News Summary
Generated by OK AI. Editorially reviewed.- रूसको काल्मिकियामा प्रथम बुद्धिस्ट चेस प्रतियोगिता अन्तर्गत र्यापिड खेल सम्पन्न भएका छन्।
- प्रतियोगितामा आयोजक क्याल्मिकियाले २०.५ अंकसहित प्रथम स्थान हासिल गरेको छ।
- नेपालले १२.५ अंक जोडेर छैठौं स्थानमा रहँदा पुरुषोत्तम सिलवालले ५ अंक योगदान दिएका छन्।
५ असोज, काठमाडौं । रूसको काल्मिकियामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट चेस प्रतियोगिता अन्तर्गत र्यापिड १५ मिनेट १० सेकेन्ड इनक्रिजमेन्टका खेल सम्पन्न भएका छन् ।
यस आमन्त्रित अन्तर्राष्ट्रिय चेस प्रतियोगिता ९ टिमका खेलाडीहरूले व्यक्तिगत प्रतिस्पर्धाको आधारमा राष्ट्रको प्रतिनिधि गरे थिए ।
प्रतिस्पर्धामा आयोजक क्याल्मिकिया २०.५ अंक सहित प्रथम भएका छन् । रसियाकै बुयाटिया टिमले १८ अंक जोड्दै दोस्रो स्थान हात पार्यो । फिलिपिनी टिम १५.५ अंक तेस्रो, थाइल्याण्डको टिम १५ अंक चौथो, रसियाकै टाइभाको टिम १४.५ अंक पाँचौं स्थानमा रहे ।
नेपाल १२.५ अंक जोडेर छैठौं स्थानमा रहन सफल भयो । म्यानमार ११.५ अंकमा सातौं, भारत ८ अंक सहित आठौं स्थान र लाओस ७ अङ्क सहित नवौं स्थानमा रह्यो ।
प्रतियोगितामा व्यक्तिगत उत्कृष्ट खेल प्रदर्शन गर्दै हंगेरीका शीर्ष वरियता खेलाडी जिएम स्जुगिरोभ सनानले एकल आठ अंक जोडे भने रसियन ग्रान्ड मास्टर साइडाइपो झम्सारन ७.५ अंक, रसियन जिएम सोगडीझिएफ रोमन ६.५ अंक बनाए ।
यसै फिलिपिन्सका जिएम क्विजोन ड्यानियल, रसियन डब्लूजीएम कोभानोभा बैरे र उत्नासुनोभ एलेक्जेन्डरले समान ६-६ अंक जोडे ।
जिएम, डब्लूजिएम, आइएम, एफएम टाइटल बोकेका उत्कृष्ट विदेशी खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने क्रममा नेपालका सीएम पुरुषोत्तम सिलवालले आफ्नो टिमका लागि ५ अंकको योगदान दिन सफल भए ।
नेपाली महिला खेलाडी सिन्दिरा जोशीले ३ अंक जोडिन् भने एमेच्योर खेलाडी शैलेन्द्र न्यौपानेले ४.५ अंक योगदान गरे ।
प्रतियोगिता अन्तर्गत अर्को अन्तर्राष्ट्रिय ५ मिनेट ३ सेकेन्ड इनक्रिजमेन्ट रहने ब्लिट्ज खेल आइतबारबाट सुरु हुने नेपाल चेस महासंघले जनाएको छ ।
रसियन चेस फेडरेसनसँग दुई देशीय दौत्य सम्बन्ध कायम गर्न रुस पुगेका नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले युवा खेलाडीहरूको उत्कृष्ट प्रदर्शनप्रति सन्तोष व्यक्त गर्दै नेपालका सीएम पुरुषोत्तम सिलवालको खेल परिष्कृत हुँदै गइरहेको बताए । साथै सिलवालले चौथो र छैटौ वरियताका आइएम तथा जीएमलाई पराजित गर्नु असाधारण रहेको महर्जनले बताए ।
विगतमा पनि महासंघले विवेक थिङ, रुपेश जयसवाल र सौरभ प्रधानलाई रसियाको युनिभर्सिटीमा बुद्धिचाल खेल अध्ययनका लागि ५ वर्षीय छात्रवृत्ति प्रदान गरेको स्मरण गराउँदै यस अभियानलाई पुनः सुरु गर्न रसिया आएको जानकारी गराएका छन् ।
प्रतिक्रिया 4