+
+
Shares
विचार :

वर्तमानको निर्मम समीक्षाले तय गर्छ एमालेको भविष्य

पार्टीमा आबद्ध र राज्यका विभिन्न ओहोदामा रहेका सबै नेताको सम्पत्ति विवरण सार्वजनिक र कुनै कैफियत देखिए कानून बमोजिम कारबाहीका लागि सिफारिश गर्न पार्टी तयार हुनुपर्छ ।

निरज आचार्य  निरज आचार्य 
२०८२ असोज ९ गते १२:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेन–जी पुस्ताले २३ र २४ भदौमा गरेको आन्दोलनले मुलुकको राजनीतिक परिवेश परिवर्तन हुने संकेत देखाएको छ।
  • आन्दोलनको क्रममा २३ गते २३ जना अबोध किशोर र युवाको ज्यान गएको छ।
  • आन्दोलनपछि देशभर आगजनी, हिंसा र तोडफोड भएको छ र त्यसको निष्पक्ष छानबिन आवश्यक छ।

यतिबेला हामी इतिहासको सबैभन्दा कठिन मोडमा छौं । जेन–जी पुस्ताले सुशासन, भ्रष्टाचारको अन्त्य, सामाजिक न्याय र सामाजिक सञ्जालको प्रयोगलगायत मुद्दामा केन्द्रित भएर २३ र २४ भदौमा गरेको आन्दोलनले मुलुक फरक अवस्थामा पुगेको छ ।

आन्दोलनको क्रममा २३ गते नै एकै ठाउँमा २३ जना अबोध किशोर र युवाको ज्यान गयो । हृदयविदारक यो घटनापछिको आक्रोश भोलिपल्ट देखियो । मुलुकभर आगजनी, हिंसा, तोडफोड र लुटपाटको महासंग्राम चल्यो, नेपालको इतिहासमा कहिल्यै नभएको, १० वर्षे माओवादी द्वन्द्वकाललार्ई समेत उछिनेको त्यस घटनाले नेपाली समाजको मनोविज्ञानमा अकल्पनीय चोट पुर्‍यायो । सम्पूर्ण राष्ट्रले एक सामूहिक आघात बेहोर्‍यो ।

जेन–जी पुस्ताको आन्दोलन नेपालको राजनीतिमा केवल एक घटना मात्र होइन, एक ऐतिहासिक मोड हो जहाँबाट नेपाली राजनीतिक परिवेश नै परिवर्तन हुने संकेत देखिंदैछ । विद्यालय र कलेजका पोशाकमा हातहातमा प्लेकार्ड बोकेर शान्तिपूर्ण आन्दोलनमा निस्किएका निहत्था किशोर युवामाथि छाती र टाउकोमा ताकी–ताकी गोली प्रहार गरिएको घटना इतिहासको कालो दिनका रूपमा दर्ज भइसकेको छ ।

भोलिपल्ट आन्दोलनका घुसपैठहरूले ऐतिहासिक महत्व बोकेको सिंहदरबार, नेपाली जनताको सर्वोच्च प्रतिनिधिमूलक थलो संघीय संसद् भवन लगायतका धरोहर, राजनीतिक पार्टीका कार्यालय, उद्योग प्रतिष्ठान, व्यावसायिक व्यक्ति, राजनीतिक नेतृत्वमा रहेकाहरूका घरमा गरेको आगजनी र जनधनको क्षति पनि कालो दागकै रूपमा नेपालको इतिहासमा दर्ज भएको छ । यो असामान्य परिस्थितिको सुविचारित र संयमतापूर्वक समाधान नखोजिए आगामी दिनहरू अझै जटिल हुने निश्चित छ ।

जेन–जी आन्दोलन परम्परागतभन्दा फरक देखिन्छ । यो कुनै एक नेता वा संगठनको अगुवाइमा चलेको नभई मुलुकमा बढ्दो भ्रष्टाचार, कुशासन, नेताहरूका आसेपासेले गरेको राज्यस्रोतको दोहन, नेताका सन्तान र आसेपासेका विलासी जीवनबाट वाक्क भएका किशोर युवाहरूमा ‘डिजिटल सामूहिकता’को आधारमा निर्माण भएको सामूहिक आक्रोश हो ।

