
विद्रोहको पृष्ठभूमि
शब्दमा ‘उत्कृष्ट’ रहेको संविधान जारी भएको १० वर्षभित्र लोकतन्त्र पार्टी निर्देशित खुल्ला लुटतन्त्रमा रूपान्तरित भयो। खुलेआम राज्यदोहन गरेर करोड खाए पनि भो अर्ब खाए पनि भो, प्रधानमन्त्री निवासकै आँगन बेचे पनि भो, उडिरहेका हवाईजहाज थन्काइदिए पनि भो। अतिले नपुगेर अत्याचार शुरु भो र नागरिक अभिव्यक्ति स्वतन्त्रताउपर निरन्तर प्रहार र दमन भयो।
लुटतन्त्रविरुद्ध २३ र २४ भदौमा विद्रोहको केही घण्टा माझ दर्जनौं नागरिकले स्वतन्त्रता र स्वच्छ राज्य प्रणालीका निमित्त सहादत प्राप्त गरे। सामान्य प्रदर्शनबाट शुरु भएको यो घटना विश्व इतिहासमा एकाएक ऐतिहासिक विद्रोहमा परिणत भयो, जसले विश्वका अन्य भागमा पनि तत्काल प्रतिक्रियाको सिर्जना गर्यो। जसरी पुराना राडारहरूले भयावह हुरीलाई ट्रेस गर्ने क्षमता राख्दैनन्, नेपालका परम्परागत दलका महाराज र राजकुमारहरूले त्यसको एक त्यान्द्रो पनि आकलन गर्न सकेनन्, किनकि हिजो राजतन्त्रलाई अपदस्त गर्ने शक्तिले लामो समय यो बुझेनन् कि ‘राज’तन्त्र सरुवा रोग हो जो शक्तिमा रहनेलाई चाडै सर्छ र ती पनि हल्लिन र उखेलिन रत्तिभर समय लाग्दैन।
निरन्तर दोहनमा झिनो बनिसकेका नेपालका जस्तै राज्य प्रणालीलाई केही युवाले हल्लाइदिने वातावरण सर्वत्र खोक्रा बनिसकेका भ्रष्ट देशहरूमा व्याप्त छ, भ्रष्टाचारमा लिप्त मुलुक मानौं बारुदको तकियामाथि निद्रामा छन् जुन जतिसुकै बेला विस्फोटित हुन सक्छ र तखता पलट गर्न सक्छन्, हामीकहाँ भएको त्यही हो।
यो विद्रोहको नेतृत्वमा ती युवा थिए तर जसले कैयन् दमित पुस्तालाई प्रतिनिधित्व गरेका थिए, जो शताब्दीऔंदेखि शोषित थिए। शताब्दीऔं किनकि प्रत्येक पिंढीका युवालाई ती पिंढीका प्रौढ परम्परावादीहरूले शोषण, दमन र दुरुपयोग गरेको इतिहास हामीमाझ छ, जेन-जी तिनको न्यायका लागि लडेको प्रतिनिधि पुस्ता बन्न पुगेको छ।
हाम्रो मुलुकमा स्कूल कलेज जानु भनेको २ जनामा १ जना फेल हुनु, अस्पताल जानु भनेको उपचारको लागि कमिशन बुझाउनु, नागरिकता बनाउनु भनेको पासपोर्ट बनाउनु, पासपोर्ट बनाउनु भनेको पुन: कसैको बाध्यताको दासत्व स्वीकारेर अनिवार्य आजीवन पलायनलाई स्वीकार गर्नु हरेक युवाको नियति रह्यो। त्यस ब्रह्मलुटको केन्द्रमा थियो पार्टीगत कुसंस्कारको जगमा फस्टाएको लुट र पार्टीकरणले गरेको आम नागरिक आत्मसम्मानको खुलेआम लिलामी। जेनजीलाई हरपल त्यसले टोक्यो।
