
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा बागमती प्रदेश सभापति अच्युत्तम लामिछानेले प्रदेश समितिका धारणा विपरीत विचार राखेपछि कोषाध्यक्ष लिमा अधिकारीले आपत्ति जनाएकी छन्।
- प्रदेश समितिका सदस्यहरूले सभापति रवि लामिछानेलाई संरक्षक मान्नुपर्ने सुझाव दिएका थिए।
- तर लामिछानेले पार्टी सभापति रविको विकल्प खोज्न नहुने धारणा राखेका थिए।
८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती सभापति अच्युत्तम लामिछानेले प्रदेश समितिमा उठेका विषयभन्दा फरक तरिकाले पार्टी बैठकमा धारणा राखेपछि कोषाध्यक्ष लिमा अधिकारीले आपत्ति जनाएकी छन् ।
मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पहिलो दिनमा प्रदेश समितिमा उठेका विषयहरूलाई प्रदेश सभापतिहरूले जानकारी गराएका थिए । बागमती प्रदेश सभापति लामिछानेले तलबाट आएका सुझाव भन्दा फरक तरिकाले विचार राखेपछि कोषाध्यक्ष अधिकारीले आपत्ति जनाएको पार्टी स्रोतले अनलाइनखबरलाई जानकारी गराएको छ ।
बागमतीमा प्रदेश समितिका कतिपय सदस्यले सभापति रवि लामिछाने संरक्षक भई बस्नुपर्ने सुझाव केन्द्रलाई दिएका थिए । रास्वपाका स्रोतका अनुसार ती धारणाहरूलाई प्रदेश सभापति लामिछानेले बैठकमा पेश नै गरेनन् । लामिछानेले पार्टी सभापति रविको विकल्प खोज्न नहुने विचार प्रदेश तहबाट आएको भन्दै धारणा राखेका थिए ।
बागमती प्रदेशको इञ्चार्ज समेत रहेकी कोषाध्यक्ष अधिकारीले प्रदेश सभापति लामिछानेको धारणाप्रति आपत्ति जनाएकी थिइन् । आफू समेत सहभागी भई तयार भएको प्रतिवेदनका विषय भन्दा फरक तरिकाले तलका विचारहरू राखिएको भन्दै अधिकारीले असन्तुष्टि व्यक्त गरेकी थिइन् ।
रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी एक नेताले कोषाध्यक्ष अधिकारीको भनाई उद्धृत गर्दै भने, ‘मसमेत सहभागी भई बनेका प्रतिवेदन भन्दा फरक तरिकाले यहाँ प्रस्तुत गर्नुभयो । बागमतीमा प्रदेशका सदस्यहरूले उठाएका विषयवस्तु मलाई अवगत छ । यस्तै तरिका हो भने म इञ्चार्जबाट राजीनामा दिन्छु ।’
मंगलबारको बैठकमा केही नेताले इञ्चार्ज समेत आवश्यक नरहेको धारणा राखेका थिए । ‘प्रदेश सभापति हुँदाहुँदै इञ्चार्ज किन ?,’ केही नेताले बैठकमा राखेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
प्रतिक्रिया 4