सरकारले दर्ता हुन नमानेका सोसल मिडिया प्ल्याटफर्महरूलार्ई बन्द गरेपछि चुलिएको आक्रोश २३ भदौमा सडकमा पोखिएको थियो । त्यसक्रममा उनीहरूले दुईवटा महत्वपूर्ण मुद्दा उठाएका थिए ।

पहिलो थियो, भ्रष्टाचारको अन्त्य र दोस्रो थियो, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था । बन्द सामाजिक सञ्जालहरू सञ्चालन, संवैधानिक निकायका नियुक्तिमा राजनीतिक रूपमा हुँदै आएका भागबन्डाको अन्त्य जस्ता अन्य मुद्दा पनि उनीहरूले उठाएका थिए । यसरी शान्तिपूर्ण रूपमा थालिएको सडक प्रदर्शनले दुई दिनमै दुईतिहाइ बहुमतको बलियो सरकारलार्ई उल्टाइदियो ।

यो तहको असन्तुष्टि विस्फोट र यत्रो आँधीबेरी सृजना हुँदा के राज्य मेसिनरी बेखबर थियो ? या नजरअन्दाज गर्दै थियो ?

शान्तिपूर्ण आन्दोलन कसरी हिंसात्मक विद्रोहमा परिणत भयो भन्ने कुराको गहिरो, स्वतन्त्र र न्यायिक छानबिनको विषय बन्नुपर्दछ । कुनै पनि घटना या परिघटनाका पछाडि आन्तरिक र बाह्य कारणहरू त हुन्छन् नै । आन्तरिक कारणहरू प्रधान रहने र बाह्य कारणहरू सुषुप्त रहने बुझाइ नै वस्तुपरक बुझाइ हो । बाह्य कारणहरूको रहस्य खुल्दै जानेछ त्यसको बेग्लै चर्चा र परिचर्चा हुने नै छ ।

हाम्रा आन्तरिक कारकहरूको सही बुझाइ र विश्लेषण गर्नु आवश्यक छ । आन्दोलन पूर्वको पृष्ठभूमिलार्ई हेर्ने हो भने समाज ‘खासगरी डिजिटल समाज’ राज्य संयन्त्रको काम कारबाही, ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका कारण निराशा र छटपटीपूर्ण अवस्थामा पुगेको थियो । यसको आकलन गर्ने र समयमै समाधान खोज्ने सन्दर्भमा राज्य र राजनीतिक दलहरू चुके ।

देशले भौतिक विकास र प्रगतिमा केही विकास गरिरहेको थियो । तर, अपेक्षा अनुसार थिएन । सुशासन र नीतिगत सुधारमा राज्य र राजनैतिक दलहरू कतै न कतै चुकेको अवस्था थियो । त्यही ‘फल्ट लाइन’ नै आम असन्तुष्टिको कारक बन्यो र त्यही जगमा रहेर विद्रोह भयो । त्यसमा ‘टिपिङ पोइन्ट’को काम सामाजिक सञ्जाल बन्दको निर्णयले गर्‍यो ।

अहिलेको युवा पुस्ता अधिकतम समय सूचना तथा प्रविधिका प्ल्याटफर्ममा व्यस्त रहने र आफ्ना भावना र अभिव्यक्तिहरू त्यहीं साझा गर्ने परिपाटीमा अभ्यस्त छन् । त्यही सञ्जालको प्रयोगबाट व्यापार व्यवसाय सञ्चालन गर्ने पंक्ति पनि ठूलो छ । सरकारले सामाजिक सञ्जाल नियमन गर्न ल्याएको प्रावधानले युवालार्ई थप आक्रोशित बनायो र सडकमा आउन प्रेरित गर्‍यो।

