
News Summary
Generated by OK AI. Editorially reviewed.- नवरात्री सनातन धर्मको प्रमुख पर्व हो, जसले नारीशक्तिको सम्मान, स्वीकार र उत्सवको प्रतिकको रूपमा काम गर्छ।
- देवी दुर्गाका नौ स्वरूपहरूको आराधनाले शक्ति, सृजन, ज्ञान, समृद्धि र आध्यात्मिक उन्नतिको सन्देश दिन्छ।
- नवरात्रीले नारीलाई केवल पूजनीय देवी नभई सामाजिक न्याय र समानताको आधारका रूपमा सम्मान गर्नुपर्ने कुरा स्मरण गराउँछ।
‘नवरात्री’ सनातन धर्मको प्रमुख पर्व हो । तर, यो धार्मिक अनुष्ठान, पूजा–अर्चनाको अवसर मात्र होइन, यो नारीशक्तिको सम्मान, स्वीकार र उत्सवको प्रतिक हो । ‘नवरात्री’ शब्दको शाब्दिक अर्थ ‘नौ रात’ हो, र यी नौ दिन–रातहरू देवी दुर्गाका नौ स्वरूप—शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको आराधनामा समर्पित हुन्छन् ।
देविका यी स्वरूपले जीवनका विभिन्न आयामहरू—शक्ति, सृजन, ज्ञान, समृद्धि र आध्यात्मिक उन्नतिलाई प्रतिनिधित्व गर्छन् । तर, नवरात्रीको महत्व धार्मिक कर्मकाण्डमा मात्र सीमित छैन । यो पर्वले सामाजिक, दार्शनिक र सांस्कृतिक सन्देशहरू बोकेर समाजलाई नारीशक्तिको महत्वप्रति सचेत गराउँछ । झट्ट हेर्दा नवरात्री देवीपूजा जस्तो देखिए पनि यसको अन्तर्यमा नारीशक्तिको महिमा लुकेको छ ।
सनातन परम्पराले सृष्टिलाई द्वैत सिद्धान्तमा व्याख्या गर्छ—पुरुष र प्रकृति, शिव र शक्ति । शक्ति बिना शिव शून्य हुन्छन् भने शिव बिना शक्ति जड । सनातन परम्पराले नारीलाई शक्ति स्वरुप मानेको छ । यो दर्शनले नारीलाई सृष्टिको प्राणशक्ति, जीवनदायिनी ऊर्जा र सृजनको आधार मानेको छ ।
नवरात्रीमा पूजिने दुर्गा, लक्ष्मी र सरस्वती क्रमश: शक्ति, समृद्धि र ज्ञानको प्रतीक हुन् । यी तीनै आयामहरूले जीवनको सन्तुलन र पूर्णताको सन्देश दिन्छन् । प्रत्येक दिन पूजिने देवीका नौ स्वरूपहरूले साधकलाई आत्मिक शुद्धि, मानसिक स्थिरता र आध्यात्मिक जागरणको मार्ग देखाउँछन् । यसैले देवीलाई ‘आदिशक्ति’ मानिन्छ । दुर्गा, लक्ष्मी र सरस्वती क्रमश: शक्ति, सम्पन्नता र ज्ञानको प्रतीकका रूपमा स्थापित छन् । यो दर्शनले नारीलाई केवल मानवीय अस्तित्व नभई दिव्य–शक्ति र प्रेरणाको स्रोतका रूपमा स्वीकार गरेको छ ।
