+
+
Shares

दलहरू सुध्रिने संकेत नदेखेका युवाले टिकटकमा थाले ‘एक्स्पोज झोले’ ट्रेन्ड

‘एक्स्पोज झोले’ ट्रेन्ड सुरु गरेका युवाले मुख्यगरी केपी ओली, शेरबहादुर देउवा र प्रचण्डका साथै एमाले नेता महेश बस्नेतलाई टार्गेट गरेका छन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ असोज ८ गते १६:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिकटकमा 'एक्स्पोज झोले' ट्रेन्ड सुरु भएको छ जसले पुराना दलका नेतानिकट व्यक्तिहरूलाई सार्वजनिक रूपमा उजागर गर्छ।
  • यो ट्रेन्ड जेनजी आन्दोलनपछि सुरु भएको हो र युवाहरूले नेताहरूको पुरानो प्रवृत्ति दोहोर्याएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
  • त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दिपेश घिमिरेले यो ट्रेन्ड युवाहरूको राजनीतिक नेतृत्वप्रतिको आक्रोश र पुस्तान्तरणको अपेक्षाको अभिव्यक्ति भएको बताए।

८ असोज, काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा ‘एक्स्पोज झोले’ ट्रेन्ड सुरु भएको छ । टिकटक प्रयोगकर्ताले राजनीतिक दलमा आबद्ध र पुराना दलका नेतानिकट व्यक्तिहरूको फोटो राख्दै यो ट्रेन्ड सुरु गरेका हुन् ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनअघि टिकटक प्रयोगकर्ताले ‘नेपोबेबी ट्रेन्ड’ चलाएका थिए । यसले पुराना दलका नेताहरूलाई खुलेर बाहिर हिँड्न असहज हुने परिस्थिति निर्माण भयो ।

यसैको पृष्ठभूमिमा जेनजी आन्दोलन चर्कियो । अन्तत: त्यो आन्दोलनले तत्कालीन एमाले-कांग्रेस गठबन्धन सरकार ढालिदियो ।

अझै पनि नेताहरूले नचेतेको र पुरानै प्रवृत्ति दोहोर्‍याएको भन्दै युवाले असन्तुष्टि व्यक्त गरेका छन् । यही कारण अब पार्टीनिकट व्यक्तिहरू (उनीहरूको भाषामा झोले) एक्पोज गरिनुपर्ने भन्दै नयाँ ट्रेन्ड सुरु भएको हो ।

‘नेपो बेबी र करप्ट पोलिटिसियनहरूलाई एक्सपोज गरियो र देशमा ठूलो परिवर्तन आयो,’ कान्छा एफएफएक्स अफिसियल नामक टिकटक ह्यान्डलमा एक प्रयोगकर्ताले भनेका छन्, ‘अब नेपालमा फेरि नयाँ ट्रेन्ड सुरु भएको छ, जसको नाम रहेको छ- झोले ट्रेन्ड । जहाँ नेतासँग लिङ्क भएका र व्यक्तिगत रूपमा चिनजान भएकाको फोटो-भिडियो एक्सपोज गरिन्छ ।’

जति सकिन्छ नेताका झोलेहरूलाई पेल्न उनी आह्वान गर्छन् । यो गर्नुको कारण खुलाउँदै उनी थप्छन्, ‘यदि यिनीहरूलाई चिनेनौँ भने हामीलाई नै अप्ठ्यारो पर्छ । त्यसैले जति सकिन्छ यो ट्रेन्ड सबैले चलाऔँ ।’

यसरी चलाइएको ट्रेन्डमा अधिकांशको क्याप्सन देखिन्छ- माउथ ओपन, ब्रेन क्लोज झोले । र, पार्टीका झन्डा समाएर हिँडेका कार्यकर्ताको फोटो राखिन्छ । अनि, कमेन्टभरि देखिन्छ- सबैले ‘झोले, लेट्स एक्सपोज झोले’ भन्दै लेखिएको ।