आफू जिरो लुटेरा नेताको हिरो बनेकोले तिनलाई उल्का भो, नेपो किड्सको लुटको अकुत विलासिता प्रदर्शनले वास्तविक लोकतन्त्र आउन वास्तविक स्वतन्त्रता पाउन बाँकी छ भन्ने सन्देश दियो। अन्तत: तिनले विद्रोहको बाटो लिए, विद्रोहको केही घण्टाभित्र तिनको सहादत र बलिदानले नेपाली राजनीति अपूर्व क्लिन स्वाइपको दिशामा अगाडि बढ्यो।
हाइब्रिड सत्तापलट
जेन-जीको माइतीघर प्रदर्शन बिजुली बजार पुग्दा आन्दोलन बन्यो र बानेश्वर पुगेपछि सत्तापलट गर्ने विद्रोहमा परिणत भो। त्यसैले जेनजी विद्रोह हो सामान्य प्रदर्शन रहेन, संगठित आन्दोलन भएन र नियोजित सत्तापलटको व्याख्या भित्र अटेन। किनकि, यो विश्वमाझ अभूतपूर्व राजनीतिक दृश्य थियो जसमा सत्तापलट (रेजिम चेञ्ज) को सामान्य परिभाषालाई बदल्ने तागत र विद्यमान संविधानको मर्म जोगाउने समय पनि थियो। त्यसैले यो एक हाइब्रिड सत्तापलट हुन सक्छ जसले पुरानोलाई निमिट्यान्न पारेको पनि छैन, नयाँ ऐतिहासिक कदम लिन डराएको पनि छैन ।
यो विद्रोहले पटक-पटक संविधान उल्टाएर मात्र परिवर्तन हुन्छ भनेन न त हामी १०औं वर्ष बन्दुक उठाउँछौं भन्यो, यो विद्रोहले कुशासनका नाइके भ्रष्टहरूलाई जेल कोच्न यदि संविधानको धारा घुमाउरा छन् भने ती धाराका मर्म अनुरुप अकुत आर्जनका हिसाबकिताब देखाऊ, लुट्नेलाई नछोड भनेको हो। र, भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न प्रणालीगत अर्थात् शासकीय सुधार आवश्यक छ भने पूर्व तयारी स्वरुप संवाद शुरु गर जसले गर्दा आगामी सरकार स्वच्छ र संसद्मा संविधानको संशोधन सामूहिक र त्यसको प्रभावकारी एवं सफल पालना हुनसकोस्।
राजनीतिक दलहरू नवीन बनेर फेरि उठुन्, नवीन पुस्ता र तिनका आन्दोलनसँग सहकार्य गरुन्। किनकि, यो देश एक पुस्ता, एक दल, एक विचार वा एक भूगोलले मात्र बनाउन सक्दैन, हातेमालो र सहकार्यले मात्र बन्छ
भदौ २३ र २४ को परिकल्पना विद्यमान संविधानले गरेको थिएन र त्यसैले यो संविधानले यो विद्रोहको सहज सम्बोधन गर्न सक्ने परिस्थिति बनेन, र रूपान्तरणको प्रस्थान बिन्दु अप्रत्याशित उकाली–ओरालीबाट निर्माण भयो। सब चिज पातालमा पुगे पनि प्रबल संक्रमणको बावजुद मुलुकको स्वाधीनता र संविधान अक्षुण्ण रह्यो, त्यो नै यो विद्रोहको सौन्दर्य हो र आगामी सामूहिक सहकार्यको जग हो, अभूतपूर्व सत्तापलट हो र राजनीतिक सुसंस्कार निर्माण निमित्त अभूतपूर्व सहकार्यको अवसर हो।
सन्नाटा