नेपाली युवामा लामो समयदेखि सञ्चित राजनीतिक नेतृत्व प्रतिको अविश्वास, भ्रष्टाचारप्रतिको आक्रोश र बेरोजगारीको निराशा लगायत आक्रोशहरू यो एकै झट्कामा बाहिरियो । मनोवैज्ञानिक हिसाबले, सामूहिक आघातले समूहलार्ई एकताबद्ध गर्छ र प्रतिरोधको ऊर्जा सिर्जना गर्छ । त्यही परिस्थितिमा अनेक खालका स्वार्थ समूहको आन्दोलनमा घुसपैठ भयो । आन्दोलनलार्ई भड्काउन, तोडफोड र आगजनीमा भीडलार्ई प्रयोग र सार्वजनिक निजी सम्पत्तिको विनाश गर्न घुसपैठिया तत्वहरू सफल भए ।

सन् १९९७–२०१२ बीच जन्मिएको यो पुस्ता इन्टरनेटसँगै हुर्केको छ । उनीहरूसँग सूचनामा पहुँच राख्ने, सूचना साझा गर्ने र सूचना प्रयोग गरेर संगठित हुने क्षमता छ । यसले उनीहरू परम्परागत मिडिया र राजनीतिक दलको एजेन्डाबाट टाढा रहने स्थिति रह्यो ।

अहिलेको आम राजनीतिभन्दा बाहिर उनीहरूको उपस्थिति रह्यो । राजनीतिक दलका कार्यक्रम र संगठनले उनीहरूलार्ई आकर्षित गर्न सकेनन् । अथवा, अहिलेको राजनीतिले बोल्ने भाषा र उनीहरूले बुझ्ने भाषाको बीच ठूलो खाडल रह्यो, जसले उनीहरूलार्ई समग्र राजनीतिक प्रणालीप्रति नै नकारात्मक र उदासीन बनाउँदै लैजान भूमिका खेल्यो ।

यो तहको असन्तुष्टि विस्फोट र यत्रो आँधीबेरी सृजना हुँदा के राज्य मेसिनरी बेखबर थियो ? या नजरअन्दाज गर्दै थियो ? सरकार कहाँ चुक्यो ? आन्दोलनभित्रका र बाहिरका विभिन्न आयामको पनि गम्भीर समीक्षा हुने नै छ । तर, आम जनता र युवाले आन्दोलन मार्फत हामीलाई केही सन्देश दिएका छन् । त्यसलार्ई मनन् गर्दै धुलो टकटक्याउँदै उठ्नुुपर्दछ । जनताको म्यान्डेट सहित पार्टीलार्ई पुनः व्यवस्थित गरेर अघि बढ्नुपर्दछ । यो अहिलेको आवश्यकता हो । दाउपेचमा रुमलिनु जरूरी छैन ।

जेन–जी आन्दोलनमा भएको धनजनको क्षतिको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीलार्ई सघाउन र त्यसको लागि दबाब सिर्जना गर्न नेकपा (एमाले)ले पहलकदमी लिनुपर्दछ । अविलम्ब उच्चस्तरीय छानबिन आयोगको माग र त्यसलार्ई निष्पक्ष बनाउन रचनात्मक सहयोग गर्नु नेकपा (एमाले) पंक्तिको दायित्व हो ।

त्यसैगरी, मुलुकमा व्याप्त भ्रष्टाचार र अनियमितताको अन्त्य गर्न पार्टीले जुन पहल गर्‍यो, त्यो पर्याप्त हुन सकेन भन्ने आत्मसात् गर्नुपर्दछ । अब आउँदा दिनमा पार्टीले खबरदारी गर्नुपर्छ र मुलुकलार्ई सुशासनतर्फ अघि बढाउन थप योगदान गर्नुपर्छ ।

मुलुकमा व्याप्त भ्रष्टाचार र अनियमितताको अन्त्य गर्न पार्टीले जुन पहल गर्‍यो, त्यो पर्याप्त हुन सकेन भन्ने आत्मसात् गर्नुपर्दछ ।

मुलुकको जिम्मेवार दल र प्रगतिशील आन्दोलनको अगुवा पार्टीको हिसाबले नेकपा (एमाले)ले पार्टीभित्र र राज्यको संरचनामा भ्रष्टाचार शून्यताको नीतिलार्ई व्यवहारमा कार्यान्वयन गर्न अविलम्ब पहलकदमी लिनु आवश्यक छ ।

