाइएको हो । जनपरिचालन, रंग वा फूलहरूको प्रतीकात्मक प्रयोग, साथै चुनावी घोटाला, धाँधली विरुद्ध आक्रोश पोख्ने एक माध्यमका मार्फत ऐक्यबद्धता प्रदर्शन गर्ने यी आन्दोलनहरूले गहिरो गरी सत्ताधारी उनीहरूकै भाषामा अधिनायकवादी शासनहरू र तिनका शैलीलाई चुनौती दिएको पाइन्छ ।
उदाहरणमा सन् २००३ मा भएको जर्जियाको रोज रिभोलुशन, सन् २००४ मा भएको युक्रेनको अरेन्ज रिभोलुशन र २००५ मा भएको किर्गिस्तानको ट्यूलिप रिभोलुशनलाई लिन सकिन्छ । तिनीहरूको प्रभाव अफ्रिका, मध्य पूर्व र एशियामा समेत पर्न गयो । दक्षिणएशियाका कुनै पनि आन्दोलनमा यी रिभोलुशनको प्रत्यक्ष नक्कल चाहिं भएन तर समान प्रकारका आन्दोलनहरूले पाकिस्तान, श्रीलंका, भारत र सबैभन्दा गहिरो रूपमा नेपाललाई असर गर्यो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । यस लेखमा हालैका घटना र प्रवृत्तिका आधारमा जेनजी आन्दोलनको समीक्षा गर्ने प्रयास गरिएको छ ।
कलर रिभोलुशनका मुख्य विशेषता
विभिन्न विश्लेषक, अध्येता र अनुसन्धानकर्ताले कलर रिभोलुशनका खास केही विशेषताको अपेक्षा गर्दछन् ।
१. आन्दोलनकर्ताका रूपमा चुनावमा भएको धाँधली, लुटपाट, अकुत पैसाको दुरुपयोग, सेना र प्रहरी एवं कर्मचारीतन्त्रका बलमा धाँधली गरिएका उदाहरण दिंदै तिनका विरुद्धमा विद्रोहको आवाज ओकल्ने प्रयत्न गर्दछन् ।
२. युवा, विद्यार्थी र नागरिक समाज एकसाथ शान्तिपूर्ण रूपमा आम नागरिक परिचालन गर्दछन् ।
३. प्रदर्शनकारीहरूलाई उत्तेजित पार्न झण्डा, फूल वा रङ जस्ता प्रतीकात्मक प्रतीकहरूको प्रयोग अत्यधिक मात्रामा हुने गर्दछ ।
४. पश्चिमी मुलुकका सरकार र गैरसरकारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा विभिन्न मुद्दामा बहस पैरवी गर्ने, आर्थिक सहयोग वा लगानी गर्ने, क्षमता अभिवृद्धिका नाममा होस् वा आर्थिक उपार्जनका नाममा वा रोजगारीका नाममा किन नहोस् बाह्य प्रभाव र सहभागिता सुनिश्चित गर्दछन् ।
५. सामान्यत: हिंसात्मक माध्यमबाट भन्दा शान्तिपूर्ण माध्यमबाट राजनीतिक परिवर्तनको अपेक्षा गर्दछन् । आफ्नो नियन्त्रणमा राख्न खोज्दा परिणाम नआउने, नियन्त्रणमा राख्न नसक्दा हिंसात्मक हुने अनुभव व्यहोर्दछन् ।
उपरोक्त विशेषता बोकेका कलर रिभोलुशनहरू सामान्य सुधारका लागि गरिएका विद्रोह हैनन् बरु सीमापार रणनीति भित्र्याउने माध्यमका रूपमा काम गर्दछन् भने यसका साथ सत्ता पलट हैन सत्तामा रहेका मानिसहरूका विरुद्धमा जनआक्रोश केन्द्रित गर्ने कार्यमा केन्द्रित हुन्छन् । यो अपेक्षा कलर रिभोलुशनको हो । तर नेपालका हकमा यी सबै विशेषतामध्ये केही भेटिन्न । केही उल्लंघन भएको छ । हिंसाको प्रयोग कलर रिभोलुशनको चरित्र थिएन, सार्वजनिक सम्पत्तिमाथिको आगजनी र लुटपाट त झन् कुरै भएन तर यी सबै नेपालमा मात्रै किन सम्भव भयो ! यसका पछाडि दुई तर्क छन् ।
