News Summary
Generated by OK AI. Editorially reviewed.- गैरआवासीय नेपाली चन्द्रप्रकाश खेतानले स्वीटजरल्याण्डको फुटबल क्लब साफहाउजेनको स्वामित्व खरिद गरेका छन्।
- खेतानको कम्पनीले क्लबमा कम्तीमा १० मिलियन स्वीस फ्र्यांक लगानी गरी क्लबलाई ऋणमुक्त बनाएको छ।
- खेतानले साफहाउजेनमा इनडोर खेलकुद केन्द्र निर्माणका लागि १० लाख स्वीस फ्र्यांक दान दिएका छन्।
१७ असोज, काठमाडौं । गैरआवासीय नेपाली चन्द्रप्रकाश (सीपी) खेतानले स्वीटजरल्याण्डको फुटबल क्लब साफहाउजेनको स्वामित्व खरिद गरेका छन् ।
स्वीस मिडियाहरूका अनुसार खेतानले सिंगापुरमा रहेको लोटस वान इन्भेष्टमेन्ट मार्फत् लगानी गरेका छन् । तर, उनले क्लबमा कति रकम लगानी गरेका हुन् भन्ने उल्लेख गरिएको छैन ।
वित्तीय दबाबमा रहेको क्लबले खेतानको कम्पनीलाई नयाँ सेयर जारी गरेर प्राप्त गरेको रकमले ऋण तिरेको बताइएको छ । सो क्लबमा अब उनी मुख्य लगानीकर्ता भएका छन् ।
क्लबका अध्यक्षले हालै एक अर्न्तवार्तामा नयाँ लगानीकर्ताले डबल डिजिट मिलियन (कम्तीमा १० मिलियन स्वीस फ्र्यांक) लगानी गरेसँगै क्लब ऋणमुक्त भएको बताएका छन् । यसको मतलब खेतानको कम्पनीले कम्तीमा १० मिलियन स्वीस फ्र्यांक (झण्डै एक अर्ब ७८ करोड) लगानी गरेको बुझिन्छ ।
क्लबका अध्यक्ष मार्टिन फ्रिकले पाँच वर्षभित्र क्लबलाई स्वीस सुपर लिगमा पुर्याउने लक्ष्यसहित काम भइरहेको बताएका छन् ।
स्वीस मिडियाहरूले यो क्लबको वार्षिक बजेट ४ दशमलव ५ मिलियन स्वीस फ्र्यांक (झण्डै ८० करोड नेपाली रुपैयाँ) रहेको बताएका छन् ।
लामो समयदेखि सिंगापुरलाई आधार बनाएर व्यवसाय विस्तार गरिरहेका खेतान नेपालको खेतान परिवारका सदस्य हुन् । उनका बुबा मोहनगोपाल खेतानले नेपालमा गोर्खा ब्रुअरी, कोकाकोला, तयारी चाउचाउ, बैंक तथा वित्तिय संस्था लगायतको स्थापना गरेका थिए ।
अंशबन्डापछि उनका दाजु राजेन्द्र खेतानले नेपालमा वित्तिय क्षेत्रकेन्द्रित लगानी गरिरहेका छन् भने सीपीले सिंगापुर बसेर भारत, सिंगापुर, स्वीटरल्याण्ड लगायतका देशमा व्यवसाय विस्तार गरेका थिए ।
गत वर्षमात्र उनले नेपाल र भारतको काल्सबर्ग ग्रुपसँगको साझेदारी सेयर करिब १ खर्ब रुपैयाँमा बिक्री गरेका थिए ।
कार्ल्सबर्गलाई सेयर बिक्री गरेपछि उनले सिंगापुरलाई आधार बनाएरै अन्तर्राष्ट्रिय व्यापार विस्तार गरिरहेका छन् । उनले केही अगाडि मात्र सिंगापुरमा एउटा हेरिटेज होटल खरिद गरेका थिए ।
खेलकुद केन्द्र निर्माणका लागि झण्डै १७ करोड दान
खेतानले नयाँ खरिद गरेको क्लबमार्फत् स्थानीय फाउण्डेनलाई इनडोर खेल पूर्वाधार निर्माणका लागि स्वाइजरबिल्ड फाउण्डेसनलाई १० लाख स्वीस फ्र्यांक दान दिएका छन् । साफहाउजेन क्षेत्रमा इनडोर खेलकुद केन्द्र निर्माण गर्न यो रकम खर्च हुने छ ।
क्लबका अध्यक्ष मार्टिन फ्रिक र खेतानले सिंगापुरमा स्थापना गरेका लोटस लाइफ फाउण्डेसनका अध्यक्ष निर्मल सिंहले फाउण्डेसनलाई सो चेक हस्ताक्षरण गरेका हुन् ।
खेतानले सिंगापुरमा स्थापना गरेको लोटस वान इन्भेष्टमेन्टको नाफाको ५० प्रतिशत हरेक वर्ष लोटसलाइफ फाउण्डेनमार्फत् दान दिने नीति लिएका छन् ।
प्रतिक्रिया 4