खरानी पखालिएर सडक फेरि सफा भो। हरेक युवा मनमा विद्रोहको जुनून बाँकी छ तर मस्तिष्क तार्किक बन्दै गएको छ। सिंहदरबारमा नवीन सरकार गठन भएको छ, सडकमा विद्रोहीहरू एजेन्डा निखार्दै छन्, पुरानाहरू आफूलाई पुनरावलोकन गर्दैछन्, नयाँहरू आफूलाई तयार गर्दैछन्। सबै राजनीतिक चिन्तन र शक्तिबीचको नवीन अर्थ बुझ्दैछन्, पर्गेल्दै छन्। सबै पुन: उठ्ने प्रयास गर्दैछन्। सारा मुलुक एक भयानक भूकम्पपछिको शून्यतामा छ, फेरि परकम्पनको डर छ। तर तिनलाई कसरी शान्तिपूर्ण र दिगो सम्बोधन गर्ने यो अवस्था सबैमाझ छ। कैयन् कुरा स्पष्ट हुन समय लाग्ला, संक्रमणकालको पहिलो प्रकृति नै सन्नाटा हो। त्यसपछि समूहगत र सामूहिक स्पष्टता आउने आशा गर्न सकिन्छ र त्यो स्पष्टताले नै सहकार्य आधारित भई यस विद्रोहका माग सम्बोधनको चरणलाई दिशानिर्देश गर्नेछ।
सहकार्यको अवसर
दशकौं पार्टी पदाधिकारी रहेर आज फेरि पार्टीका ‘युवा’ नेता सबै दोष सभापति वा अध्यक्षमा मात्र थोपरिरहेका छन्, मानौं महाभारतमा धृतराष्ट्र मात्र गलत थिए र १०० भाइ कौरव गलत थिएनन्। विगत तीन दशकका सबै दोष तीन दलका जम्मा तीन नेताले मात्र लिनुपर्ने हो कि समग्र देश भत्काउने पुराना दलगत प्रवृत्तिलाई सम्बोधन हुने किसिमले लिने ?
देश बिगार्नमा पृष्ठभूमिमा सामान्य नागरिकको मौनतादेखि चरम राजनीति गरिरहेका पेशागत संगठन र राजनीतिक दल दोषी छन्। आज सबैले सो गल्तीको आत्मसात् गर्न र सुध्रन ढोका खुलेको छ। र, यसबेला दलीय नेताका निरंकुशता र सदस्यको दासताबाट दललाई मुक्त बनाउने अभूतपूर्व अवसर नयाँ पुराना सबै दलहरूलाई छ।
अर्कोतर्फ, परम्परागत पार्टीभित्रका युवाले नेतृत्व परिवर्तनको वातावरण निर्माण गर्न दशकौंको प्रयासमा पनि सकेनन् या चाहेनन्, तर जुझारु जेन-जीको केही घण्टाको त्यागमा नै त्यो सम्भव भयो। त्यो पार्टी विधानका प्रक्रियागत जालो र गुट निर्माणको झोले राजनीति मार्फत भएन तर जुन म्यान्डेटले राज्यसत्ता पल्टाउन सक्छ त्यस्तै विद्रोहको म्यान्डेटले पार्टी सत्तामा दशकौं विराजमानहरूलाई पनि उल्टाउन सक्थ्यो तर त्यो भएन किनकि त्यसका युवराजहरू महाराज बन्ने होडमै थिए। त्यसैले पनि यो पार्टी विद्रोह र रूपान्तरणको बेला हो।
आज पार्टी साम्राज्यको शिखर ढलेको छ तर पार्टीलाई नवीन बनाउने ढोका पनि खुलेको छ। पार्टीका नवीन पङ्तिले चिन्तन गर्ने प्रश्न त्यो हो कि, यो सरकारलाई सहयोग गर्ने वा नगर्ने त्यो मूल प्रश्न होइन, आफूलाई सपार्ने कि अस्तित्वविहीन बनिराख्ने?
