News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति राष्ट्रको सम्पत्ति भएको उल्लेख गर्नुभयो।
- सरकारले निजी क्षेत्रको मनोबल उकास्न काम गरिरहेको र मूल्यवृद्धि न्यून, तरलता पर्याप्त रहेको बताउनुभयो।
- खनालले निजी क्षेत्रमाथि आक्रमण दोहोरिनु नहुने र निजी क्षेत्र र नागरिकबीच बलियो सम्बन्ध आवश्यक भएको स्पष्ट गर्नुभयो।
१६ पुस, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति केवल उद्योगी–व्यवसायीको मात्र हो भन्ने सोच्नु गलत भएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको सर्वपक्षीय संवादमा उनले सोही अनुसार राज्यले निजी क्षेत्रको मनोबल उकास्न काम गरिरहेको बताए ।
२७ भदौमा नयाँ सरकार बनेको थियो । उनका अनुसार १ असोजमै सरकारले निजी क्षेत्रसँग छलफल गरेको थियो । यो मनोबल उकास्न गरिएको उनको भनाइ छ ।
निजी क्षेत्रमाथि भएको आक्रमण भोलिका दिनमा दोहोरिनु हुँदैन भन्नेमा आश्वस्त पार्न खोजिएको भन्दै उनले निजी क्षेत्रले पनि फेरि उठ्ने छौं भनी प्रतिबद्धता व्यक्त गरेको स्मरण गरे ।
यसबीच अर्थतन्त्रका धेरैजसो क्षेत्र सकारात्मक रहेको उले बताए । ‘मूल्यवृद्धि न्यून छ, तरलता पर्याप्त छ, विदेशी मुद्रा सञ्चिति पर्याप्त छ, चालु खाता बचतमा छ, लगानीका लागि अनुकूल वातावरण छ,’ उनले भने ।
तर, लगानी वृद्धिको दर कमजोर रहेको उनले बताए । ‘निजी क्षेत्र आफैंले फेरि उठ्छौं भन्दै गर्दा सरकारले समाधान निकाल्ने प्रयत्न गर्दा पनि अझै किन मनोबल बढ्न सकेन ?,’ उनको प्रश्न छ ।
यसबारे छलफल गर्न महासंघले सबै राजनीतिक दल र जेनजी पुस्तासँग छलफल गर्न चाहेको उनको भनाइ छ ।
निजी क्षेत्र अर्थतन्त्रको इन्जिन भएको भन्दै उनले निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति राष्ट्रको सम्पत्ति भएको बताए । निजी क्षेत्रमा हुने क्षति राष्ट्रको भएको उनको भनाइ छ ।
‘निजी क्षेत्रले कमाउने नाफाबाट कर/राजस्व उठ्छ, कर्मचारीले बोनस पाउँछ, कर्मचारीको आम्दानीको स्तर बढ्छ, समाज सेवा गर्न सीएसआर पाउँछ, नाफा सबैतिर वितरण भएको छ,’ उनले भने, ‘यसमा राजनीतिज्ञ र जेनजी सहमत भएका छन् ।’
यो स्वीकार हुँदाहुँदै हरेक पटक आन्दोलन, विद्रोहमा निजी क्षेत्र पहिलो आक्रमणको निशाना हुनुमा भने प्रश्न उठेको उनको भनाइ छ । यसले सरकार र निजी क्षेत्र वा दल र क्षेत्रबीच मात्र सम्बन्ध बलियो भएर नहुने रहेछ, निजी क्षेत्र र नागरिकबीच पनि बलियो सम्बन्ध आवश्यक छ भन्ने सन्देश लिएको अर्थमन्त्री खनालको भनाइ छ ।
अब मुलुकभित्र जुनसुकै सम्पत्ति सिर्जना हुन्छ भने त्यो समाजको लाभका लागि हो, त्यसमाथि घात गर्नु भन्ने सन्देश समाजका सबै तहमा पुर्याउनु पर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4