
काठमाडौं । वर्षा अझै बढ्ने र नदीहरुमा बाढीको सतह बढ्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । यसको असरले बाढी, पहिरो, डुबानको खतरा हुनसक्ने सम्भावना छ । त्यसैले असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणसहित सरोकारवाला सबैलाई अनुरोध गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव अहिले मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको छ । तर यो बिस्तार हुँदै पूर्वतर्फ सर्ने क्रममा छ । त्यसैले पश्चिमको तुलनामा पूर्वी नेपालमा यसको असर बढी देखिने छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले भने, ‘मध्यमबाट भारी वर्षातर्फ उन्मुख छ । यो क्रम भोलिसम्म जारी रहन्छ । अहिले विस्तारै यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा छ ।’
उनका अनुसार अहिले तत्कालको अवस्थामा पूर्वी राप्ती, नारायणी, बागमती, कमला नदी र कोशी जलाधार क्षेत्रमा बाढी आउने सम्भावना छ ।
अहिलेसम्म यी नदीको बाढीले सतर्कताको तह पार गरिसकेको छैन । तर आज दिउँसोदेखि कमला, बागमती र नारायणी नदी तथा यी नदीका शाखा नदीहरुमा सतर्कता तह पार हुने सम्भावना छ । बाढी अझै बढेर आजै रातिदेखि खतराको तहसमेत पार हुन सक्ने सम्भावना रहेको पराजुलीले बताए ।
जिल्लागत रुपमा भन्नुपर्दा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, गोरखा, धादिङसम्म यो प्रणाली फैलिएको छ । ‘यो विस्तारै पूर्वतर्फ बिस्तार हुने क्रममा छ । पश्चितर्फ खास असर पर्ने देखिँदैन,’ उनले भने । पश्चिममा नवलपरासीसम्म असर देखिन सक्ने अनुमान छ ।
प्रतिक्रिया 4