News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री रामेश्वर खनालले जलविद्युत् कम्पनीलाई बत्ती बलेपछि मात्रै आईपीओ अनुमति दिन सुझाव दिएका भए पनि कानुन नबन्दै अनुमति रोक्न नमिल्ने बताए।
- इप्पानले २८ महिनादेखि जलविद्युत् कम्पनीको आईपीओ रोकिएर १ खर्ब रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी भएको र ४ दर्जन कम्पनीको २३ अर्ब रुपैयाँ सार्वजनिक निष्कासन गर्नुपर्ने माग गर्यो।
- अर्थमन्त्री खनालले प्रतिनिधिसभा विघटन भएकाले नयाँ कानुन नबनेको र साविककै कानुन अनुसार सबै कम्पनीले आईपीओ अनुमति पाउनुपर्ने स्पष्ट पारे।
६ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जलविद्युत् कम्पनीलाई बत्ती बलेपछि मात्रै आईपीओ अनुमति दिन उचित हुने सुझाव दिइएको भए पनि कानुन नबन्दै अनुमति रोक्न नमिल्ने बताएका छन् ।
सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को प्रतिनिधिमण्डलसँग भेट गर्दै अर्थमन्त्री खनालले जलविद्युत् कम्पनीको आईपीओ जारी गर्ने सम्बन्धमा थप कानुन नबन्दै निवेदन दिइसकेका कम्पनीको आईपीओ रोक्न नमिल्ने बताएका हुन् ।
उक्त भेटमा जलविद्युत् कम्पनीहरूको धितोपत्र निष्कासन तथा बिक्री सम्बन्धमा कुरा गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले धितोपत्र बोर्डले २८ महिनादेखि जलविद्युत् कम्पनीको आईपीओ रोकेका कारण प्रवर्द्धक र राज्यलाई गरी समग्रमा १ खर्ब रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी भइसकेको बताए ।
अध्यक्ष कार्कीले पाइपलाइनमा भएका ४ दर्जन कम्पनीको २३ अर्ब रुपैयाँभन्दा बढीको सार्वजनिक निष्कासन यथाशीघ्र गरिनुपर्ने, जलविद्युत् कम्पनीलाई आईपीओको अनुमति पाउन नेटवर्थ नचाहिने व्यवस्था गरिनुपर्ने माग गरे ।
यसैगरी ठूलो रकम लगानी हुने भएकैले ऊर्जा आयोजनाले निर्माणाधीन अवस्थामै स्थानीय र सर्वसाधारणलाई सेयर जारी गर्नैपर्ने कानुनी व्यवस्था गरिएकाले विना कुनै कानुनी आधार विद्युत् उत्पादन सुरु नगरेसम्म आईपीओको निवेदन नै नलिने धितोपत्र बोर्डको बदनियतपूर्ण निर्णय खारेज गर्न माग गरे ।
५० प्रतिशत निर्माण पूरा भएपछि आईपीओको निवेदन दिने र ६५ प्रतिशत निर्माण पूरा भएपछि आईपीओको अनुमति पाउने नियम कार्यान्वयन गरिनुपर्ने र सीडीएससीले सर्वसाधारण र प्रवर्द्धकलाई छुट्टाछुट्टै आइजिन नम्बर दिने भन्दै सार्वजनिक निष्कासन गरिसकेका जलविद्युत् कम्पनीको सेयर नेप्सेमा सूचीकृत नगरेकाले दोहोरो आइजिनको व्यवस्था खारेज गरी ती कम्पनीको सेयर सूचीकृत हुनुपर्ने माग अर्थमन्त्री खनालसामु राखेका थिए ।
