९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशनमा संयोजक लगायत आयोजक समितिका सम्पूर्ण सदस्यहरू निर्वाचित भएर आउनुपर्ने प्रस्ताव गरेको छ ।
प्रत्येक जिल्ला र महाशाखाहरूबाट जेनजी युवा समूहको समेत प्रतिनिधित्व गराउने गरी प्रतिनिधि चयन गर्ने माओवादीको योजना छ ।
‘जिल्ला र महाशाखाहरूबाट थप एक–एक जना जेनजी समूहको प्रतिनिधित्व रहने’ अध्यक्ष प्रचण्डले आजदेखि सुरु पार्टी केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको संक्षिप्त राजनीतिक तथा संगठनात्मक प्रस्तावमा लेखिएको छ ।
जिल्ला र महाशाखाहरूबाट पार्टी सदस्य संख्याको आधारमा प्रतिनिधित्वको व्यवस्था हुने छ । जसमा एक हजार सदस्य बराबर एक जनाको प्रतिनिधित्व हुनेछ ।
सदस्य संख्याको आधारमा प्रतिनिधित्व चयन गर्दा प्रत्येक तीन जनामा एक जना महिलाको प्रतिनिधित्व गराउने योजना छ । साथै हरेक जिल्लाबाट एक जना दलित र एक जना युवाको पनि प्रतिनिधित्व अनिवार्य गराइने छ ।
प्रत्येक पालिका र शाखाहरूका १–१ जना प्रतनिधि महाधिवेशनमा सहभागी गराउने योजना छ ।
यसैगरी हरेक विभागबाट २–२ जना, सबै आयोगहरूबाट १०–१० जना, जेष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकार परिषद्को तर्फबाट १० –१० जना, केन्द्रीय कार्यालयबाट १० जनाको प्रतिनिधित्व गराउने प्रस्ताव गरिएको छ ।
केन्द्रीय सचिवालयले ५ प्रतिशतमा नबढ्ने गरी प्रतिनिधिहरू मनोनयन गर्नसक्ने छ ।
यसैगरी केन्द्रीय तहका जनवर्गीय संगठनबाट एक महिला अनिवार्यसहित २–२ जना, जातीय तथा क्षेत्रीय मोर्चाहरूबाट १–१ जना, केन्द्रीयस्तरका प्रतिष्ठान, फाउण्डेसन, समाज, सामाजिक संगठनबाट १–१ जना र पार्टीको सहायक संगठन वाईसीएलबाट भने ५ जनाको प्रतिनिधित्व गराउने प्रस्ताव छ ।
हेर्नुहोस् विशेष महाधिवेशनमा प्रतिनिधित्वको व्यवस्था
१. प्रत्येक पालिका र शाखाहरूबाट एकएक जना ।
२. जिल्ला र महाशाखाहरूबाट पार्टी सदस्य संख्याको आधारमा प्रतिनिधित्वको व्यवस्था गर्ने । जसमा १ हजार सदस्य बराबर एक जना प्रतिनिधित्व हुनेछ । सदस्य संख्याका आधारमा प्रतिनिधि चयन गर्दा प्रति तीन जनामा एकजना महिला प्रतिनिधि हुनुपर्ने । हरेक जिल्लाबाट एकजना दलित र एकजना युवाको प्रतिनिधित्व अनिवार्य गराउने । जिल्ला र महाशाखाहरूबाट थप एक–एक जना जेन्जी समूहको प्रतिनिधित्व रहने ।
३. सातवटा भौगोलिक प्रदेशहरूबाट २५ जनाका दरले प्रतिनिधित्व गराउने । हरेक प्रदेशबाट सात जना महिला, दुई जना दलित र एक जना युवाको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने । गैरभौगोलिक दश जनामध्ये तीनजना महिला एकजना दलित एक जना युवा अनिवार्य हुनुपर्ने छ । प्रवासका तीनवटा प्रदेशहरूबाट सात जनाका दलरले प्रतिनिधित्व हुनुपर्ने छ । यसमा दुइ जना महिला र एकजना युवाको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने छ ।
४. हरेक विभागबाट दुई दुईजना प्रतिनिधि रहनेछ ।
५. सबै आयोगहरूबाट १०/१० जना प्रतिनिधि रहनेछ ।
६. जेष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकार परिषद्को तर्फबाट १०/१० जना प्रतिनिधित्व रहने ।
७. केन्द्रीय कार्यालयबाट १० जना प्रतिनिधित्व रहने ।
८. केन्द्रीय तहका जन वर्गीय संगठनबाट एक महिला अनिवार्यसहित दुई दुई जना, जातीय तथा क्षेत्रीय मोर्चाहरूबाट १/१ जना, केन्द्रीयस्तरका प्रतिष्ठान, फाउण्डेसन, समाज, सामाजिक संगठनबाट १, १ जना र पार्टीको सहायक संगठन (वाइसिएल)बाट ५ जना प्रतिनिधित्व रहने ।
९. केन्द्रीय सचिवालयले ५ प्रतिशतमा नबढ्ने गरी मनोनयन गर्न सक्ने ।
१०. संयोजक लगायत आयोजक समितिका सम्पूर्ण सदस्यहरू माथि निर्धारित प्रतिनिधि क्षेत्रबाट निर्वाचित हुनुपर्नेछ । आयोजक समितिको कुनै सदस्य चुनिन नसकेको अवस्थामा आयोजक समिति सदस्यका रुपमा चुन्न र चुनिनेबाहेक महाधिवेशनका सम्पूर्ण गतिविधिमा सहभागी हुनेछन् ।
११. सबै प्रदेश समितिहरू प्रदेश अधिवेशन आयोजक समितिमा रुपान्तरित हुनेछन्, प्रदेश अध्यक्षले संयोजकको भूमिका र पदाधिकारीहरू अधिवेशन आयोजक समिति सचिवालयको भूमिकामा रहने ।
प्रतिक्रिया 4