अथर्ववेद, मार्कण्डेय पुराण र देवीभागवत जस्ता प्राचीन ग्रन्थहरूले देवीलाई आदिशक्ति मानेका छन् । देवीभागवत अनुसार माता दुर्गाले विभिन्न समय र परिस्थितिमा विभिन्न रूप धारण गरी मानव र सम्पूर्ण प्राणीको कल्याण गरेकी छन् । देवगणहरूको सामूहिक प्रयासले महिषासुर जस्ता आसुरी शक्तिहरूलाई परास्त गर्न नसकेपछि देवी दुर्गाको सृजना भयो र उनले ती आसुरी शक्तिहरूलाई नष्ट गरेको वर्णन देविभागवतमा गरिएको छ । यो कथाले नारीशक्तिको निर्णायक भूमिकालाई उजागर गर्छ । नारीलाई केवल ममतामयी वा पालनकर्ताको रूपमा मात्र नभई संकटको घडीमा योद्धा र परिवर्तनको संवाहकका रूपमा हाम्रो धार्मिक मान्यताले स्थापित गरेको छ ।
नारीशक्ति: सृष्टिको आधार
सनातन परम्पराले नारीलाई सृष्टिको आधार मानेको छ । संसारमा पूजाको सुरुवात नै स्त्रीलिंगीको पूजाबाट भएको विश्वास गरिन्छ, किनभने नारी नै सृजन र जीवनको स्रोत हुन् । तसर्थ नवरात्रीले पनि नारी बिना सृष्टिको कल्पना सम्भव छैन भन्ने मतलाई बल दिन्छ । महाकाली, महालक्ष्मी र महासरस्वतीका रूपमा पूजिने त्रि–शक्तिले विश्वलाई सञ्चालन गरेको हाम्रो धार्मिक विश्वास छ । यी शक्तिहरूले शक्ति, समृद्धि र ज्ञानको त्रिवेणी प्रवाह गर्छन्, जसले समाज र सभ्यतालाई समृद्ध बनाउँछ ।
नवरात्रीमा पुजा गरिने देविका प्रत्येक स्वरूपले नारीका बहुआयामिक भूमिकालाई दर्शाउँछ । शैलपुत्रीले स्थिरता र आधार, ब्रह्मचारिणीले तप र साधना, चन्द्रघण्टाले सौन्दर्य र शान्ति, कूष्माण्डाले सृजनशीलता, स्कन्दमाताले मातृत्व, कात्यायनीले साहस, कालरात्रिले रक्षा, महागौरीले शुद्धता र सिद्धिदात्रीले पूर्णताको प्रतीक बनेर नारीको बहुआयामिक शक्तिलाई उजागर गर्छन् । यी स्वरूपहरूले नारीलाई केबल एक मानवीय अस्तित्वको रूपमा नभई दिव्य शक्ति र प्रेरणाको स्रोतका रूपमा प्रस्तुत गर्छन् ।
मानव जगतमा नारीशक्तिको सर्वोच्चता नै नवरात्रको दार्शनिक सन्देश हो । विष्णु, शिव वा ब्रह्मा जस्ता देवताहरू पनि (नारी)शक्ति विना अपूर्ण छन् भन्ने कुरा पुराणहरूले स्पष्ट पारेका छन् । देवगणहरूको सामूहिक प्रयास असफल भएपछि मात्र देवी दुर्गाको उत्पती भयो । र, उनले महिषासुर जस्ता आसुरी शक्तिलाई पराजित गरिन् । यसबाट नारी केवल पालनकर्ता वा ममतामयी मात्र नभई, संकटको घडीमा निर्णायक योद्धा पनि हुन् भन्ने दार्शनिक निष्कर्ष निस्कन्छ ।
वर्तमान समजको परिदृश्यमा नवरात्रीले एउटा प्रश्न पनि उठाउँछ—हामी नारीलाई केवल पूजनीय देवीका रूपमा मात्र लिन्छौँ कि समाजमा समान अधिकार र अवसरसहितको सक्रिय सहभागीका रूपमा ?
