+
+
Shares

जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्‍यो गृह र ऊर्जामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १७:३२

१२ असोज, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पछिल्लो समयमा जलविद्युत आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै  गृहमन्त्री र ऊर्जामन्त्री गुहारेको छ ।

आइतबार दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधिन र निर्माणमा जान लागेका आयोजनामा  सरकारको नीति र कानून विपरित १० प्रतिशत नि:शुल्क  सेयर माग्ने तथा ती आयोजनाहरूमा अवरोध गर्ने कार्यहरु बढेकोले सरकारसँग सुरक्षा माग गर्नुपरेको उल्लेख गरेका छन् ।

पत्रमा नेपालको आर्थिक समृद्धिका लागि प्रमुख र महत्त्वपूर्ण क्षेत्रको रुपमा रहेको ऊर्जा क्षेत्रको आवश्यकता र महत्वलाई हृदयगम गरी लगानीकर्ताहरूलाई ढुक्क भई लगानीको वातावरण निर्माण गर्न आग्रह गरिएको छ ।

पत्रमा विशेष गरी सिन्धुपाल्चोकमा निर्माण सम्पन्न ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनामा भोटेकोशी गाउँपालिका जेन्जी गु्रपको नाममा १० प्रतिशत नि:शुल्क सेयर लगायतका माग राखेर विगत १७ दिनदेखि विद्युत गृह बन्द छ भने यही कारण दैनिक करिब ९८ लाखसहित हालम्म १६ करोडभन्दा बढी गुमाउनु परेको उल्लेख छ ।

विद्युत् गृह बन्द गरेपछि पनि दैनिक रुपमा गर्नुपर्ने मर्मत सम्भार र अनुगमनको लागि समेत जान नदिएको घटनाप्रति इप्पानको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी सिन्धुपाल्चोककै जुगल गाउँपालिकाका स्थानीयबासीको नाममा १० जलविद्युत आयोजनासँग नि:शुल्क सेयर मागेर सम्बन्धित आयोजनाहरूमा पत्र पठाइएको तथा अन्य अन्य क्षेत्रहरुमा समेत विभिन्न माग राखेर आयोजनाहरूमा अवरुद्ध गर्ने क्रम बढेको छ भन्दै ती आयोजनाहरूमा शान्ति सुरक्षा कायम गर्न माग गरिएको छ ।

आयोजनामा हुने अवरोधले आयोजनाको लागत र समय बढ्नुका साथै निजी क्षेत्रको लगानीलाई पूर्ण रुपमा निरुत्साहित पनि बनाउने उल्लेख गरिएको छ ।

पत्रमा पछिल्लो वर्षहरूमा ऊर्जा आयोजनाहरूमाथि विभिन्न समूहबाट आक्रमण, तोडफोड, आगजानी लगायत कार्य बढ्दै गएको छ । यसको कारणले निजी क्षेत्रको लगानी असुरक्षित  बनेकोले दीर्घकालीन रुपमा स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई ऊर्जामा गरेको लगानी सुरक्षितको ग्यारेन्टी दिनका लागि छुट्टै रुपमा ऊर्जा सुरक्षा नीति निर्माण गर्न पनि माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?