आईपीओ धितोमा ऋण लिएका कम्पनीलाई बैंकले ऋण चुक्ता गर्न ताकेता गर्न थालेको र बत्ती नबलेका आयोजनालाई यस्तो ऋण दिन बन्द गरेको र आईपीओबाट समेत पैसा आउने बाटो अनिश्चित भएकाले बत्ती बाल्ने चरणमा पुगेका दर्जनौं जलविद्युत् आयोजनाको निर्माण लम्बिएर ठूलो रकम दायित्व बढिसकेकाले समस्या समाधानका लागि गम्भीर भइदिन पनि अध्यक्ष कार्कीले खनाललाई आग्रह गरे ।
चालु आर्थिक वर्षको बजेटमा नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) मा लिऊ र तिर (टेक एन्ड पे) व्यवस्था समावेश गरेकोमा बजेट पारित हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो व्यवस्था जलविद्युत् विकास विरुद्ध हुने देखिएर फिर्ता गरिएको भनी प्रतिनिधिसभामा सम्बोधन गरे पनि हालसम्म बजेटबाट नहटाइएको उनले बताए ।
१० मेगावाटभन्दा साना आयोजनाको नियमित हुँदै आएको पीपीए पनि रोकिएको र अध्ययन सकेर पीपीएको पाइपलाइमा बसेका १३ हजार मेगावाट बराबरका आयोजनाको पनि पीपीए अनिश्चित भएकाले बजेटबाट टेक एन्ड पे पीपीएको व्यवस्था हटाएर पीपीए खुला गर्न सहजीकरण गरिदिन पनि इप्पानले अर्थमन्त्री खनाललाई आग्रह गरेको छ ।
त्यस्तै विद्युत् ऐनमा नै जलविद्युत् आयोजनाका स्पेयर्स पार्ट्स आयात गर्दा १ प्रतिशतमात्र भन्सार लाग्ने व्यवस्था हुँदाहुँदै सरकारले पछिल्लो दुई वर्षदेखि २८ प्रतिशत भन्सार लिएर मात्रै आयात गर्न दिइरहेकाले विद्युत् ऐनको व्यवस्थामा टेकेर स्पेयर पार्ट्स आयातको व्यवस्था गरिदिन र जलविद्युत् आयोजनालाई स्थानीय सरकारले आफूखुसी कर तोकेर पत्र काट्ने, सेयर माग्ने काम गरिरहेकाले यस्ता गतिविधि रोक्न पनि इप्पानले अर्थमन्त्री खनालसँग माग गरेको छ ।
इप्पान प्रतिनिधिमण्डलको कुरा सुनेपछि अर्थमन्त्री खनालले जलविद्युत् कम्पनीलाई बत्ती बलेपछि मात्रै आईपीओको अनुमति दिनु उपयुक्त हुने सुझाव आफूले दिए पनि उक्त सुझाव कार्यान्वयनका लागि आवश्यक कानुन बनिनसकेको र अहिले प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा तत्काल नयाँ कानुन बन्ने वा संशोधन हुने अवस्था पनि नरहेकाले साविककै कानुन अनुसार सबै कम्पनीले आईपीओ अनुमति पाउनुपर्ने बताए ।
निर्माण सम्पन्न नभएका आयोजनाको धितोपत्र बोर्डले आवेदन लिनै नमानेको कुरामा अर्थमन्त्री खनालले प्रतिप्रश्न गर्दै भने, ‘बत्ती बालेपछि आईपीओ दिने सुझाव कार्यान्वयनका लागि कानुन नै बनेको छैन, अहिलेदेखि नै किन रोकेको ?’
अर्थमन्त्री खनालले नयाँ कानुन बनाउन अथवा कानुन संशोधन गर्न प्रतिनिधिसभा चाहिने तर अहिले प्रतिनिधिसभा विघटन भएकाले साविककै कानुन अनुसार जलविद्युत् कम्पनीहरूले आईपीओ अनुमति लगायत सुविधा पाउनुपर्नेमा आफू स्पष्ट रहेको पनि बताए ।
उनले नयाँ कानुन ल्याउन नसके पनि साविककै कानुनमा टेकेर सरकारलाई प्राप्त म्यान्डेट अनुसार ऊर्जा उत्पादकको मनोबल बढाउने गरी काम गर्ने प्रतिबद्धता पनि जनाए ।
प्रतिक्रिया 4