
१२ असोज, काठमाडौं । हरेक वर्षको दशैं पर्वको नवमीदेखि एकादशीसम्म ललितपुरको बुङमतीमा मनकामना माताको आगमन हुन्छ ।यस अवसरमा बुङमतीमा भक्तिपूर्ण र सांस्कृतिक उत्साह हुन्छ । जसलाई आजु-अजि (मनकामना जात्रा) भनिन्छ ।
यस समयमा गोरखास्थित मुख्य मनकामना मन्दिर बन्द हुन्छ । किनभने माता स्वयं बुङमतीमा आगमन हुने विश्वास छ ।त्यसैले यी तीन दिन मनकामना माताको दर्शन गर्ने भक्तजनहरू बुङमतीमै आउने गर्दछन् ।
यस पर्वको प्रारम्भ बुङमतीको मनकामना मन्दिरमा तान्त्रिक पूजाबाट गर्ने प्रचलन छ । पूजा सम्पन्न भएपछि मनकामना माताले रातो मच्छिन्द्रनाथको तीनपटक परिक्रमा गर्ने धार्मिक विश्वास छ । जसले उपत्यकाका संरक्षक देवतासँगको समन्वय र सांस्कृतिक सम्बन्धलाई झल्काउने बताइन्छ ।
त्यसपछि मातालाई ह्याङ्ग्रीव भैरव मन्दिरमा प्रतिष्ठित गरिन्छ। दिनभर दर्शन र पूजाआजा गरिन्छ भने राति गाउँभरि उत्साहपूर्ण यात्रा निकालिन्छ ।अन्तिम दिन एकादशीमा मातालाई पुनः आफ्नै मन्दिरमा फर्काइन्छ ।
किंवदन्ती अनुसार माता आफ्ना श्रीमान् राजा रामशाहसँग ज्यापु-ज्यापुनीको भेषमा मच्छिन्द्रनाथ जात्रा हेर्न बुङमती आएको विश्वास छ त्यहाँका तान्त्रिक साधकहरूले मातालाई चिने र यहीँ बस्न आग्रह गरे । तर, माताले गोरखास्थित मूल मन्दिर छोड्न नसक्ने भए पनि वर्षमा तीन दिन बुङमतीमा बस्ने वाचा गरेको हुनाले दशैंको तीन दिन नवमी, दशमी र एकादशीमा बुङमती रहने जनविश्वासका रहेको छ ।
यो पर्व केवल पूजाआजा मात्र होइन, गोरखा र बुङ्मतीबिचको सांस्कृतिक सम्बन्धको प्रतीकका रुपमा लिने गरिन्छ ।यसले साझा परम्परा र सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने काम गर्दछ ।
प्रतिक्रिया 4