
३ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सार्वभौमसत्ता र संविधानलाई जोगाउन सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।
शुक्रबार संविधान दिवसका अवसरमा जारी वक्तव्यमा उनले सात दशक लामो संघर्षपछि नेपाली जनताले आफैंले निर्वाचित संविधानसभाबाट बनाएको संविधान जारी गरेको दिनलाई ऐतिहासिक भनेर स्मरण गरेका छन् । ‘संविधान नेपाली जनताले आफैंका लागि लेखेको भविष्य रेखा हो,’ उनले भनेका छन् ।
उनले संविधान जारी गर्दा देशले भोगेका चुनौतीहरूलाई सम्झँदै नाकाबन्दी र सार्वभौमसत्तामाथि उत्पन्न दबाबलाई नेपाली जनताले परास्त गरेको उल्लेख गरेका छन् । ‘संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्ने गरी भूपरिवेष्ठित मुलुकलाई भूजडित बनाउन उत्तर–दक्षिण यातायात संरचना निर्माण हुँदै थियो,’ उनले स्मरण गरेका छन् ।
गत साता जेन–जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे पनि ओलीले गहिरो दु:ख प्रकट गरेका छन् । आन्दोलनमा गोली हान्ने आदेश सरकारले नदिएको उनले जिकिर गरेका छन् । ‘सरकारले प्रहरीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन, छानबिनले सत्य उजागर गर्नेछ,’ ओलीको भनाइ छ ।
उनले आन्दोलनमा घुसपैठ गराई हिंसा मच्चाइएको भन्दै मृतक युवाप्रति श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका ओलीले देशमा देखिएको अस्थिर अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । सिंहदरबार, नक्सा, न्यायालय, राजनीतिक दलका कार्यालयदेखि नागरिकको सम्पत्तिसम्म तोडफोड र आगजनी हुनु दु:खद भएको भन्दै उनले यसका पछाडिका षड्यन्त्रबारे धेरै कुरा समयले नै बयान गर्नेछ,’ भनेका छन् ।
ओलीले नयाँ पुस्ताले देश बनिरहेको थियो कि बिग्रिरहेको थियो भन्ने कुरा आफैं अनुभव गर्ने उल्लेख गर्दै सार्वभौमसत्तामाथि भएको प्रहारलाई तत्काल बुझ्नुपर्ने आग्रह गरेका छन् । ‘नबुझिएमा हाम्रो सार्वभौमसत्ता इतिहासमा मात्र सीमित हुनेछ,’ उनले चेतावनीको शैलीमा भनेका छन् ।
इतिहासमा काजी भीम मल्लको मृत्युदण्डलाई स्मरण गर्दै ओलीले असन्तोषलाई यथार्थभन्दा बाहिर विस्तार गर्दा पछुतो मात्र बाँकी रहने टिप्पणी गरेका छन् ।
‘हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो,’ ओलीले भनेका छन्, ‘यथार्थभन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन्–झन् गाढा सम्झना गराउने छ ।’
अन्त्यमा, उनले सबै पुस्ताका नेपालीलाई संविधान र सार्वभौमसत्ता जोगाउन एकजुट हुन आह्वान गरेका छन् । ‘सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो । हाम्रो एकताले नै देशलाई यो संकटबाट जोगाउन सक्छ,’ ओलीले भनेका छन् ।
पढ्नुहोस् संविधान दिवसको अवसरमा केपी शर्मा ओलीले जारी गरेको वक्तव्य–
दिदीबहिनी तथा दाजुभाइहरू !
आज संविधान दिवस । नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैंले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन । लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन ।
यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैंले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो ।
संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरु बनाइरहेका थियौं । उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौं । हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौं । हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौं । अर्थतन्त्र तंग्रदै थियो ।
गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो– आह्वानकर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दु:ख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु ।
हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौं । प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ– नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ ।
जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ ।
यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ । हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ । विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ । हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ ।
तर, यो कुरा समय छँदै बुझ्नुपर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ ।
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सिमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो । यथार्थभन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन्–झन् गाढा सम्झना गराउने छ ।
हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ– सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न । सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो । हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय संकटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ ।
मेरो सबैमा अपील छ–
संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं ।
प्रतिक्रिया 4