+
+
Shares

जोकिन फिनिक्सको ‘हर’ फिल्मका १० रोचक तथ्य

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १५:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकन फिल्ममेकर स्पाइक जोन्जले २०१३ मा प्रदर्शनमा आएको 'हर' फिल्मबाट एकेडेमी अवार्डमा बेस्ट ओरिजिनल स्क्रिनप्ले जितेका थिए।
  • फिल्म 'हर' मा जोकिन फिनिक्सले मुख्य पात्र थिओडोरको भूमिका निभाएका थिए र स्कारलेट जोहान्सनले एआई पात्र सामन्थाको आवाज दिएका थिए।
  • निर्देशक जोन्जले फिल्मको सम्पादनमा सहयोगका लागि स्टिभन सोडरबर्गसँग सम्पर्क गरेका थिए जसले २४ घण्टाभित्र एक घण्टाभन्दा बढी फुटेज हटाएका थिए।

अमेरिकन फिल्ममेकर स्पाइक जोन्ज आफैंले लेखेको पहिलो फिल्म हो, ‘हर’। २०१३ मा प्रदर्शनमा आएको यो फिल्मबाट उनले एकेडेमी अवार्डमा बेस्ट ओरिजिनल स्क्रिनप्ले पनि जितेका थिए । त्यसअघि उनले निर्देशन र अभिनय गरेका केही फिल्महरू छन् ।

‘हर’लाई रोमान्टिक फिल्म मानिन्छ । तर यो विज्ञानकथामा आधारित फिल्म पनि हो । यसले मान्छे र प्रविधिको सम्बन्धलाई देखाएको छ । यसरी बहुविधा भएको यो फिल्म कसरी बन्यो भन्ने कुरा निकै रोचक छ ।

निर्देशक स्पाइक जोन्जले कलाकारहरूलाई एक-आपसमा जोड्न प्रयोग गरेका विधिहरू, फिल्मलाई भविष्यको जस्तो देखाउन प्रयोग गरिएका रचनात्मक तरिका र पोस्ट-प्रोडक्सनमा गरिएका परिवर्तनहरू निकै रोचक छन् ।

यस फिल्म सम्बन्धी १० रोचक तथ्यहरू

१. ‘आई एम हियर’ बाट प्रभावित

‘हर’ र जोन्जको त्यसअघिको चलचित्र ‘वेर द वाइल्ड थिङ्ग्स आर’ बीच ६ वर्षको फरक छ । त्यो समयमा जोन्ज अन्य स-साना परियोजनामा व्यस्त थिए । जोन्जले इन्डी ब्यान्ड ‘आर्केड फायर’ का लागि ‘द सबर्ब्स’ नामक सर्ट फिल्म चलचित्र र भविष्यको लस एन्जलसमा मान्छे र रोबोटको सहअस्तित्वबारे पनि ३० मिनेटको अर्को सर्ट फिल्म ‘आई एम हियर’ निर्देशन गरेका थिए । जोन्जले त्यही ‘आई एम हियर’ बनाउँदा नै ‘हर’को विचार फुरेको बताएका छन् । यी दुई फिल्मको कथा धेरै नजिक नभए पनि तिनीहरूका विषय एउटै छन् ।

२. आफ्नो सम्बन्धविच्छेदको आंशिक कथा

‘हर’ प्रविधिसँग मान्छेहरूको बढ्दो सम्बन्धबारे भएता पनि फिल्म दर्शकले सोचे भन्दा धेरै व्यक्तिगत छ । सन् २००० आसपास जोन्ज र निर्देशक सोफिया कोपोलाबीच सम्बन्धविच्छेद भएको थियो । त्यो समयको अवधिलाई जोन्जले ‘हर’ को कथामा पनि प्रयोग गरेका छन् ।

