
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'माइतीघर'को बुकिङ सोमबारदेखि खुलिसकेको छ र दर्शकमा उत्साह देखिएको छ।
- धीरज मगरले फिल्मको स्क्रिप्ट दुई वर्षअघि पाएका थिए र तामाङ संस्कृतिको कथा मन परेर अभिनय गर्न राजी भएका थिए।
- फिल्मले पारिवारिक मनोरञ्जन दिने दाबी गरिएको छ र दशैंमा विशेष प्रदर्शन हुने बताइएको छ।
काठमाडौं । आउँदो सोमबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘माइतीघर’को बुकिङ खुलिसकेको छ ।
यो फिल्मलाई लिएर दर्शकमा उत्साह पनि निकै देखिएको छ । फिल्मको गीत, ट्रेलरले दर्शकको साथ पाएपछि फूलपातीमा ओपनिङ पनि उत्साहजनक हुने अपेक्षा गर्न सकिन्छ ।
यो फिल्मका मुख्य अभिनेता हुन् धीरज मगर । पहिलो पटक मल्टिस्टारर फिल्ममा काम गरेका उनी उत्साहित छन् ।
यो फिल्मको स्क्रिप्ट उनले दुई वर्ष अगाडि नै हात पारेका थिए । स्क्रिप्ट पढ्ने वित्तिकै उनी फिल्म खेल्न राजी भएका थिए ।
धीरज भन्छन्, ‘यो फिल्मले तामाङ संस्कृतिको सेरोफेरोमा रहेर जुन किसिमको कथा प्रस्तुत गरेको छ, त्यो मन परेर नै म यसमा जोडिएको हुँ । यसले, माइतीघर र चेलीको सम्बन्धलाई जुन शैलीमा देखाएको छ, त्यसले मलाई आकर्षित गरेको हो ।’
धीरजले अगाडि भने- ‘मेरो पात्र पुरै नकारात्मक नभए पनि ग्रे सेडमा छ । यही पात्रको यात्रा नै मलाई मन परेको हो । ट्रेलरमा पनि भिन्न गेटअपमा मेरो पात्र देखिएको छ जस्तो लाग्छ । फिल्ममा कहिले प्रहरीको भेषमा त कहिले विदेशी लाहुरेको रुपमा मेरो पात्र प्रकट हुन्छ । यसले, दर्शकमा कौतुहलता र दुविधा दुवै सिर्जना गर्छ जस्तो मलाई लाग्छ ।’
फिल्मले पूर्ण रुपमा मनोरञ्जन दिने क्लाइमेक्सले दर्शकको मनमा विशेष स्थान बनाउने दाबी धीरजको छ । धीरजले, फिल्म हेर्दा दर्शक हाँस्दाहाँस्दै रुनेमा आफू ढुक्क रहेको सुनाए । पारिवारिक फिल्म भएकाले पनि दशैंमा दर्शकका लागि विशेष हुने उनको भनाई छ ।
रोहित अधिकारीको निर्माणमा मिलन तामाङको निर्देशन रहेको यो फिल्ममा धीरजको साथमा केदार प्रसाद घिमिरे, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्धि तामाङ लगायतका कलाकारको अभिनय यो फिल्ममा छ ।
प्रतिक्रिया 4