
१२ असोज, टीकापुर (कैलाली) । जानकी गाउँपालिकाको खैरीफाँटाकी सीता विष्टलाई समाजमा मिलेर काम गरेको, एकअर्कालाई सुखदुःखमा सघाएको खुबै याद छ ।
ज्येष्ठ नागरिक विष्टलाई खेतीपाती गर्ने बेला गाईगोरु अभाव हुँदा खाद्यान्न, गर्जो टार्न रकम सरसापट गरेको सम्झना छ । ‘हामीले खाद्यान्न, रकममात्र नभई आगोसमेत साटासाट गरेर बाल्ने गर्थ्यौं, एउटा घरमा पहिले आगो बालेमा वल्लोपल्लो घरमा त्यहीँ आगो लिएर सल्काउने चलन थियो’, उनी भन्छिन्, ‘अहिलेका समाज र जीवन फेरिएको छ । आजभोलि त समाजमा सहयोग चल्दैन, प्रतिस्पर्धा चलेको देख्छु ।’
अर्की महिला देवु रावल पनि विगतमा घर बनाउँदा, खेतीपाती गर्दा मिलेर काम गर्ने छिमेकी बदलिएका बताउँछिन् । आजभोलि कमाइ भएकाहरूले नभएकालाई हेप्ने चलन बढेकामा चिन्ता व्यक्त गर्छिन् । ‘कमाइ भएकाहरूको जीवन सुखद् छ, विपन्न नागरिकले समाजमा बाँच्न गाह्रो भएको छ’, उनले भनिन्, ‘पहिलाका मानिस दयालु, सहयोगी हुन्थे, आजभोलि जो धनी छ, उसैलाई मात्र सहयोग गर्नेहरू भेटिन्छन् ।’
टीकापुरकी पार्वती गिरीलाई पनि पहिलेकै समाज राम्रो लाग्छ । छिमेकमा मिलेर, बाँडीचुडी खाएको याद आउँछ । “हामी एक घरमा दाल, एक घरमा तरकारी पकाएर छाक टार्थ्यौं”, उनले भनिन्, ‘पाकेको मीठोमसिनो बाँडेर खाने चलन थियो, आजभोलि पल्लो घरमा मासु पाक्छ, वल्लो घरमा तरकारी हुँदैन, यस्तो समाज राम्रो भयो त ?’
छिमेकी भनेका समाजसँग जोडिएका मानिस हुन् । छिमेकी मिलेर बसेमा व्यक्तिका मात्र नभई समाजका समस्यासमेत टार्न सकिन्छ । छिमेकीको सहयोग सजिलो अप्ठ्यारो दुवै बेला काम लाग्छ । सबै समयमा छिमेकी सहयोगी हुनुपर्छ । सहयोगी छिमेकी भएकाहरू दुःखलाई पनि सहजै पार गर्न सक्छन् ।
बर्दियाका बलिराज बम रोजगारीका लागि बाहिर बस्छन्, उनले भने छिमेकीको सहयोग भरपुर लिएका छन् । ‘छिमेकी भनेका समाजका हिम्मत हुन्, छिमेकी सहयोगी भए समाज नै सुन्दर हुन्छ, म रोजगारीका लागि विदेशमा बस्छु’, उनले भने, ‘मैले मेरो परिवार पाल्न, समस्या टार्न छिमेकीको धेरै सहयोग पाएको छु ।’
अर्का नागरिक उज्जले तिरुवा भने मर्दापर्दा छिमेकीको सहयोग लिने र सहयोग गर्ने गरिएको, अहिले पनि आफूहरूले सरसापट चलाइरहेको बताउँछन् । ‘पहिलेजस्तो आगोपानी सापटी भने चल्दैन, तर समस्या पर्दा खाद्यान्न, रकम सरसापट चल्छ’, उनले भने, ‘समाजमा समस्या परेकालाई सघाउने संस्कार हराउन दिन हुँदैन । सहयोग नरहे समाज पनि रहन्न ।’
टीकापुरकी कौशी परियारलाई पनि छिमेकीको महत्व विशेष लाग्छ, पहिलेका छिमेकी धेरै सहयोगी र अहिलेका छिमेकी स्वार्थी भएको महसुस परियारले पनि गरेकी छन् । ‘विगतमा सबैखाले समस्याको समाधान छिमेकमै खोजिन्थ्यो, आजभोलि छिमेकीबीच संवादसमेत घटेकाले संवाद बढाउन आवश्यक छ’, उनले भनिन्, ‘व्यक्तिव्यक्तिबीचको सम्बन्ध बढाउन एकापसमा आत्मीयता बढेमा सामाजिक समस्या समाधानमा पनि सहयोग पुग्छ ।’
मानिसको समाजसँगको सम्बन्ध पातलिँदै गएको छ । जसले भोलिको समाज असहयोगी हुनसक्छ त्यसतर्फ सबैले ध्यान दिनुपर्ने शिक्षक पूर्ण विकको भनाइ छ । ‘समाजमा समूह बनाउने, सामूहिक कार्यमा छलफल गर्ने, समुदायका समस्या र आवश्यकताबारे छलफल गर्ने, समाधानको खोजी गर्ने गर्नुपर्छ’, शिक्षक विक भन्छन्, ‘मिलेर टोल सफा गर्ने, विपन्नलाई राहत उठाएर दिने, समाजमा सांस्कृतिक कार्यक्रम गर्नेजस्ता कार्यले सामाजिक सम्बन्ध बढाउँछ ।’
प्रतिक्रिया 4