३. लेखक चार्ली कफम्यानबाट प्रेरित

जोन्ज र चार्ली कफम्यानको लामो इतिहास छ । कफम्यानको उत्कृष्ट पटकथा ‘बिइङ जोन मालकोभिच’लाई जोन्जले निर्देशन गरेका थिए । जुन १९९० को दशकको सबैभन्दा अनौठो फिल्ममध्येको एक थियो । त्यो फिल्मले उनीहरूलाई तुरुन्तै हलिउडका प्रतिभा बनाइदियो ।

त्यसपछि पनि जोन्जले कफम्यानका अन्य दुई पटकथाहरू निर्देशन गरेका छन् । तीमध्ये कफम्यान आफैँले निर्देशन गरेको ‘सिनकडकी, न्यू योर्क’बाट जोन्ज सबैभन्दा बढी प्रेरित थिए । कफम्यानले आफूमा भएका सबै भावनालाई कसरी एउटै चलचित्रमा प्रस्तुत गरे भन्ने कुराबाट आफू प्रेरित भएको जोन्जले बताएका छन् । जुन कुरा ‘हर’मा पनि हेर्न सकिन्छ ।

४. जोकिन फिनिक्स नै पहिलो रोजाइ

यस पुस्ताका महान् कलाकारमध्येका एक हुन्- जोकिन फिनिक्स । ‘ग्लेडिएटर’ होस् या ‘जोकर’, उनले आफ्नो अभिनय पुष्टि गरिसकेका छन् । महान कलाकारको सूचीमा आफ्नो नाम लेखाइसकेका छन् । उनैलाई जोन्जले ‘हर’को थिओडोर (मुख्य पात्र)को भूमिकाका लागि पहिलो रोजाइमा राखेका थिए ।

जोन्जले फिनिक्सलाई पहिलो पटक २००२ मा ‘अडप्टेसन’ फिल्मको अडिसन लिँदा भेटेका थिए । तर त्यो भूमिका क्रिस कूपरलाई दिइएको थियो । यद्यपि, जोन्जको दिमागमा यी कलाकार १० वर्षसम्म रहेका थिए । र, अन्ततः उनीहरूले एउटा उत्कृष्ट परियोजनामा सँगै काम गरे ।

५. सामन्थाका कारण सामन्था

फिल्ममा थिओडोरले प्रेम गर्ने एआई पात्रको नाम ‘सामन्था’ हुन्छ । यसको कारण अभिनेत्री सामन्था मोर्टनले सुरुमा आवाज दिनेवाला थिइन् । खासमा उनले आवाज पनि दिई सकेकी थिइन् । तर, पोस्ट प्रोडक्सनमा जोन्जलाई आवाज ठिक लागेन । अनि मोर्टनको सहमतिमा नै जोन्जले अर्की अभिनेत्री स्कारलेट जोहान्सनलाई ल्याए । त्यसपछि स्कारलेटलाई सामन्थाको सबै संवादहरू पुनः रेकर्ड गर्न चार महिना लागेको थियो ।

६. ‘एलियन चाइल्ड’मा जोन्जको आवाज

‘हर’ रोमान्टिकसँग मात्र साई-फाई फिल्म पनि हो । भविष्यमा प्रयोग गर्न सकिने डिभाइसहरूमार्फत फिल्ममा यो विधाको प्रयोग गरिएको छ । तीमध्ये थिओडोरले खेल्ने एउटा होलोग्राफिक थ्रिडी खेल हुन्छ । त्यसमा ‘एलियन चाइल्ड’ नामक खेल्न मिल्ने पात्र हुन्छ । जसमा जोन्जले आफैँ आवाज दिएका छन् । जोन्जले यो पात्रको आवाजको चर्चोपना फिल्ममा केही बढाएका छन् । त्यसले गर्दा ती पात्रले गाली गर्दा रमाइलो सुनिन्छ ।

