
९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा प्रस्तुत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमति राखेका छन् ।
सुरुमा बोलेका अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । विशेष महाधिवेशनमाजाने भएपछि पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव प्रस्तुत गरेका थिए ।
त्यसमा असहमति जनाउँदै उपमहासचिव शर्माले नयाँ प्रस्ताव राखेका छन् । आफ्नो असहमति रहेको भन्दै उनले नयाँ प्रस्ताव राखेका हुन् । उपमहासचिव शर्माले भनेका छन्, ‘सबै पदाधिकारी राजीनामा दिएर निर्देशक समितिमा बसेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरौं ।’
उपमहासचिव शर्मा अगाडि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बोलेका थिए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डको प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको बताए । ‘मंसिरमा विशेष महाधिवेशन सम्भव छैन । निर्वाचन पछि महाधिवेशन गर्नुपर्छ,’ श्रेष्ठले भनेका छन् ।
भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । त्यसपछि प्रतिनिधि सभाबाट अर्को सरकार बन्ने वातावरण नरहेको भनेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकेका छन् ।
उक्त चुनाव समयमै सम्पन्न गराउन पार्टीले भूमिका खेल्नुपर्ने र पार्टीको महाधिवेशन चुनाव पछाडि गर्नुपर्ने श्रेष्ठको प्रस्ताव छ ।
चुनाव पछाडि महाधिवेशन गरेपनि अध्यक्ष प्रचण्ढले भने अहिले नै राजीनामा दिनुपर्ने उनको आग्रह छ । बदलिएको परिस्थितिमा प्रचण्डले नेतृत्व भने अहिले नै छाड्नुपर्ने श्रेष्ठको आग्रह छ ।
श्रेष्ठले राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘अध्यक्ष कमरेड प्रचण्डले अहिले नै अध्यक्ष छोडेर मलाइ कार्यबाहक अध्यक्ष दिनुस । यो मेरो कुरा होइन, आम कार्यकर्ता र यो हलको कुरा राखेको हुँ ।’
यसअघि गत आइतबार बसेको माओवादीको पदाधिकारी बैठकमा समेत वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यबाहक अध्यक्ष माग गरेका थिए ।
‘…नारायणकाजीले पनि मलाई कार्यवाहक दिनुपर्यो भनेर माग गर्नुभएको थियो हिजो (आइतबार) मिटिङमा । माग गरेपछि मैले भनें दिइदिनुस् न त उहाँलाई कार्यवाहक, दुई महिना त हो, दुई महिना कार्यवाहक दिएर केही बिग्रँदैन, दिनुहोस्,’ उपमहासचिव शर्माले गत सोमबार अनलाइनखबरसँगको अन्तर्वार्तामा भनेका थिए ।
महाधिवेशनसम्म कार्यवाहकको रुपमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेतृत्व गर्ने र त्यसपछि प्रचण्ड सहितका सबै पदाधिकारी नेतृत्वमा नआउने उपमहासचिव शर्माको सार्वजनिक प्रस्ताव छ । हाल रहेका पार्टीका सबै पदाधिकारी निर्देशक समितिमा बदलिनुपर्ने उनको आग्रह छ । मंसिरमा हुने महाधिवेशनबाट पूरै नयाँ नेतृत्व ल्याउने उनको प्रस्ताव छ । यसो गर्दा पार्टीको साख थप बढ्ने उनको विश्वास छ ।
पार्टीले केवल महाधिवेशन तोकेर मात्रै नहुने, महाधिवेशनमा कार्यकर्तालाई स्वतन्त्र ढंगले आफ्नो नेता छान्ने र नयाँ–नयाँ विचार आउने वातावरण बनाउन दिन सक्नुपर्ने उपमहासचिव शर्माको आग्रह छ ।
यही बेला केन्द्रीय समितिको बैठकमै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्ष माग गरेका हुन् ।
श्रेष्ठपछि बोलेका उपमहासचिव शर्माले पनि प्रचण्डको प्रस्तावमा असहमति राखेका हुन् ।
प्रतिक्रिया 4