
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली मूलका सीपी खेतानले स्वीडेनको एशिलियन एबी कम्पनीमा २ करोड १० लाख स्वीडिस क्रोनर लगानी गरेका छन्।
- खेतानको लगानी कम्पनी लोटस वान इन्भेष्टमेन्ट प्रा.लि.ले एशिलियनमा मुख्य सेयरहोल्डर र बोर्ड सदस्य पाएको छ।
- एशिलियनले छालाको उपचारमा प्रयोग हुने होलो माइक्रोनिडल प्रविधिमा आधारित उत्पादन विकास गर्छ।
स्टकहोम । नेपाली मूलका गैरआवासीय नेपाली सीपी खेतानले स्वीडेनको एक औषधि निर्माण कम्पनीमा झण्डै ३१ करोड रुपैयाँ लगानी गरेका छन् ।
सिंगापुरलाई आधार बनाएर विश्व बजारमा लगानी विस्तार गरिरहेका खेतानले स्वीडेनको एसिलियन एबी नामक कम्पनीमा २ करोड १० लाख स्वीडिस क्रोनर (२२ लाख अमेरिकी डलर) लगानी गरेको सो कम्पनीले बताएको छ ।
खेतानको सिंगापुरमा रहेको लगानी कम्पनी– लोटस वान इन्भेष्टमेन्ट प्रा.लि.मार्फत् उक्त लगानी भएको हो । लगानीपश्चात लोटस वान कम्पनीको मुख्य सेयरहोल्डर बनेको छ भने एक बोर्ड सदस्य पनि प्राप्त गरेको छ । खेतानलाई प्रतिनिधित्व गर्दै अस्मिता द्विवेदी सञ्चालक नियुक्त भएकी छन् ।
एशिलियन छालाको उपचारमा प्रयोग हुने नवीन प्रविधिको अनुसन्धान गरिरहेको कम्पनी हो । यो कम्पनी डर्मल इन्डष्ट्रियल फ्लुड स्याम्पलिङको क्षेत्रमा अग्रणी मानिन्छ ।
लोटस वानका कार्यकारी अध्यक्ष निर्मल सिंहले स्वास्थ्य सेवालाई सबैका लागि सुलभ बनाउने काम गरिरहेका नवप्रवर्तन कम्पनीहरुलाई सहयोग गर्न लोटस प्रतिबद्ध रहेको बताएका छन् ।
एशिलियनका प्रमुख कार्यकारी अधिकृत साइमन ग्राण्टले दुवै पक्षको सोच मिलेको र लोटस वानको लगानीमार्फत् पहिरनयोग्य रोग पहिचान प्रविधि विकासका लागि थप सहयोग पुग्ने बताए ।
यो कम्पनीले के गर्छ ?
एशिलियनले आफ्नो नवीन र पेटेन्ट गरिएको होलो माइक्रोनिडल प्रविधिमा आधारित उत्पादनहरूको डिजाइन, विकास र निर्माण गर्दछ ।
यो प्रविधि डर्मल इन्टर्स्टिसियल फ्लुइड (डीआईएसएफ)को छिटो र भरपर्दो तरिकाले नमूना संकलन गर्न प्रयोग गरिन्छ । डीआईएसएफ भनेको छालाका कोषहरू बीचमा रहेको तरल पदार्थ हो ।
यो प्रविधि मेटाबोलिक स्वास्थ्य अनुगमन, तनाव मूल्यांकन र प्रजनन हर्मोन ट्रयाकिङ जस्ता क्षेत्रहरूमा अर्को पुस्ताको निदानका लागि प्रयोग हुन्छ ।
नेपाली मूलका खेतानले केही महिना अगाडिमात्र काल्सबर्ग साउथ एसियामा रहेको आफ्नो सेयर काल्सबर्ग ग्रुपलाई करिब एक खर्ब रुपैयाँमा बिक्री गरेका थिए ।
त्यसयता उनले सिंगापुरलाई आधार बनाएर लगानी विस्तार गरिरहेका छन् ।
हालैमात्र उनले सिंगापुरमै एक सम्पदा होटल र स्वीटजरल्याण्डमा फुटबल क्लब खरिद गरेका थिए ।
प्रतिक्रिया 4