
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सहकारी नियमन प्राधिकरणले असोजभित्रै सहकारी दर्ताका लागि छुट्टै सफ्टवेयर निर्माण गरी दर्ता प्रक्रिया थालनी गर्ने तयारी गरेको छ।
- प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, अनुगमन र प्रतिवेदनका लागि राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने जनाएको छ।
- सहकारी ऐन २०७४ लाई स्पष्ट पार्न मन्त्रालयले सहकारी नियमावली २०७५ संशोधन तयारी गरिरहेको र प्राधिकरणले अनलाइन दर्ता अभिलेखीकरण प्रणालीमार्फत प्रक्रिया सुरु गर्ने बताएको छ।
१० असोज, काठमाडौं। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी दर्ताका लागि आफ्नो छुट्टै सफ्टवेयर निर्माण गरेको छ । असोजभित्रै उक्त सफ्टवेयर मार्फत सहकारी दर्ता प्रक्रिया थालनी गर्ने पनि जनाइएको छ ।
सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण भई लन्च गर्ने तयारी भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले बताए ।
उनले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायत विषयमा राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने, गराउने काम प्राधिकरणले गर्ने बताए ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था सञ्चालन सम्बन्धमा नियामकीय मापदण्ड जारी गरिने पनि उनको भनाइ छ ।
‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था सञ्चालन सम्बन्धमा जारी गरेको नियामकीय मापदण्ड २०८२ लागु भई कार्यान्वयन चरणमा रहेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था दर्ता अभिलेखीकरण मापदण्ड २०८२ जारी गरिएको उनले बताए ।
त्यस्तै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारणसभा सञ्चालन स्म्बन्धी निर्देशन जारी भई कार्यान्वयन चरणमा रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको सघन अनुगमन सुरु भएको छ ।
सहकारी ऐन २०७४ लाई स्पष्ट पार्नुपर्ने कतिपय विषय सन्दर्भमा मन्त्रालयले सहकारी नियमावली २०७५ संशोधन तयारी गरिरहेको र प्राधिकरणतर्फबाट पनि आवश्यक गृहकार्य भइरहेको कार्यकारी निर्देशक पौडेलले बताए ।
असोजदेखि ऐनको व्यवस्था अनसार सहकारी संघसंस्थाको अनलाइन प्रणालीमार्फत दर्ता अभिलेखीकरण सुरु गरिने र सहकारी संस्थालाई प्राधिकरणले दर्ता अभिलेखीकरणका लागि आह्वान गरेको ६० दिनभित्र आवश्यक विद्युतीय प्रणालीमा प्रविष्ट गराइ रुजुपछि प्रक्रिया पूरा गरी दर्ता प्रमाणपत्र उपलब्ध गराइने उनले जानकारी दिए ।
प्रतिक्रिया 4