पहिलो, शान्तिपूर्ण आन्दोलनमा घुसपैठ । जेनजीका आयोजकहरूका अभिव्यक्ति सुन्दा नै थाहा हुन्छ, शान्तिपूर्ण आन्दोलनको आह्वान गरेका जेनजीका नाममा आपराधिक तत्वले फाइदा उठाए । दोस्रो, सत्ताधारीप्रतिको आक्रोश । नेपालीहरू बीच पनि प्रचलित छ, ‘लातको भूत बातले मान्दैन’ । अर्थात्, सत्ताधारीहरूप्रति घृणा यति थियो कि त्यो जेनजी पुस्तामा मात्रै होइन, त्यसभन्दा माथिल्लो पुस्तामा पनि थियो । त्यसले सहनशीलताको पारो नाघिसकेको थियो । यस अलावा, अर्को पनि तर्क गर्ने गरिन्छ नेपालमा सबै परिवर्तनहरू निषेधाज्ञा, कर्फ्यु तोडेरै ज्यान फालेर मात्र प्राप्त भएका छन् यो पनि अपवाद हुने कुरा थिएन ।
दक्षिण एशियाली प्रभाव
नेपाली जेनजी आन्दोलनका भिन्नतासँगै दक्षिणएशियामा नै परम्परागत रूपमा स्थापित भएका कलर रिभोलुशनको प्रभाव र विशेषताको भने अभाव देखिन्छ तर केही समानता सहितका विशेषताहरू भने नभेटिने हैनन् । तिनको संक्षेपमा चर्चा गर्दा पाकिस्तान (२००७–२००९) को वकिल आन्दोलन, जनरल परवेज मुशर्रफले न्यायाधीशहरूलाई बर्खास्त गरे विरुद्धको विरोध प्रदर्शनलाई परिचालन गर्न प्रतीकात्मक ऐक्यबद्धता प्रदर्शन गर्न कालो कोट सहितको शान्तिपूर्ण विरोध र संवैधानिक लोकतन्त्रको मागहरू प्रयोग गरियो । यसैको परिणामस्वरुप मुशर्रफको सत्ता ढल्न पुग्यो ।
श्रीलंका उदाहरण नेपालसँग अझै मिल्दोजुल्दो छ । सन् २०१५ को चुनावमा राष्ट्रपति महिन्दा राजापाक्षे विरुद्ध नागरिक समाजको साइलेन्स रिभोलुशन थियो । तर पछि गएर त्यो रिभोलुशन भ्रष्टाचार विरोधी र अधिनायकवादी सत्ताका विरुद्धको विद्रोहका रूपमा देखा पर्यो । परिणाम युगान्तकारी परिवर्तन गराएरै छाड्यो ।
भारतमा २०११–२०१३ मा भएको भ्रष्टाचार विरोधी आन्दोलन पनि कम आँक्ने परिघटना थिएन । अन्ना हजारेको नेतृत्वमा उक्त आन्दोलनले गान्धीवादी प्रतीकात्मकता, शान्तिपूर्ण विरोध र नागरिक दबाबको प्रयोग गर्यो, तर परिणाममा सरकारलाई ढाल्न भने सकेन ।
हालैको उदाहरणका रूपमा बंगलादेशलाई लिन सकिन्छ । बारम्बार सडक विरोध प्रदर्शनहरू भए, यद्यपि; यी सबै हिंसात्मक भए कलर रिभोलुशन शान्तिपूर्ण र आम जनताद्वारा सञ्चालित हुन्छ भन्ने कुराको अपवाद बन्यो । सेनाले शासकहरू जोगाउन सकेन र भारत निर्वासनका लागि सहज गरिदिएर आन्दोलन मत्थर भएको थियो ।
दक्षिणएशियाका यी उदाहरणले दक्षिणएशियाले कलर रिभोलुशनलाई पश्चिमा शैलीका रूपमा भन्दा आफ्नै शैलीमा ‘लातको भूत बातले मान्दैन’ भन्ने उक्तिलाई आधार मानेर परिमार्जित रूपमा सञ्चालित भएको पाइन्छ । अर्थात् यसमा अपराधीहरूको घुसपैठ वा विदेशी ग्रान्ड डिजाइन वा डिप स्टेट वा रअ लगायतका खुफिया एजेन्टहरूबाट सञ्चालित भन्ने आशंकाहरू पनि बजारमा प्रशस्तै छन् । अहिले नै निष्कर्ष निकाल्न हतार हुनेछ । विस्तारै तथ्यहरू बाहिर आउनेछन् । तथ्यहरूले त्यतिवेलै पुष्टि गर्नेछन् । तथापि यी घटनाहरू अनपेक्षित थिएनन् तर अनुमान गरे जस्ता भएनन् भन्न सकिएला ।