यी मूल प्रश्नहरू चिर्न र नवीन भविष्य कोर्न यो जेन-जी विद्रोहले हाम्रा राजनीतिक संस्कारलाई सर्जिकल स्ट्राइक गरेका छन्। त्यसको प्रत्युत्तर अझै घृणा र द्वेष छरेर होइन बरु यो किन भयो र यो कारणलाई सम्बोधन गर्न साझा समाधान कसरी निर्माण गर्न सकिन्छ भन्नेमा हुनुपर्छ।
हिजोका भूलमा इमानदार एवं संयुक्त आत्मालोचना होस् र नवीन मार्ग अवलम्बन गर्न बृहत् गोलमेच सम्मेलन होस् ताकि लोकतन्त्रका साधनको रूपमा दलहरूले श्वेतपत्र र दलगत आचारसंहिताको निर्माण गरुन् र समस्याको गहिराइमै गएर समाधान गरुन्। नवीन बनेर फेरि उठुन् र नवीन पुस्ता र तिनका आन्दोलनसँग सहकार्य गरुन्। किनकि, यो देश एक पुस्ता, एक दल, एक विचार वा एक भूगोलले मात्र बनाउन सक्दैन, सबैको हातेमालो र सहकार्यले मात्र बन्छ।
वर्तमान सरकार र अवस्था दुवै संक्रमणकालीन हुन्। नागरिक लोकतन्त्रका जग हुन् भने दलहरू नै संविधानका खम्बाहरू हुन्। जब ती फेरिन्छन् तब मात्र नागरिक शासन जनमुखी र मुलुक सम्मानित हुन्छ। तसर्थ यो एक अभूतपूर्व अवसर दलीय रूपान्तरणको निमित्त पनि फलदायी छ। तर, त्यस निमित्त विगतलाई आत्मसमीक्षा गर्ने वक्तव्य जो आएको छ पार्टीहरूबाट त्यो आम सहकार्यको लागि सकारात्मक प्रस्थानबिन्दु हो। खुल्ला र सर्वपक्षीय गोलमेच सम्मेलन जेनजीले अपेक्षा गरेको रूपान्तरणसम्म पुग्ने उपयुक्त प्राथमिक साधन हुन सक्छ।
२१औं शताब्दीमा अपवादबाहेक विश्वका अधिकांश मुलुकले विभिन्न राजनीतिक प्रणालीको अभ्यासको अनुभव लिइसके। अबको यो शताब्दी तिनै प्रणाली डिजिटल युगमा रूपान्तरित र झन् परिष्कृत हुनेछ। सुशासनमा डिजिटल क्रान्ति र एआईको भूमिकाले दलमा लाखौं कार्यकर्ता र नेता हामीलाई नचाहिन पनि सक्छ अर्थात् बैठक सञ्चालन गर्न र माइन्यूट लेख्न नै जीवनभर दलीय झोला बोक्नुपर्दैन होला। र, जेनजी र पछिल्लो पुस्ताले गर्ने राजनीति अझै उदार, लोकतान्त्रिक र सहज समान्नित जीविकाकेन्द्रित हुनेछ जसलाई डिजिटल प्ल्याटफर्मले सहज अवसर र असहज चुनौती दुवै लिएर आउनेछ।
तसर्थ, भ्रष्टाचार निर्मूलीकरणका लागि पार्टीको संरचनागत सुधार, नागरिक एवं राष्ट्रिय हितका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, स्वच्छ चुनावमा स्पष्ट अजेन्डासहित स्वच्छ उम्मेदवारलाई मार्गप्रशस्त र विदेशमा रहेका मतदातालाई समेट्ने गरी सम्बोधन हुने गरी अधिकतम सहभागिता सहितको स्वच्छ चुनाव र सो जनमतद्वारा स्थापित हुने आगामी संसद्ले तिनका नवीन घोषणापत्रका अनुरुप गर्ने प्रणालीगत संवैधानिक मुद्दा, सुशासन एवं जीवनस्तर सुधारका सबै आवाजको सम्बोधन गर्न आज सामूहिक गृहकार्य गर्न जरूरी छ, ताकि भोलिका सहकार्यका लागि साझा राष्ट्रिय एजेण्डा निर्माण हुन सकोस् ।
माग र बहस
जेन-जीको माग २१औं शताब्दीको माग हो। प्रणालीगत परिवर्तनका एकतर्फी नारा वा घोषणा वा अमूक राष्ट्रवादका शंका–उपशंकाका भद्दा मुद्दा भन्दा पनि जीविका र नागरिक आत्मसम्मानको निमित्त भ्रष्टाचार निर्मूलीकरणसँग जेन-जी सम्बन्धित छन्। त्यसले हाम्रो स्वतन्त्र जीवनयापनलाई गाँजेको छ र आत्मसम्मानलाई ढालेको छ। युवाहरूका माग सामान्य तर अर्थपूर्ण थिए, जसलाई सम्बोधन गर्न एक लाठीको पनि आवश्यकता थिएन ।
‘१. डिजिटल प्ल्याटफर्म खोल र त्यसमा हाम्रो स्वतन्त्रता उपर अनावश्यक हस्तक्षेप नगर। २. सर्वत्र भ्रष्टाचारले हामी निसास्सिएका छौं, तत्काल भ्रष्टाचार रोक। ३. त्यसका मूल मुहान राजनीतिक पार्टी र पार्टीकरणसँग जोडिएका छन् तिनलाई बन्द गर। ४. हाम्रो उज्ज्वल जीवन बाँच्न भ्रष्टाचार तगारो हो त्यसलाई हटाउ अन्यथा, हामी तिमीलाई हटाउने छौं- एकपटक होइन बारम्बार हटाउने छौं’ जस्ता माग सहित उनीहरूले केही बहस उठाएका थिए।
प्रथम : संवैधानिक विषय
संसदीय व्यवस्थाले दिगो विकासको लागि स्थिरता दिन सकेको छैन। हाम्रो कार्यकारी अंग संसद्को अंकगणितले आउँछ र दोहोरो भूमिकामा छ, त्यसैले आम जनताले सीधै प्रधानमन्त्री सहित कार्यकारी नै चुन्न सके हुन्थ्यो कि ?