७. कम्प्युटर ग्राफिक्स (सीजीआई) बाट बनाइएको हवाईजहाजको मूर्ति

फिल्म विज्ञान कथामा आधारित भए पनि तुलनात्मक रुपमा कम सीजीआई प्रयोग गरिएको छ । फिल्ममा अधिकांश दृश्यहरू कोठाका छन् । त्यहाँको न्यून डिजाइनले नै भविष्यको जस्तो देखिएको छ । ‘एलियन चाइल्ड’ भएको भिडियो गेममा सीजीआई प्रयोग गरिएको जस्तो भान हुन्छ । तर जब थिओडोर प्यासिफिक डिजाइन सेन्टर बाहिर हिँड्छन्, त्यहाँ एउटा हवाइजहाजको मूर्ति देखिन्छ । जुन आफ्नो अगाडिको भागको आधारमा उभिएको हुन्छ । तर त्यो मूर्ति सीजीआई जस्तो लाग्दैन । यद्यपि यो बनाउन सतप्रतिशत सीजीआईको प्रयोग गरिएको थियो ।

८. लस एन्जलसमा आधारित भए पनि दृश्यहरू शाङ्घाईको

फिल्ममा लस एन्जलसको भविष्य देखाइएको छ । तर जोन्जले यो फिल्म चीनको शाङ्घाईमा खिचेका थिए । कारण धेरै साई-फाई फिल्महरूमा भविष्य देखाउन सीजीआई जस्ता प्रविधिहरूको प्रयोग गरिन्छ ।

तर, ‘हर’मा सीजीआई त्यति धेरै प्रयोग नगरिएकाले लस एन्जलसलाई भविष्य जस्तो देखाउन जोन्जले दर्शकलाई चलाखीपूर्वक तर सरल तरिकाले झुक्याए । जोन्जले शाङ्घाईलाई विभिन्न तरिकाले छायाङ्कन गरे । त्यहाँ ठूलाठूला भवनहरू भएकाले भविष्य जस्तो देखाउन यो एकदमै उत्तम देखियो । यदि राम्ररी हेर्दा केही दृश्यमा चिनियाँ लेखोटहरू देख्न सकिन्छ ।

९. जब एमी एडम्स र जोकिन फिनिक्स कोठामा थुनिए

जोकिन फिनिक्स आफ्नो कामप्रति निकै समर्पित छन् । त्यति हुँदाहुँदै पनि ‘हर’ को निर्माणका क्रममा जोन्जले उनलाई र एमी एडम्सलाई हरेक दिन घण्टौँसम्म एउटै कोठामा काम लगाउँथे ।

यसको कारण भनेको उनीहरू साथीको रूपमा नजिक हुन सकुन् भन्ने थियो । त्यो ‘बन्डिङ’ पर्दामा पनि देखिन्छ । र त्यो विधि सफल पनि भयो । किनकि ‘हर’ फिनिक्सका उत्कृष्ट चलचित्रहरूमध्ये एक बन्न पुग्यो । त्यसका साथै उनीहरू अझै पनि वास्तविक जीवनमा साथी छन् । त्यसको जस उनीहरू जोन्जको सानो तरिकालाई दिन्छन् ।

१०. सम्पादनमा निर्देशक स्टिभन सोडरबर्गको साथ

पोस्ट प्रोडक्सनको समयमा जोन्जलाई फिल्मको सम्पादन गर्न गाह्रो भइरहेको थियो । एक समयमा फिल्मको कुल समय २ घण्टा ४० मिनेट आसपास थियो । त्यस्तोमा उनले सहकर्मी साथी तथा निर्देशक स्टिभन सोडरबर्गसँग सहयोग मागे ।

२४ घण्टाभित्र ‘ओसियन्स इलेभेन’का ती निर्देशकले एक घण्टाभन्दा बढी फुटेज हटाइदिए । यद्यपि त्यो फिल्मको अन्तिम संस्करण थिएन । तर त्यसले आफूलाई कुनकुन दृश्यहरू आवश्यक छैनन् भन्ने महसुस गराएको र आधा घण्टा घटाउन मद्दत गरेको जोन्ज बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?