
बार्सिलोना । भजन-कीर्तन,दुर्गा स्तोत्रको गुञ्जन र प्रसादको सुवासले स्पेनको बार्सिलोना सहरमा पनि आफ्नै गाउँघरको दशैंझैँ माहोल सिर्जना भएको छ। पहिलो पटक एनआरएनए स्पेनले भव्य रूपमा दुर्गा पूजाको आयोजना गरी यहाँ दशैंको रौनक फैलाएको हो।
एनआरएनए स्पेनको पहलमा नेपालमै बनेको झण्डै ७० किलो तौलको दुर्गा माताको प्रतिमालाई स्थापना गरी लगातार नौ दिनसम्म पूजा-आराधना भइरहेको छ।बिहान ८ बजेदेखि सुरु हुने पूजा साँझ ५ बजेसम्म चल्छ।
पाँच जना पण्डितहरूको टोलीले चण्डीपाठ, दुर्गा स्तोत्र र वैदिक कर्मकाण्डको स्वरहरू गुञ्जाउँदै बार्सिलोना सहरमा नेपाली दशैंको जीवित माहोल सिर्जना गरेका छन्।
मुख्य पण्डित टिकाराम कडेलले नेपाली समुदायले पहिलो पटक सामूहिक रूपमा दुर्गा पूजा आयोजना गर्नु ऐतिहासिक उपलब्धि भएको बताए । उनले भने, ‘आफ्नै समुदायमा यति ठूलो धार्मिक कार्य गर्न पाउनु गर्वको कुरा हो। यस पटक फूलपाती पनि विधिपूर्वक शुभ साइतमै भित्र्याइयो ।’
त्यस्तै, देवघाटको हरिहर सन्यास आश्रमबाट शास्त्री पास गरेका पण्डित नेत्रप्रसाद गौतम निरन्तर पूजा-आराधनामा व्यस्त छन्। उनले सुनाए, ‘धर्म संस्कृतिलाई विदेशमा आएर छोड्नु हुँदैन भन्ने सोचले सहभागी भएको हुँ।’
बार्सिलोना २० वर्षदेखि बस्दै आएकी ज्योति गुरुङले बताईन्, ‘सुरुमा केही कमी देखिए पनि पछिल्ला दिनमा ठूलो भीड लाग्न थालेको छ। भक्तजनका लागि प्रसाद स्वरूप खानाको व्यवस्था पनि गरिएको छ। दशैंकै वातावरण झल्किएको छ।’
बार्सिलोना १९ वर्षदेखि बस्दै आएकी जमुना सापकोटाले नेपाली समुदायका लागि दुर्गा पूजा व्यवस्थापनको जिम्मेवारी सम्हालेकी छन्।उनले भनिन्, ‘नेपालबाट मूर्ति ल्याएर लगातार पूजा गर्न पाउनु ठूलो अवसर हो। दैनिक सयौँ भक्तजनको उपस्थितिले कार्यक्रम अझ अर्थपूर्ण बनेको छ।’
एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार यो पूजा केवल धार्मिक अनुष्ठान मात्र होइन, नयाँ पुस्तासम्म संस्कार पुर्याउने पुल पनि हो। उनले भने, ‘यो पूजाले स्पेनमै जन्मेका र हुर्किएका बालबालिकालाई हाम्रो संस्कारमा जोडेको छ। संस्कार-संस्कृति नबढे भविष्यमा उनीहरूले आफ्नै जरा बिर्सने खतरा हुन्छ। अब हामी सबै मिलेर सामूहिक मन्दिर र संस्कार बस्ने स्थल निर्माणमा जुट्नुपर्छ भन्ने सन्देश पनि यसले दिएको छ।’
पूजास्थलमा पुगेका भक्तजनले दशैंको वातावरण प्रस्टसँग अनुभव गरेका छन्। महिलाहरू रातो पहिरनमा, पुरुषहरू दौरा-सुरुवालमा र बालबालिका परम्परागत लुगा–कपडामा सजिएर पूजामा सहभागी छन्।भजन, आरती र वैदिक मन्त्रसँगै प्रसादको सुवासले यहाँको माहोललाई घर-गाउँको दशैंमेला जस्तो बनाएको छ।
आयोजकका अनुसार दुर्गा माताको प्रतिमा टिकाको दिनसम्म स्थापना रहनेछ। यस अवधिभर बिहान-साँझ पूजा, चण्डीपाठ र सामूहिक भजन-कीर्तन निरन्तर हुनेछ । नेपालबाट टाढा भए पनि दशैंको अनुभव गर्न पाउनु, सहभागीहरूको भनाइमा, घरगाउँकै दशैं फर्किएको क्षण सरह बनेको छ।
प्रतिक्रिया 4