शक्तिपृथकीकरण उपयुक्त पो हो कि? त्यस्तै, हाम्रा प्रदेश निष्प्रभावी हुन केले रोकेको छ वा त्यो प्राकृतिक रूपमा निष्प्रभावी नै हो? अहिले संविधानको शासकीय प्रणालीले नै भ्रष्टाचारलाई प्रश्रय दिएको छ भने त्यसमा सुधारको लागि संवाद शुरु गर। आगामी संसद्ले संविधानमा तीव्र गतिमा संशोधन गर, र यो बहसलाई निष्कर्षमा चाँडो पुर्याऊ। हामीसँग भ्रष्टाचारको जरो उखेल्न धेरै समय छैन, चाँडै गर। अन्यथा, फेरि विद्रोह हुन्छ।
दोस्रो : पार्टी विधानका विषय
के कुनै व्यक्ति आजीवन नेता हुन सक्छ? हामी जस्ता युवाको पालो नपाई हामी सक्किने हो कि हामीले पनि राज्य सञ्चालनमा भूमिका बहन गर्न सक्छौं? त्यसो भने राजनीति गर्ने उमेर कति हो? मृत्युशय्यासम्मै हो ?
यस विद्रोहको सारांश नै पार्टीहरू तिम्रा नेता–कार्यकर्ता स्वच्छ राख, तिमी संशोधित होऊ। तिमी स्वच्छ होऊ अनि मात्र मुलुक स्वच्छ र प्रगतितर्फ लम्कन्छ। यदि त्यसो हुँदैन भने नतिजा भोग। ‘हामीले तिमीलाई नेता बनाएका हौं, हामी नागरिक मूल हौं र तिमी केवल प्रतिनिधि हौ। हामी निर्माता हौं तिमी निर्मित हौ। हामी स्रोत हौं तिमी केवल साधन हौ। केवल साधन। पत्यार लागेन ल हेर, हामी मूल पात्र हौं, र तिमी केवल आवधिक प्रतिनिधि मात्र हौ, राज्यसत्ताको आजीवन प्रतिनिधि होइनौ फेरि हामी दास र तिमी राजा होइनौ। बस, हामीलाई गरिखान देऊ, हाम्रा प्रगतिका प्रत्येक पाइलामा तिमी जन्जिर न तेर्साऊ र पार्टीगत दलाली भाग नखोज। यो हर तरहको प्रशासनिक झमेला, लुटतन्त्र र निहत्था तन्नेरीमाथिको बर्बर गोलीको वर्षाको जवाफ केही घण्टाभित्र राज्य कब्जा गरेर दिन सक्छौं। हेक्का रहोस्।’
नवीन जनादेश
जेन-जी विद्रोहपछि जेनजी युवागण, राष्ट्रपति, नवनियुक्त प्रधानमन्त्री र नेपाली सेनाको भूमिका सराहनीय छ। हो, सुरक्षाको चेन अफ कमाण्ड कहाँ चुक्यो त्यसको अध्ययनपछि निष्कर्ष आउने नै छ, र बर्बरताका सर्जकहरू सजायको भागीदार हुनुपर्छ नै। र, विद्रोहसँगै जुन विध्वंस मच्चाइएको छ, त्यसलाई कदापि छुट दिनुहुँदैन।
प्रतिकूल परिस्थितिमा निर्मित नयाँ सरकारले यस विद्रोहमा जीवन उत्सर्ग गरेकाहरूको परिवारको मानसिक एवं आर्थिक सुरक्षाको ग्यारेन्टी तत्काल गर्न आवश्यक छ। त्यसैगरी, शारीरिक र मानसिक घाइते भएकाहरूको सघन उपचार र सोसहित सम्मानका साथ जीवनयापन गर्ने वातावरणको निर्माण गर्नुपर्छ।