टिकटक प्रयोगकर्ताले यो रिपोर्ट तयार गर्नुभन्दा एक घन्टाअघि भिडियो बनाउँदै भनेका छन्, ‘साथीहरू, झोले ट्रेन्ड बनाउने समय आयो है । लेट्स गो… ।’ त्यसपछि उनले ‘झोले ग्याङ’ भन्दै एउटा र्‍याप गीत राखेका छन् । सामाजिक रूपमा अपाच्य लाग्ने शब्द प्रयोग भएको उक्त गीतमा मोहन बस्नेत र उनका कार्यकर्ता सडकमा हिँडिरहेको भिडियो राखेका छन् ।

यसरी पोस्ट गर्दै टिकटक प्रयोगकर्ताले सबैलाई आफ्ना बुबा-ममीलाई सम्झाउन भनेका छन् । नत्र एक्सपोज हुने र परिवर्तनलाई कसैले रोक्न नसक्ने आसयका अभिव्यक्ति अधिकांशको सुनिन्छ ।

एमबीसी भ्लग्स नाम गरेको टिकटक ह्यान्डलबाट २१ घण्टाअघि एउटा भिडियो पोस्ट भएको छ, जसमा आफ्ना बुबा-ममीलाई सम्झाउन ती प्रयोगकर्ताले आह्वान गरेका छन् । ‘यसभित्र ज-जसका बा-आमा हुनुहुन्छ, आजै फोन गरेर सम्झाइहाल्नू,’ एमालेको एउटा र्‍यालीको भिडियो राख्दै उनले भनेका छन्, ‘विदेशमा हुनुहुन्छ वा कता हुनुहुन्छ, आजै फोन गरेर बा-आमालाई सम्झाइहाल्नू । अब पनि यसरी तपाईंका बा-आमा पार्टीको झन्डा बोकेर नेताको जयजयकार गर्दै हिँड्नुहुन्छ भने हाम्रो भविष्य बर्बाद हुन्छ ।’

यदि यही पार्टीका बुढा नेताहरू फेरि आए भने नयाँ पुस्ताले दु:ख पाउने भएकोले जतिसक्दो झोलेहरूलाई एक्सपोज गर्नुपर्ने उनको बुझाइ छ । आक्रोशित देखिएका उनी थप्छन्, ‘हैन, हाम्रा बा-आमा अझै किन बुझ्दैनन् ?’

यसरी एक्सपोज गरिनेमा सबैभन्दा धेरै टार्गेटमा छन्, एमाले नेता महेश बस्नेत । विभिन्न गीत र व्याङ्यात्मक क्याप्सन लेख्दै उनका तस्वीर र फोटाहरू सार्वजनिक गरिएका छन् ।

त्यस्तै, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, माओवादी नेता वर्षमान पुनलगायतका फोटो पनि राखिएका छन् ।

शीर्ष नेताहरूका आसपासमा कार्यकर्ताले खिचाएका फोटोलाई उनीहरूले प्राथमिकता दिएको देखिन्छ । पुराना दलका यी नेताका छेउछाउमा उभिएका कार्यकर्ता टिकटक प्रयोगकर्ताको निसानामा देखिन्छन् । यसरी राखिएका फोटो र भिडियोको पृष्ठभूमिमा गीत राखिएको छ- मनी, मनी मनी… ।

टिकटक प्रयोगकर्ता पल्लभ रेग्मीले पनि सामाजिक सञ्जालबाटै यो ट्रेन्डमा सहभागी हुन आह्वान गरेका छन् । उनले जेनजी आन्दोलनका क्रममा देखिएका दृश्य राख्दै स्क्रिनमा लेखेका छन्, ‘हामीले नेपोबेबी एक्सपोज गर्‍यौं । अब नेताको झोले एक्सपोज गर्ने ट्रेन्डमा सबैले साथ दिऔँ ।’

किन एकाएक यो ट्रेन्ड फैलियो त ? विशेषगरी मंगलबार बाक्लिएको यो ट्रेन्ड पछ्याउने अधिकांशको तर्क उस्तै सुनिन्छ । यत्रो परिवर्तनपछि पनि पुराना दलका कार्यकर्ताले आफ्नै शीर्ष नेताहरूको बचाउ गरिरहेकोमा आक्रोश सुनिन्छ ।

