
९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिले यमबुद्ध पार्क निर्माणाधीन गरिरहेको छ । निर्माण घोषणा भएको तीन वर्षपछि पार्क निर्माणले गति लिएको हो ।
मेयर बालेन शाहले निर्वाचित भएपछि पार्क निर्माण गर्ने घोषणा गरेका थिए । त्यसयता निर्माणको प्रयास जारी राखिए पनि जग्गा प्राप्त नहुँदा यसले पूर्णता पाउन ढिला भएको मेयर शाहले बताएका छन् ।
यो पार्कको नाम यमबुद्ध स्केटबोर्ड पार्क नाम दिइएको छ । पार्क महानगरपालिका-५ मा बनिरहेको छ । यसअघि महानगरपालिकाले सुरुमै बजेट छुट्याएको थियो ।
सुरुमा वडानम्बर १६ मा बनाउने तयारी थियो । तर, तत्कालीन वडाअध्यक्ष स्वर्गीय मुकुन्द रिजालको निधनपछि जग्गा प्राप्त हुन सकेन । महानगरले त्यसपछि वडानम्बर २ मा जग्गा खोजेको थियो त्यहाँ पनि नेपाल सरकारले जग्गा दिन नसकेका कारण तीन पटकसम्म प्रयास गर्दा पनि बनाउन नसकिएको मेयर शाहको दाबी छ ।
अर्को प्रयासमा वडानम्बर ५ का वडाअध्यक्ष वीरेन्द्र प्रजापति र स्थानीयको प्रयासमा संरक्षण भएको १३ रोपनी सरकारी जग्गामा पार्क निर्माण गर्न सहमति जुटेको थियो । २०८१ साउन २९ बाटै निर्माणका लागि प्रक्रिया सुरु गरिएको यो पार्कको काम अहिले आधा सकिएको छ ।
पार्कमा अन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ्ग एरिया (र्याम्प्स, बोल्स र स्ट्रिट्स सहित), बालबालिकाको खेलमैदान, ओपन जिम, ट्वाइलेट ब्लक र भलिबल कोर्ट निर्माण गरिनेछ ।
यो केवल पार्क मात्र नभइ युवाहरूको संस्कृतिलाई अभिव्यक्ति दिने, कला–संगीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा निर्माण भइरहेको मेयर शाह बताउँछन् ।
प्रतिक्रिया 4