
१० असोज, विराटनगर । २४ भदौको जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गर्दा ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय मोरङको भवन मर्मत भइरहेको छ । कार्यालय सञ्चालनका सामग्री जुटाउने काम पनि जारी छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवका अनुसार कार्यालय मर्मत र सामग्री जुटाउन राज्यकोषको बजेट खर्च भएको छैन, कार्यालयसँग बजेट पनि छैन । विभिन्न संघसंस्थाले सहयोग गरिरहेका छन् ।
कार्यालयमा आगजनी भएका कारण सीडीओ यादव कार्यालय परिसरमै रहेको सटरमा कार्यकक्ष बनाएर बसेका छन् ।
उनका अनुसार आगजनी र लुटपाटबाट जिल्ला प्रशासन कार्यालयका केही सामग्री बाँकी छैन । ‘कार्यालयमा केही सामग्री छैन, लुटपाट र आगजनी भयो,’ उनले भने, ‘लुटिएकोमध्ये एउटा प्रिन्टर फिर्ता आएको छ ।’
कार्यालय सञ्चालनका लागि विभिन्न संघसंस्थाले कम्युटर, प्रिन्टर, टेबल, कुर्सीलगायत संरचना जुटाइदिएका छन् ।
बिहीबार जीवन विकास लघुवित्त वित्तीय संस्थाले तीन वटा कलर प्रिन्टर सहयोग गरेको छ । जीवन विकासका नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीले प्रमुख जिल्ला अधिकारी यादवलाई प्रिन्टर हस्तान्तरण गरे ।
यसअघि नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशले १० वटा कम्युटर सहयोग गरेको थियो । निर्माण व्यावसायी संघले कार्यालय मर्मत गर्दैछ । राष्ट्रिय परिचयपत्र वितरणका लागि छुट्टै टहरा पनि संघले निर्माण गर्दैछ । इँटा व्यावसायी संघले २१ वटा टेबुल-कुर्सी सहयोग गरेको छ ।
यसैगरी सुनौलो पूर्व नेपाल यातायात व्यावसायी संघले पंखा, मदिरा व्यावसायी संघले कुर्सी सहयोग गरेको छ । रङरोगनका लागि एसियन पेन्टसले रङ दिएको छ । रङरोगनको लागत उद्योग वाणिज्य महासंघले ब्यहोर्ने बताएको छ ।
कार्यालयको नेटवर्किङ कम्युटर एसोसिएसनले गर्दैछ । अन्य संघसंस्थाले पनि सहयोग गरेका छन् । थप सहयोगको आश्वासन पनि आएको छ । कार्यालयका लागि आवश्यक सामग्री संघसंस्थाको जुटाउने काम भइरहको यादवले बताए ।
तत्काल सेवा प्रवाहका लागि १२ थान कम्युटर, ५ थान प्रिन्टर र टेबल-कुर्सी सहयोग आएको उनले बताए ।
२०४८ सालदेखिको अभिलेख नष्ट
आगजनी र लुटपाटबाट जिल्ला प्रशासन कार्यालयको संरचनामा मात्रै ४ करोड बराबरको क्षति भएको अनुमान छ । अफिस सामग्रीमा भएको क्षतिको विवरण संकलन भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार २०४८ सालयताको नागरिकताको अभिलेख नष्ट भएको छ । यो अवधिमध्ये २०७२ सालदेखिको अभिलेख भने अनलाइन थियो । २०४८ सालदेखि २०७२ सालसम्मको लिखित अभिलेख नष्ट भएको छ ।
२०४८ सालअघिको अभिलेख भने छुट्टै कोठामा थियो । आगलागीबाट सो अभिलेख भएको कोठा जोगिएको उनले बताए । नागरिकता अभिलेख नष्ट भएका कारण नागरिकता वितरणमा कठिनाइ हुने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी यादवका अनुसार कार्यालयमा वितरणका लागि राखिएका करिब डेढ लाख राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएको छ । करिब ३० हजार राष्ट्रिय परिचयत्र पत्र जोगिएको छ ।
राष्ट्रिय परिचयपत्र बनाउँदा पेस भएका कागजात सबै जलेर नष्ट भएको छ । करिब ४०० राहदानी जलेको छ । जिल्ला प्रशासन कार्यालयमा विचाराधीन रहेका ४०० मुद्दाको मिसिल पनि ध्वस्त भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा नागरिकता वितरण, राष्ट्रिय परिचयत्रपत्र र राहदानीको काम रोकिएको छ । कार्यालय मर्मतपछि यी सेवा दशैंपछि सुरु गर्ने तयारी छ । अहिले अत्यावश्यक काम सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया 4