यो सरकारलाई शान्तिपूर्ण आन्दोलनमा तत्कालीन सरकारद्वारा भएको मास सुटिङको छानबिन गरी बर्बर गोली प्रहार गर्नेहरू तथा आदेश दिनेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्दछ। दोषीलाई कठघरामा उभ्याउने जिम्मेवारी सरकारले जसरी पनि पूरा गर्नैपर्छ। नरसंहारका नाइकेहरूलाई एक हत्याराले पाउने जस्तै सजाय दिनु सडक र कानून दुवैको स्पष्ट सन्देश हो।
नवीन सरकारलाई निर्वाचन सम्पन्न गर्ने मूल म्यान्डेट छ। यो म्यान्डेट सडक र राष्ट्रपतिद्वारा अनुमोदित छ। यो विद्रोह माइतीघरबाट शुरु भएर संसद् भवनमा सकिएको होइन। यसमा ऐक्यबद्दता र प्रभाव विश्वभरि रहेका नेपालीहरूको छ। तसर्थ, अबको आम निर्वाचनमा विदेशमा रहेका कानूनत: योग्य मतदाताहरूलाई मतदान गर्ने व्यवस्था गराउनेतर्फ सरकारले काम गर्नुपर्छ। त्यसैगरी युवाहरूलाई उम्मेदवारी दिन प्रोत्साहन गर्नु उचित हुन्छ।
यो विद्रोह भ्रष्टाचारका मुद्दाहरूलाई विना पूर्वाग्रह प्रभावकारी र द्रुत निराकरण गर्न प्रेरित थियो। सर्वत्र फैलिएको पार्टीकरण र भ्रष्टाचारका मूल स्रोतको अन्त्य जेन-जी आन्दोलनको मूल मर्म हो। त्यसका प्राविधिक पक्षमा जेन-जी मौन भए पनि मूल सन्देश हो कि यो भ्रष्टाचार अन्त्यको मुद्दामा हामीलाई थप ओठे सेवा चाहँदैनौं ठोस सम्बोधन खोज र दोषीलाई सजाय गर।
संविधान संशोधनको विषय सबैले सुन र आगामी संसद्को पहिलो बैठकको सत्रमै प्रणालीगत सुधार र शासकीय प्रभावकारिताका लागि संविधान संशोधनका एजेन्डा सुचारु गर्ने वातावरणको सिर्जना राजनीतिक सरोकारवाला सबैले गर।
विद्रोह जायज थियो, नरसंहार र विध्वंस जायज थिएन। तर सबै भएर नै छोड्यो। इतिहासको नियति नै यही हो। इतिहासमा सिंहदरबार बन्नु अगाडि त्यो भद्रकाली पछाडिको ठाउँ केवल एक घना धानको खेत थियो र जसरी त्यहाँ सिंहदरबार उभ्याउन सकियो, हो धेरै चीज सक्किए तर अब हाम्रो अगाडि नेपालको विशाल मैदान खाली छ। तीन अर्ब जनसंख्याले घेरिएको तीन करोड जनसंख्याको सुन्दर स्वाधीन मुलुक छ, आम नागरिकदेखि राष्ट्रिय शक्तिहरू सबै मिलेर भविष्यको उज्ज्वल नेपाल उभ्याउन सक्छौं, र त्यो सहकार्य नै शहीदप्रतिको वास्तविक श्रद्धाञ्जली र राष्ट्र निर्माणको इमानदार संकल्प हुनेछ ।
प्रतिक्रिया 4