+
+
Shares

जाँचबुझ आयोगका अध्यक्ष कार्कीमाथि किन उठ्यो नैतिक प्रश्न?

जेनजी आन्दोलन चलिरहेकै बेला उनले सामाजिक सञ्जाल (फेसबुक र एक्स)मा लेखेका स्टाटसलाई लिएर उनको नेतृत्वमा हुने छानबिनको निष्पक्षतामा कतिपयले प्रश्न उठाएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते ७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनको घटनाबारे गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आन्दोलनकै क्रममा पक्षधरता देखाएको भन्दै उनको निष्पक्षतामा प्रश्न उठेका छन्।
  • कार्कीले फेसबुक र एक्समा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई \'राष्ट्रघाती अपराधी\' भन्दै थुनामा राखेर अनुसन्धान गर्नुपर्ने लेखेका थिए।
  • उनी नेतृत्वको आयोगले आन्दोलनको क्रममा भएको दमन, आगजनी र कैदी फरारजस्ता घटनाको छानबिन गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्नेछ।

१४ असोज, काठमाडौं। गत २३ र २४ भदौको जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्की विवादमा तानिएका छन्।

जेनजी आन्दोलन चलिरहेकै बेला उनले सामाजिक सञ्जाल (फेसबुक र एक्स)मा लेखेका स्टाटसलाई लिएर उनको नेतृत्वमा हुने छानबिन माथिको निष्पक्षतामा प्रश्न उठेपछि उनी विवादमा तानिएका हुन्।

विशेष अदालतका पूर्वअध्यक्ष समेत रहेका कार्कीले जेनजी युवा आन्दोलनको पक्ष लिँदै राजनीतिक दलका नेताहरूविरुद्ध लगातार लेखेका थिए।

उनका फेसबुक र एक्स (साविकको ट्वीटर) का स्टाटसका स्क्रिनसट अहिले सामाजिक सञ्जालहरूमा भाइरल भइरहेका छन्। कतिपय वरिष्ठ कानुन व्यवसायी तथा अन्य विभिन्न पेशामा आवद्ध नागरिकहरूले कार्कीले आन्दोलनकै क्रममा पक्षधरता देखाएकाले उनको नेतृत्वमा हुने छानबिनको निष्पक्षतामाथि आशंका व्यक्त गरेका छन्।

वरिष्ठ कानुन व्यवसायी तथा संविधानविद् डा. विपनी अधिकारीले स्वतन्त्रता र निष्पक्षता नै न्यायको पहिलो शर्त रहेको उल्लेख गरेका छन्। सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘कानून र न्यायका प्रक्रियाहरू सार्वजनिक खपतका लागि मात्र होइनन्। शासकीय अधिकारको सीमा हुन्छ; नागरिक अधिकार जुनसुकै अवस्थामा पनि सुनिश्चित हुनुपर्छ। जाँचबुझ आयोग ‘धरपकड आयोग’ मा परिणत होस् भन्नेको कमि नहोला। तर स्वतन्त्रता तथा निष्पक्षतानै न्यायको पहिलो शर्त हो।’

जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको हो। आयोगको सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी  छन्। उनीहरूलाई तीन महिनाभित्र कारबाहीको सिफारिस सहित प्रतिवेदन बुझाउन भनिएको छ।

५ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनको क्रममा राज्यपक्षबाट भएको दमन तथा आन्दोलनको क्रममा भएको आगजनी, प्रहरीका हतियार लुटपाट, हत्यालगायतका सबैखाले घटनाको छानबिनको जिम्मा आयोगलाई दिएको छ।

आन्दोलनमा भएको सरकारी दमन, सरकारी तथा निजी सम्पत्तिमा भएको तोडफोड र आगजनी लगायतका विषयमा सत्यतथ्य पत्ता लगाई त्यसमा संलग्नहरूको भूमिका किटान गरी दोषीमाथि कारबाहीको सिफारिस गर्ने जिम्मेवारी आयोगलाई छ । आयोगले कारागारभित्र भएको हुलदंगा र १० हजार भन्दा बढी कैदी फरार भएको विषय समेत छानबिन गर्नेछ ।

९ असोजदेखि काम सुरु गरेको आयोगले मानवीय र भौतिक क्षतिको विवरण संकलन गर्ने पहिलो निर्णय गरेको थियो । साथै असोज १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको पासपोर्ट रोक्का गर्ने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो ।

यो निर्णयलाई कतिपयले सरकारले प्रतिशोध साधेको भनेर आरोप लगाइरहेका बेला कार्कीका फेसबुक र एक्समा लेखेका स्क्रिनसटहरू भाइरल बनाउन थालिएको हो ।

के लेखेका थिए कार्कीले ?

सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सन्जाल फुकुवाको माग गर्दै युवाहरू भदौ २३ गते काठमाडौंमा स्वतस्फूर्त प्रदर्शनमा उत्रिएका थिए । युवाहरूको भिड माइतीघर मण्डलामा भेला भएर नयाँबानेश्वर चोकमा पुगेपछि प्रहरीबाट अन्धाधुन्द गोली चल्न सुरु गरेको थियो ।  नयाँबानेश्वरस्थित संसद भवन अगाडि मात्रै १९ जना प्रदर्शनकारी गोली लागेर मारिएका थिए ।

त्यसपछि काठमाडौं उपत्यकामा कर्फ्यु लगाइएको थियो । त्यसको भोलिपल्ट अर्थात् भदौ २४ गते कान्तिपुर दैनिकले ‘जेनजीको आवाज सुन, बालेनको नेतृत्वमा नयाँ नेपालको मार्गचित्रमा अघि बढ’ शीर्षकमा लेखेको विशेष सम्पादकीय कार्कीले आफ्नो वालमा सेयर गरेका थिए ।

कर्फ्यु उल्लंघ गर्दै भदौ २४ गते प्रदर्शनन थप चर्किंदै गएर सरकारी भवन र नेताहरूका घर कब्जा गर्दै आगजनी हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । साथै प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यसहित दलका शीर्ष नेताहरूलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको थियो ।

त्यतिबेला कार्कीले फेसबुकमा श्रृंखलाबद्ध स्टाटस लेखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टरबाट भागे भन्ने हल्ला चलेको भन्दै उनले विमानस्थल र सिमानाहरू बन्द गरेर कसैलाई पनि भाग्न दिन नहुने लेखेका थिए । साथै उनले ‘राष्ट्रघाती अपराधी’को संज्ञा दिँदै उनीहरूलाई नमार्ने तर थुनामा राखेर अनुसन्धान गर्नुपर्ने लेखेका थिए ।

भदौ २४ गते अपराह्न साढे चार बजेतिर उनले फेसबुकमा लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री केपी ओली शेरबहादुर देउवा पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य पूर्वमन्त्री, सांसद एवं पदाधिकारीहरू कसैलाई पनि विदेश जान र भाग्न दिनु हुँदैन । उनीहरूलाई थुनामा राखेर अनुसन्धान गरिनु पर्दछ । विमानस्थल बन्द गरिनु पर्दछ । निजी हेलिकप्टर चलाउन दिनु हुँदैन । भारतीय र  चिनियाँ सिमाना बन्द गरिनु पर्दछ । कसैलाई पनि भाग्न नदिई थुनामा राखिनु पर्दछ । यी राष्ट्रघाती अपराधीहरू कसैलाई पनि मार्नु पनि हुँदैन । भ्रष्टाचार अकुत सम्पत्ति तथा कानुन उल्लंघनमा कारबाही गरिनु पर्दछ ।’

त्यसपछि साँझ साढे ७ बजेतिर कार्कीले ‘जेनजी आन्दोलन सफल भयो’ लेखेका थिए ।

त्यसपछि पनि उनले ओलीका पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति कटाक्ष गरेका छन् । ‘मिलेर ५२ भाइको संवैधानिक नियुक्ति सदर गराउने ती श्रीमानहरू के भन्लान् अब जेनजीसँग ?’ त्यतिबेला सर्वोच्च अदालतमा पनि जेनजी प्रदर्शनकारीहरूले आगजनी गरेका थिए ।

जेनजी युवाहरूको प्रदर्शनबाट दुई दिनमै सरकार ढलेपछि र संसद विघटन भएपछि नेपाली सेनाको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन भएको थियो । सुशीला कार्कीले सुरुमा नियुक्त गरेका दुई मन्त्रीहरू कुलमान घिसिङ र ओम प्रकाश अर्यालको पनि कार्कीले प्रशंसा गर्दै स्टाटस लेखेका थिए ।

त्यसैले जेनजी युवा आन्दोलनको क्रममा भएको घटना छानबिन आयोगका अध्यक्ष कार्कीमाथि नैतिक प्रश्न उठाइएको हो । उनको नेतृत्वमा हुने जाँचबुझको निष्पक्ष नहुने हो कि भन्ने शंका कतिपयले गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?