+
+
Shares

जेनजी युवाको प्रदर्शनमा दुर्लभ कछुवासमेत चोरी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते ६:३८
झापास्थित कछुवा उद्धार तथा संरक्षण केन्द्रका लाम्चे कछुवाहरू फलफूल र मासु खाँदै । फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको अर्जुनधारा नगरपालिका–९ स्थित कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट चार वटा दुर्लभ कछुवा चोरी भएको छ।
  • सुखानी शहीद स्मृति प्रतिष्ठानको हाताभित्र रहेको केन्द्रमा भदौ २४ गतेको प्रदर्शनमा आगजनी र तोडफोड भएको थियो।
  • प्रतिष्ठानले असोज ११ गतेदेखि पर्यटकका लागि केन्द्र पुनः खोल्ने तयारी गरिरहेको छ।

९ असोज, झापा । जेनजी युवाको प्रदर्शनका क्रममा झापाबाट दुर्लभ कछुवासमेत चोरी भएको पाइएको छ । झापाको अर्जुनधारा नगरपालिका–९ स्थित कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट दुर्लभ कछुवा चोरी भएको हो ।

सुखानी शहीद स्मृति प्रतिष्ठानको हाताभित्र कछुवा संरक्षण तथा प्रजनन केन्द्र छ । सो केन्द्रमा पनि भदौ २४ गतेको प्रदर्शनको क्रममा आगजनी र तोडफोड भएको थियो । त्यसैक्रममा दुर्लभ प्रजातिका चार वटा कछुवा चोरीसमेत भएको प्रतिष्ठानका व्यवस्थापक रुद्रमणि सुवेदीले बताए ।

‘केन्द्रमा रहेका सबै कछुवाको नियमित गणना हुन्छ’, सुवेदीले भने, ‘यसपटक गणना गर्दा चारवटा कछुवा चोरी भएको पाइयो ।’

प्रतिष्ठान हाताभित्र दश प्रजातिका ६० वटा दुर्लभ कछुवालाई संरक्षण गरेर राखिएको थियो । प्रतिष्ठानभित्रको कछुवा संरक्षण तथा प्रजनन केन्द्र पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बन्दै आएको छ ।

प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट प्रतिष्ठानको मुख्य कार्यालयसहित पर्यटकीय पूर्वाधारमा ७० लाख बराबरको क्षति पुगेको अनुमान छ ।

प्रतिष्ठानको हाताभित्र रहेको कार्यालय, डुंगा र फाउन्टेन पार्कको प्यानल बोर्डमा आगजनी तथा प्रहरी चौकी, शहीद प्रतिमा र क्यान्टिनलगायत संरचनामा तोडफोड भएको सुवेदीले जानकारी दिए ।

व्यवस्थापक सुवेदीले हाल क्षतिग्रस्त संरचनाको भग्नावशेष पन्छाएर असोज ११ गतेदेखि पर्यटकका लागि खुला गर्ने तयारी भइरहेको जानकारी दिए । नौका बिहार, शहीद प्रतिमाको अवलोकन, झोलुङ्गे पुल र फाउन्टेन पार्क हेर्न र वनभोजका लागि पर्यटकहरू आउने गर्छन् ।

कछुवा संरक्षण तथा प्रजनन केन्द्र अवलोकन र अनुसन्धानका लागि बर्सेनि करिब दुई लाख पर्यटक भित्रिने गरेको तथ्यांक छ ।

सन् २०१२ मा उभयचर वैज्ञानिक डा. केआर खम्बुको प्रेरणामा यहाँ कछुवा संरक्षण केन्द्र स्थापना गरिएको थियो । देशभरका विभिन्न विश्वविद्यालयमा अध्ययनरत जीव विज्ञानका विद्यार्थीहरू अनुसन्धानका लागि केन्द्रमा आउने गरेका छन् । स्थानीय ग्रामीण तथा सिमसार क्षेत्रबाट उद्धार गरिएका कछुवालाई यहाँ राखेर संरक्षण गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?