नवरात्रीको सन्देश केवल धार्मिक र आध्यात्मिक क्षेत्रमा मात्र सीमित छैन; यो सामाजिक चेतनाको पर्व पनि हो । आजको समाजमा नारीहरू धेरै ठाउँमा उपेक्षित, पीडित वा दोस्रो दर्जाको नागरिकको व्यवहार भोग्न बाध्य छन् । पितृसत्तात्मक संरचनाले नारीलाई अवसर र सम्मानबाट वञ्चित गरेको छ । यस्तो अवस्थामा, नवरात्रीले हामीलाई प्रश्न पनि गर्छ । कतै हामीले नारीलाई केवल पूजनीय देवीका रूपमा मात्र राखेर समाजमा उनीहरूलाई समान अधिकार र अवसरसहितको सक्रिय सहभागीताबाट वञ्चित त गरेका छैनौं ? नवरात्रीको धार्मिक दर्शनलाई सामाजिक जीवनसँग जोड्दै नारीलाई सक्रिय सहभागिताको आधारका हामीले हेर्न सक्नुपर्छ ।
नवरात्रीले नारीलाई केवल माता, पत्नी वा छोरीको भूमिकामा सीमित राख्दैन; यो पर्वले नारीलाई शक्ति, सृजन र परिवर्तनको स्रोतका रूपमा स्थापित गर्छ । “यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता:” अर्थात् जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवताहरू रमाउँछन् भन्ने श्लोकले नारीको महत्वलाई प्रष्ट पार्छ । यो श्लोकले नारीको सम्मानलाई धार्मिक अनुष्ठानमा मात्र सीमित राख्दैन, बरु सामाजिक न्याय र समानताको आधार बनाउँछ ।
आजको विश्वमा नारीशक्तिको सम्मान र सशक्तीकरण अपरिहार्य छ । नवरात्रीले हामीलाई नारीको शिक्षा, स्वास्थ्य, सम्मान र समान अवसरमा लगानी गर्नु समाजको समृद्धिको आधार हो भन्ने यथार्थ बोध गराउँछ । यदि हामीले नारीलाई केवल पूजामा मात्र सीमित पारेर उनको सामाजिक, आर्थिक र राजनीतिक सशक्तीकरणमा ध्यान दिएनौं भने, नवरात्रीको मूल सन्देश अधुरै रहन्छ ।
नवरात्रीले समाजलाई एकताको सन्देश पनि दिन्छ । यो पर्वले नारीप्रति सकारात्मक दृष्टिकोण निर्माण गर्न प्रेरित गर्छ, जसले समाजमा लैङ्गिक समानताको आधार तयार गर्छ । नवरात्री केवल नौ दिनको धार्मिक अनुष्ठान होइन, यो जीवनको दर्शन हो । यो पर्वले हामीलाई आफ्नो आन्तरिक शक्ति पहिचान गर्न, नारीशक्तिको योगदान स्वीकार गर्न र समाजलाई समृद्ध बनाउन नारीलाई मूल आधार ठान्न प्रेरित गर्छ । नवरात्रीले हामीलाई नारीशक्तिको सम्मान बिना कुनै पनि सभ्यताको प्रगति सम्भव छैन भन्ने सत्यको स्मरण गराउँछ ।
जुन घर, समाज वा राष्ट्रमा नारीको सम्मान र सशक्तीकरण हुन्छ, त्यहाँ स्वत: समृद्धि, शान्ति र प्रगति हुन्छ । यो पर्वले हामीलाई धार्मिक परम्परालाई सामाजिक न्यायसँग जोडेर नारीशक्तिको सम्मान गर्ने जिम्मेवारी स्मरण गराउँछ । प्रत्येक जीवन्त नारीमा शक्ति, ज्ञान र समृद्धिको स्रोत देख्नुपर्छ भन्ने भावना नवरात्रीले जगाउँछ ।
अन्तत:, नवरात्री नारीशक्तिको उत्सव हो, सृष्टिको आधार, समाजको समृद्धि र सभ्यताको प्रगति नारीशक्तिको सम्मान र सशक्तीकरणमा निर्भर छ भन्ने सत्य नवरात्रीले स्मरण गराउँछ । यो पर्वले नारीशक्तिको पूजा मात्र गरेर हुँदैन, नारीलाई समान अवसर, सम्मान र स्वतन्त्रताको प्रत्याभूति दिलाउने काममा पनि अघि बढाउन प्रेरित गर्छ । त्यसकारण नवरात्रले दिएको मुल सन्देश नै, ‘नारीशक्तिको सम्मान केवल धार्मिक अनुष्ठान होइन, सामाजिक न्यायको पूर्वशर्त हो ।’
(साउद विश्व हिन्दू महासघंकी उपाध्यक्ष हुन् ।)
प्रतिक्रिया 4