
८ असोज, काठमाडौं । नौबिसे–मुग्लिन सडकखण्डका दुई ठाउँमा गएको पहिरोका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
धादिङको धुनिवेशी नगरपालिका–१ ठूलोखोला धार्के सितापाइला सडकखण्ड र बेनिघाट रोराङ गाउँपालिका–१० बादरेमोडमा खसेको पहिरोको कारण सडक पूर्ण अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङको सञ्चार शाखामा कार्यरत प्रहरी जवान प्रेम थापाका अनुसार, बुधबार राति पौने ९ बजे ठूलोखोमा पहिरो खसेको हो । बादरेमोडको पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने देखिएको उनले बताए ।
‘बादरेमोडको पहिरो ठूलो छ । अहिले तत्कालै पन्छाउने अवस्था छैन । भोलि बिहान नभइ राजमार्ग खुल्ने अवस्थामा छैन,’ जवान थापाले अनलाइनखबरसँग भने ।
मौसम पूर्वानुमान महाशाखाले रातभर पानी पर्नसक्ने जनाएको छ । जसकारण पनि अहिले तत्काल पहिरो पन्छाउन असम्भव भएको उनले बताए ।
भोलि बिहानसम्मका लागि वैकल्पिक बाटो प्रयोग गर्न पनि आग्रह गरिएको छ ।
उता, यही सडकको मुग्लिन–नारागयणढ अन्तर्गत पर्ने तुइन खोलामा हिजोदेखि नै आएको भयंकर पहिरोका कारण सडक खुल्न सकेको छैन ।
दशैंको मुखमा राजमार्गमा आएका पहिरोले सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
प्रतिक्रिया 4