नेपालको लोकतान्त्रिक आन्दोलन र कलर रिभोलुशनका केही समानताहरू पनि छन् । उदाहरणका रूपमा सबैभन्दा महत्वपूर्ण रूपमा सन् १९९० को जनआन्दोलन एक र २००६ को जनआन्दोलन दुई कलर रिभोलुशनका उदाहरण हुन् जसले निरंकुशतालाई ढाल्ने काम गरे । पूरै व्यवस्थामा नै क्रान्ति ल्याइदिए । जबकि अन्यत्रका कलर रिभोलुशनहरू व्यवस्थाभित्रै सुधार गर्ने खालका भेटिन्छन् । नेपालको २००६ को विद्रोह क्रान्तिकारी थियो र राज्यको संरचनात्मक पुनर्संरचनाको नेतृत्व गर्यो । युक्रेन वा जर्जियाको विपरीत, नेपालको मार्गमा रक्तपातपूर्ण माओवादी विद्रोह समावेश थियो, जसले यसलाई पूर्वी युरोपको कडा अहिंसात्मक मार्गहरूबाट अलग गर्यो ।
षड्यन्त्रको सिद्धान्त र वास्तविकता
नेपालका हरेक परिघटनामा विदेशी शक्तिको हात देख्ने र बोलिहाल्ने प्रवृत्ति हावी छ जसलाई एक जमातले पत्याउँदैन । यसका कारणले साँच्चै विदेशी शक्तिले गराएका घटनामा पनि जनविश्वास पैदा गर्दैनन् । यो नेपालको विडम्बना हो । शान्तिपूर्ण आन्दोलन हिंसात्मक हुनु, गोली चल्नु, कलिला बालकहरूको ज्यान जानु, सुरक्षा निकाय आफ्नै रक्षा गर्ने स्थितिमा पुग्नु, धेरै पछि मात्रै सेनाले कर्फ्यू र निषेधाज्ञा आदेश जारी गर्नु अनौठा लाग्ने परिघटना छन् ।
एकातिर सुरक्षा निकायप्रतिको आलोचनाका रूपमा उनीहरूले केही गर्न नसकेको भन्ने मत छ भने अर्कोतिर कसैले गर्न नसकेको काम सेनाले मध्यस्थता गरेर परिस्थितिलाई काबुमा राखेर कम भन्दा कम क्षतिमा नागरिक सरकार गठन गराउन अहोरात्र खटेको कुरा प्रशंसनीय छ भन्ने मत छ । तथ्य जे भए पनि नेपालमा वैदेशिक चलखेल बाक्लै भएको बेला देशभित्रको आक्रोश पनि कम थिएन ।
गणतन्त्र विरुद्ध राजावादीको हर्कत, संघीयता विरुद्ध केन्द्रीयतावादीहरूको चिन्तन, अन्तर्राष्ट्रिय खेलाडीहरूको प्रभाव एकमुष्ठमा नेपालका हरेक आन्दोलनहरू पिल्सिन्थे यो कलर रिभोलुशन पनि अपवाद हुने कुरा भएन । यसै मौकामा जेनजी आन्दोलनले गति बढायो । शासन परिवर्तनमा सफल भयो, सरकार फ्याक्यो, अर्को बनायो तर चुनौती छन् । राजनीतिक अस्थिरता, कमजोर राज्यका संस्थाहरू, भ्रष्टाचार र अधूरा सुधारहरूका थुप्रोमा सामाजिक–आर्थिक रूपान्तरण र विकासका आकांक्षा सतहमा आएका छन् जुन अपूर्ण लोकतान्त्रिक रूपान्तरण एजेन्डाको प्रतीक हो भन्न सकिन्छ ।
निष्कर्ष
कलर रिभोलुशनको सिद्धान्तको यो विश्लेषणले नेपालको लोकतान्त्रिक संक्रमणका लागि बुझ्ने एक अवसरका रूपमा लिनुपर्दछ । दक्षिणएशियाका केही देशहरू जस्तै पाकिस्तान, श्रीलंका र भारतले यी कलर रिभोलुशनको झल्को दिने प्रवृत्तिहरूको नक्कल भोगे पनि नेपालले अकल्पनीय धन–जनको क्षति सबैभन्दा व्यापक र पीडादायी अनुभव गर्यो ।
सन् १९९० र २००६ का आन्दोलनहरू संरचनात्मक रूपमा कलर रिभोलुशनसँग तुलना गर्न सकिन्छ तर दायरामा यसले तिनीहरूलाई पार गरे, चुनावी लोकतन्त्रीकरणभन्दा बाहिर नेपाली राज्यको पुनर्निर्माणसम्म फैलियो । यद्यपि, अन्तर्राष्ट्रिय कलर रिभोलुशनको घटना जस्तै, नेपालले पनि संस्थागत कमजोरी र नेतृत्व संकटको सामना गरिरहेको छ, फेरि पनि कुनै पनि रिभोलुशनले शासन परिवर्तन गर्न सक्छ तर राजनीतिक स्थिरता वा सामाजिक न्यायको प्रत्याभूति दिलाउने कार्य भन्न सकिन्न । नेपाल त्यही अधुरा अपेक्षमा रुमल्लिएको छ । निकास पर्ख र हेरमा बहुप्रतीक्षित छ ।
प्रतिक्रिया 4