
९ असोज, काठमाडौं । स्थानीय वायु सक्रिय भएकाले आज पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
बुधबार कर्णाली प्रदेशको पूर्वी भूभागदेखि कोशी प्रदेशसम्मै परेको पानी गएरातिदेखि कम भएको थियो । तर आजै फेरि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।
मौसमविद हरिप्रसाद दाहालका अनुसार आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मध्यम खालको वर्षा हुन सक्ने पूर्वानुमान छ । खण्डित रुपमा एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने उनले बताए ।
बंगालको खाडीमा पानी पार्ने एउटा प्रणाली आज असोज ९ गतेदेखि विकसित भएको र त्यसको आंशिक असर नेपालमा पनि पर्नसक्ने सम्भावना रहेकाले अझै केही दिन वर्षा हुनसक्ने पूर्वानुमान छ । त्यसको बढी असर भने बंगलादेश, म्यानमार र भारतका सिक्किम, आसाम र मेघालयमा पर्ने सम्भावना छ । नेपालको पूर्वी सिमानासम्म आंशिक असर पार्नसक्ने सम्भावना छ । त्यसैले नेपालमा पनि पानी पर्नसक्ने पूर्वानुमान गरिएको हो ।
मौसमविद हरिप्रसाद दाहाल बंगालको खाडीमा विकसित प्रणालीलाई नजिकबाट नियालीरहेको बताउँछन् । ‘त्यसको असर नेपालमा कस्तो पर्छ भनेर हामीले नजिकबाट नियालीरहेका छौं,’ उनले भने ।
उनले दशैंमा मौसम कस्तो हुन्छ भनेर विशेष बुलेटिन जारी गरेर जानकारी दिने बताए । ‘एक–दुई दिनमा हामी दशैं विशेष बुलेटिन जारी गरेर सम्भावित मौसमी अवस्थाबारे जानकारी दिनेछौं,’ उनले भने ।
प्रतिक्रिया 4