‘झोलेहरू अझै भ्रष्ट नेताको बचाउमा छन् । स्टप ग्लोरिफाइङ क्रिमिनल्स, लेट्स एक्सपोज झोले,’ जेनजी नेपालमा नामक टिकटक ह्यान्डलमा लेखिएको छ । करिब एक घण्टाअघि मात्र भएको यो पोस्टलाई सबैले पछ्याउन थालेका छन् । यस्तै तरिकाको क्याप्सन र पोस्ट धेरैको देखिएको छ ।

पोस्टमा हालै भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष पुगेपछि उनका कार्यकर्तासँग भएका फोटो-भिडियो पनि प्रयोग भएका छन् । उनीसँग फोटो खिचाउन लामबद्ध कार्यकर्ताका भिडियो राख्दै व्याङ्यात्मक शैलीका पोस्ट टिकटकमा देखिन्छ । यत्रा युवाले ज्यान गुमाउँदासमेत गम्भीर नदेखिएको र दल र नेताहरूले आफूलाई सुधार्ने छनक नदेखिएको भन्दै अधिकांशले यो ट्रेन्डलाई पछ्याइरहेका छन् ।

#jholey / #jholeytrend भन्दै टिकटकमा चलाइएको यो ट्रेन्डलाई शीर्ष स्थानमा ल्याउन आह्वान गर्दै ‘लअर विथआउट मनी’ नामक ह्यान्डलमा प्रयोगकर्ताले भनेका छन्, ‘यो ट्रेन्ड सुरु भइसकेको छ । अब यसलाई टपमा ल्याउन तपाईं र मेरो हातमा छ । सबैले आफूले चिनेका झोलेलाई यसरी नै पोस्ट गरौँ, ताकि यिनीहरूलाई बाटोमा अनुहार देखाउन पनि लाज होस् ।’

पुस्तान्तरणको अपेक्षा पूरा नहुँदा आक्रोश

त्रिभुवन विश्वविद्यालय समाजशास्त्रका उपप्राध्यापक दिपेश घिमिरे सामाजिक सञ्जालमा चलेको ‘एक्सपोज झोले’ ट्रेन्ड युवाहरूको राजनीतिक नेतृत्वप्रतिको आक्रोश भएको बताउँछन् ।

जेजनी आन्दोलनमा त्यत्रा युवाले ज्यान गुमाउँदा, यत्रो परिवर्तन हुँदा पनि उनीहरू सुध्रने कुनै छनक नदेखिएपछि यो अभियान सुरु भएको उनको भनाइ छ ।

घिमिरेका अनुसार पछिल्लो दुई हप्ताको आन्दोलन र प्रदर्शनले राखेको ठूलो अपेक्षा नै राजनीतिक दलको नेतृत्वमा पुस्तान्तरणको विषय थियो ।

‘एउटै नेतृत्वले लामो समय सत्ता कब्जा गर्दा भ्रष्टाचार र सिस्टमको दुरुपयोग बढ्यो,’ घिमिरेले भने, ‘युवाहरूले अपेक्षा गरेको राजनीतिक परिवर्तन र पुस्तान्तरणको माग पूरा नहुँदा यो आक्रोश सामाजिक सञ्जालमा देखिएको हो ।’

केही राजनीतिक दलहरूमा पुस्तान्तरणको बहस सघन रूपमा चले पनि ठोस परिणाम आउने सम्भावना कमजोर देखिँदा युवामा झन् आक्रोश बढ्नु स्वाभाविक भएको घिमिरेले बताए ।

‘नेपाली कांग्रेसमा पुस्तान्तरणको एजेन्डा उठे पनि नेतृत्व छोड्ने मनस्थितिमा देखिँदैनन् । एमालेमा त यो मुद्दा उठ्नै नसक्ने अवस्था छ,’ उनले थपे ।

अझ पछिल्लो समय ‘झोले हुनुमा गर्व छ’ भन्दै पुराना दलका कार्यकर्ताको भिडियो र फोटो आएपछि त्यसको काउन्टरमा यो अभियान चलेको बुझ्नुपर्ने घिमिरेले बताए । त्यसैले अब समाज जागिसकेको अवस्थामा पुराना दल र नेतृत्व आत्मालोचित भएर सुध्रनुको विकल्प नरहेको उनको भनाइ छ ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?