+
+
Shares

चार घण्टादेखि गुण्डुमा एमाले सचिवालय बैठक

अध्यक्ष केपी शर्मा ओली हाल बसोबास गर्दै आएको भक्तपुरको गुण्डुमा एमाले सचिवालय बैठक दिउँसो सवा २ बजे सुरु भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १८:२०

१२ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक चार घण्टादेखि जारी छ । जेनजीको आन्दोलनपछि एमालेको सचिवालय बैठक पहिलो पटक बसेको हो ।

अध्यक्ष केपी शर्मा ओली हाल बसोबास गर्दै आएको भक्तपुरको गुण्डुमा एमाले सचिवालय बैठक दिउँसो सवा २ बजे सुरु भएको थियो ।

जेनजीले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए । त्यसपछि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए । प्रतिनिधिसभाबाट अर्को सरकार बन्न सक्ने अवस्था नरहेको भनेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर अगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकेका छन् । यो पृष्ठभूमिमा एमालेको सचिवालयउ बैठक बसेको हो ।

एमालेका कतिपय नेताहरूले ठूला दलका शीर्ष नेताहरूले मार्ग प्रशस्त गर्नुपर्ने बताउँदै आएका छन् ।

एमालेकी नेता बिन्दा पाण्डेले त जेनजीको आक्रोश समीक्षा गर्दै ठूला दलका शीर्ष नेताले बाटो प्रशस्त गर्नु पहिलो कदम हुने बताएकी छन् ।

जेनजी आन्दोलनले उठान गरेका विषय र उनीहरुको भावना बुझ्न हरेकले आफ्नो परिवार, आफन्त र छिमेकका त्यही समूहका युवाहरुको कुरा धैर्यतापूर्वक सुने मात्र पनि पुग्छ’ पाण्डेले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यस सन्दर्भमा राजनीतिक नेतृत्व सबैभन्दा बढी विवेकी बन्नु आजको आवश्यकता हो ।,’

यस अन्तर्गतको पहिलो कदम ठूला दलका शीर्ष नेताले बाटो प्रशस्त गर्नुपर्ने उनको धारणा छ । ‘उनीहरुको भावनाको सम्वोधनस् ठूला दलका शीर्ष नेताप्रति उनीहरुको आक्रोशको समीक्षा गरी बाटो प्रशस्त पहिलो कदम हुनेछ,’ पाण्डेले लेखेकी छन् ।

बाँकी नेतृत्वले पनि आफू, आफू संलग्न पद र संस्थाको गहन समीक्षा गरेर नीति, विधि, नेतृत्वको रुपान्तरणसहित आमनागरिक बिच सहज स्वीकार्य बन्ने काममा ढिलाइ गर्न नहुने उनको सुझाव छ ।

सुशासनका वाधकहरुको पहिचान गर्दै आवश्यक कारबाहीको निरन्तर प्रक्रिया नै आमरुपमा लिनुपर्ने बाटो भएको उनको बुझाइ छ । उनी लेख्छिन्, ‘यसका लागि पहिलो पुस्ताको बिदाइ, अनि जेन–वाई र जेडलाई अग्रस्थानमा राखेर जेन–एक्सको मेन्टरिङको भूमिका स्थापित गर्दै अगाडि बढ्ने विषय अबको कामको केन्द्रबिन्दु बन्नु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?