त्यसको लागि पार्टीमा आवद्ध र राज्यका विभिन्न ओहोदामा रहेका सबै नेताको सम्पत्ति विवरण सार्वजनिक गर्न र कुनै कैफियत देखिए कानून बमोजिम कारबाहीका लागि सिफारिश गर्न पार्टी तयार हुनुपर्दछ । यस कामले नेकपा (एमाले)को विशाल संरचनाको प्रगतिशील रूपान्तरणमा पनि उल्लेखनीय योगदान पुर्‍याउनेछ ।

लोकतन्त्रलार्ई जोगाउँदै र यसलार्ई थप उन्नत बनाउँदै राज्यलार्ई मितव्ययी बनाउन राज्य र पार्टीका तथा नीतिहरूको पुनर्संरचना गर्न नेकपा (एमाले) तयार हुनुपर्दछ । घुस, कमिसन, ढिलासुस्ती र राज्यदोहनको प्रतिवादमा नेकपा (एमाले) पंक्ति परिचालित हुनुपर्नेछ । त्यसको लागि नेकपा (एमाले)ले जनता बीच जाने, कमजोरीप्रति आत्मालोचित हुने र पार्टीको संरचनात्मक सुधार गरी पुस्तान्तरण सहितको रूपान्तरणमा अविलम्ब पहलकदमी लिन तयार हुनुपर्छ ।

यो बाहेक अन्य बाटोबाट समग्र वाम÷प्रगतिशील आन्दोलनको रूपान्तरण र जीवन्तता कठिन छ । नेकपा एमालेले लिएका नीतिहरू ठिक छन् तर कार्यशैली, सोच र व्यवहार परिवर्तन गर्दै देशका वामपन्थी शक्तिहरू बीच खुल्ला छलफल र बहस गर्दै रूपान्तरण र एकता गर्दै एमालेलार्ई राष्ट्रिय शक्तिका रूपमा विकास गर्न अघि बढ्नुपर्दछ ।

युवा पुस्ता र हामीलार्ई माया गर्ने आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीका अपेक्षाअनुसार अगाडि बढ्ने र गल्ती नदोहोर्‍याउने गरी व्यापक शुद्धीकरण गर्न र आत्मसमीक्षा सहित हामी उठ्नुपर्दछ । यो देशको स्वाधीनता, सार्वभौमसत्ता र प्रगतिशील रूपान्तरणको लागि हामी उठ्नुपर्नेछ ।

तसर्थ, नेकपा एमालेलार्ई जेन–जी स्पिरिट अनुसार पुनः व्यवस्थित गरौं । पुनः जनताको मत जितेर देशको विकासको नेतृत्व गर्ने गरी उठ्न प्रतिबद्ध बनौं । यो धैर्य, आत्मसमीक्षा र युवाहरूको मनोभावलार्ई बुझ्ने समय हो । कोही पनि विचलित नभई पार्टी, समाज र देश निर्माणमा लाग्ने बेला हो ।

तपाईंका, मेरा, जेन–जी र जेन अल्फाका सयौं सपना छन् । हामीले गर्नुपर्ने कामको निकै लामो फेहरिस्त छ । सही व्यवस्था, नीति र नेतृत्वले मात्र यी सबै कुरा गर्न सक्दछ । यी तमाम सवालहरूको जिम्मेवारी युवाहरूको काँधमा छ । भन्नुको अर्थ तपाईं–हाम्रो काँधमा छ । हामीलार्ई झोक्राएर बस्ने या निराश हुने छुट छैन । वर्तमानको निर्मम समीक्षा गरौं, इतिहासबाट शिक्षा लिऔं, वर्तमानको ग्राउन्ड रियालिटीमा टेकेर अघिल्लो पुस्ताको भरोसा, जेन–जी पुस्ताको विश्वास र अल्फा पुस्ताको आशा बनेर भविष्यतर्फ अघि बढौं ।

(आचार्य, नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा निर्वाचन विभागका प्रमुख हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?