+
+
Shares

मधेशी आयोगले खोज्यो नैतिक शिक्षा, सरकारलाई १० बुँदे सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते १४:१८

३ असोज, काठमाडौं । मधेशी आयोगले नैतिक शिक्षाको खाँचो औंल्याएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेशी आयोगले पेस गरेको वार्षिक प्रतिवेदनमा नैतिक शिक्षाको आवश्यकता रहेको उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार आयोगले ‘मधेशी आयोगको इच्छा: नैतिकवान मधेश र सशक्त नैतिक शिक्षा कार्यक्रम’ नै चलाएको थियो । यो अभियान कोशी प्रदेशको सुनसरी, सप्तरी, धनुषा, बारा, लुम्बिनी प्रदेशको रुपन्देही, नवलपरासी, कपिलवस्तुमा सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रम सञ्चालनको क्रममा सहभागीहरूबाट प्राप्त हुन भएका सुझाव समेतका आधारमा आयोगले समाजलाई सकारात्मक रुपमा रुपान्तरण गर्न नैतिक शिक्षाले सहयोग पुर्‍याउने बताएको छ ।

‘आजको मानव समाज निहीत स्वार्थ, लोभ, क्रोध, झगडा, असहिष्णुता, साम्प्रदायिकता, भाषागत, सामाजिक, धार्मिक तथा जातिय विभेद जस्ता साँघुरो सोचबाट गुज्रिरहेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

यस्तो सोचवाट ग्रसित समाजलाई नैतिक शिक्षाको माध्यमवाट सकारात्मक रुपमा रुपान्तरण गर्न सकिने आयोगको विश्वास छ । अगाडि भनिएको छ, ‘असल व्यक्ति, असल समाज र असल चरित्रको निर्माण तथा व्यक्तिको आफ्नो क्षमता, व्यवहार, उद्देश्य, समाजप्रतिको अवधारणासम्बन्धी सोचको विकास तथा क्षमताहरुको अभिबृद्धिका साथै मानिसलाई नैतिकवान बनाउन मद्दत पुर्‍याउँदछ ।’

नैतिक रुपमा सफा भएका मानिसले समाजलाई सकारात्मक तरिकाबाट अगाडि बढाउँदै व्यक्ति–व्यक्तिमा सदाचार, विनम्रता, सदभाव, प्रेमभाव, श्रद्धा, परोपकार जस्ता सकारात्मक पक्ष विकास गराउन सक्ने भनिएको छ ।

परिवार, समाज र मुलुकलाई सही गति र दिशानिर्देश प्रदान गर्न र सामाजिक व्यवहार सुधार गर्दै नैतिकवान समाज निर्माण गर्न नैतिक शिक्षालाई अनिवार्य विषयको रुपमा पाठ्यक्रममा समावेश गर्नुपर्ने आयोगको सुझाव छ ।

यस सम्बन्धमा सरकारलाई आयोगको १० बुँदे सुझाव छ ।

१. नैतिक शिक्षाको माध्यमबाट समग्र मानव जीवनमा वात्सल्य र माधुर्य भाव, समत्वको उर्द्धगमन तिरको यथार्थता प्राप्त हुने हुँदा नैतिक शिक्षाको उन्नयनमा सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने ।

२. मानवजीवनलाई सामाजिक कु–संस्कार कुरीति र अन्धविश्वासबाट उज्यालो दिशातिर उन्मुख गराउनुपर्ने हुँदा विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने ।

३. समाजमा रहेका राम्रा पक्षलाई प्रेरित गर्न यसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने।

४. समाज र राष्ट्रको विकासका लागि व्यक्तिगत सदाचार, स्वाबलम्बीले ठूलो भूमिका खेलेको हुन्छ भन्ने कुरामा जोड दिएको हुँदा नैतिक शिक्षा कार्यक्रम अझ बढी प्रभावकारी रुपले संचालन हुनुपर्ने।

५. व्यक्तिको ब्यबहार, विनम्रता, आदर, संस्कार जस्ता आधारभूत आवश्यक मान्यताहरुमा विशेष जोड दिनुपर्ने। जसवाट वाल–वालिकाहरु भविष्यमा असल र कुशल नागरिक भै देश, समाज र विश्व मै अनुकरणीय उदाहरण बन्न सक्ने ।

६. आयोगबाट नै वर्षेनी यस्ता (‘मधेशी आयोगको ईच्छा: नैतिकवान मधेश र सशक्त नैतिक शिक्षा कार्यक्रम) जीवन उपयोगी कार्यक्रमहरु संचालन हुनुपर्ने ।

७. सफलतम व्यक्तिहरुलाई समेत अभिमुखीकरणमा सहभागी गराउनुपर्ने ।

८. “गाउँघरमा पण्डितजी, मौलाना र भन्सा (अगुवा) हरूको कुरा धेरैले मान्छन्। आयोगले नै तालिम दिएर मन्दिर र गाउँको भेलामा भ्रष्टाचार, दाइजो, छुवाछुत र भेदभाव गर्नु पाप हो, अनैतिक हो भनेर प्रवचन दिन लगाउनु पर्ने ।

९. “आजका युवाहरूलाई सही बाटो देखाउन जरुरी छ। युवा क्लबहरू गठन गरेर उनीहरूलाई गाउँको सरसफाइ, वृक्षारोपण, अशक्तलाई सहयोग गर्ने जस्ता सामाजिक काममा लगाउने । जब उनीहरूले आफ्नो समाजप्रति जिम्मेवारी महसुस गर्छन्, तब गलत काम गर्नबाट आफैं रोकिन्छन् ।

१०. “यो कार्यक्रम एकपटक गरेर छोड्ने खालको हुनुहुँदैन। यसको निरन्तर अनुगमन हुनुपर्छ। हरेक गाउँबाट केही पढेलेखेका र प्रतिष्ठित युवाहरूलाई ‘नैतिकता दूत’ को रूपमा छानेर उनीहरूलाई आफ्नो समुदायमा यो अभियानलाई जीवित राख्ने जिम्मेवारी दिन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?